१२ कात्तिक, काठमाडौं । चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ ।
यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ ।
झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका शेयरधनीले अब प्रतिशेयर १.७२३४ प्राप्त गर्ने छन् । एएमडीको शेयर हिस्सा ७४ प्रतिशत रहनेछ भने झिलिंक्सको करिब २६ प्रतिशत हुनेछ ।
एएमडीले उत्पादन गरेका प्रोसेसर टेक्नोलोजीहरु सिपियू, जिपियू, एफपीजिए लगायत सफ्टवेयर सन्चालनमा उच्च गुणस्तर कायम हुनुका साथै बजारमा प्रभाव पार्नेछ ।
झिलिंक्सका प्रमुख कार्यकारी भिक्टर पेङले एएमडीसँगको सहकार्यले बजार विस्तारका साथै डेटा सेन्टर सन्चालनमा थप प्रगति हुने विश्वास व्यक्त गरे ।
एएमडीका प्रमुख कार्यकारी डा. लिसा सूले संयुक्त कम्पनीको प्रमुख कार्यकारीका रुपमा जिम्मेवारी सम्हाल्ने बताइएको छ । पेङ एएमडीको अध्यक्ष रहने र झिलिंक्स तर्फको व्यवसाय तथा रणनीतिक वृद्धिका बारेमा नेतृत्व लिने समाचारमा जनाइएको छ ।
यो सम्झौता अर्को वर्षको अन्त्यसम्ममा पूर्ण कार्यान्वयन भइसक्ने छ । यो सम्झौतालाई दुवै कम्पनीका शेयरधनीहरुले अनुमोदन गर्नु पर्नेछ ।
source https://www.onlinekhabar.com/2020/10/905874
0 Comments