१५ कात्तिक, धरान । भानुचोकमा आदिकवि भानुभक्त आचार्य शालिक बनेर टोलाइरहेका छन् । यहीँ, भानुचोक छेवैमा छ – मधुशाला (चियालय) ।
मधुशाला चियालय ! यसका सञ्चालकको नामै मधु हो । मधुकर शाक्य, वर्ष ५६ । उनलाई ग्राहकले ‘मधु प्याला’ उपनामले चिन्छन् ।
चियापसलमा मधुकरले ग्राहकका लागि पुस्तक,पत्रपत्रिका राखेका छन् । पुस्तक राखिएको हुनाले यो ‘पुस्तकालय’ पनि हो । चियाघर र पुस्तक आलय मिलेर ‘चियालय’ बन्न पुगेको मधुकर बताउँछन् ।
अनि मधुशाला चाहिँ ?
मधु भन्छन्, ‘चियालयमा पसेपछि हातमा रहेको गिलासलाई मदिरा, मह वा जल सम्झेर पिउने, अनि घर्रामा रहेका पुस्तक, पत्रपत्रिका, म्यागेजिन मस्तसँग, मादकतासँग पढ्ने । अनि भएन त मधुशाला ?’
‘मधुले यहाँ चियालय खोलेको आठ वर्ष हुन लाग्यो । उनले १० कक्षासम्म औपचारिक अध्ययन गरेका छन् । सोह्र–सत्र वर्षको छँदा उनी कविता, गजल लेख्थे । धरानमा आयोजना हुने कविता गोष्ठीमा आफ्ना रचना सुनाउँथे । अरूलाई कविता र गजल सुनाउन पाउँदा मख्खै पर्थे ।
पुस्तक पढ्ने आदत थियो उनमा । आफ्ना साथीहरूलाई पुस्तक पढ्न आग्रह गर्थे र आफूसित भएका पुस्तक सित्तैमा दिन्थे । साथीले पढिसकेपछि फिर्ता माग्थे । पढेको पुस्तकबारे छलफल गर्थे ।
किशोरावस्थामा धरानमा आयोजना हुने विविध साहित्यिक कार्यक्रमहरूमा गइरहने मधु आजकाल भने आफ्नो चियालयको व्यस्तताले गर्दा कतै पनि जान पाउँदैनन् ।
मधुकर बिहानै साढे ४ बजे उठ्छन् । भेटिएजति सबैजसो पत्रपत्रिका र म्यागेजिनहरू किनेर बिहान ५ बजेतिर चियालय अगाडिको खाटमा मिलाएर राखिदिन्छन् । ग्राहक आउने क्रम बिस्तारै बढ्छ । ग्राहकसँगै चिया सुरुप्प पार्दै मधु पनि पत्रपत्रिका पढ्न र गफ गर्न थाल्छन् ।
जो ग्राहक चियालयमा पस्छन्, उनीहरू नपढी फर्किंदैनन् । मधुकर भन्छन्, ‘अरूले पढेको देख्दा मलाई ऊर्जा प्राप्त भएको महसुस हुन्छ ।’
बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म जुनसुकै बेलामा पनि कोही न कोही चियालयमा पुस्तक, म्यागेजिन अथवा पत्रपत्रिका पढिरहेका भेटिन्छन् ।
पहिले किताब बेचे, अहिले किन्छन्
केही वर्षअघि मधुकरले आफ्ना पुस्तकहरू चियालय अगाडि आधा मूल्यमै बेच्न राखेका थिए । कयौं दुर्लभ पुस्तकहरू मानिसहरूले किनेर लगे ।
एक दिन उनले सोचे, ‘म आफ्ना भगवानसरि पुस्तकहरू बेचेर अलिकति पैसा कमाएर के गरिरहेको छु ? किन म यो पापी काम गरिरहेको छु ? किन म आफूलाई पुस्तकविहीन बनाइरहेको छु ?’
यस्तो आकस्मिक सोचले उनको सोच बदलिदियो ।
त्यसपश्चात् बाँकी भएका पुस्तक उनले जोगाएर चिया पसलकैर्याकमा राखे । अनि निरन्तर पुस्तकहरू किन्न थाले । सुरुसुरुमा चिया पसल खोल्दा फगत एक–दुई पत्रपत्रिका राख्ने उनी आज भने ‘चियालय’मा भेटिएजति सबैजसो पत्रपत्रिका, म्यागेजिन र पुस्तकहरू किनेर राख्छन् । आफ्ना लागि र अरुका लागि पनि ।
चियालयका भित्तामा जताततै लेखक, साहित्यकारका लेख रचना टाँसिएका छन् । कविता र गजलहरू फ्रेममा सजाएर सबैले देख्ने ठाउँमा झुन्ड्याइएका छन् । मधुले आफूलाई मनपरेका लेखहरू फ्रेम बनाएर सुरक्षितसाथ राखेका छन् ।
उनलाई मनपर्ने वर्तमान लेखकहरू निभा शाह, आहुति, सिके लाल, युग पाठक, कुमार नगरकोटी, नरेन्द्र जङ्ग पिटर, सम्झना वाग्ले भट्टराई र अन्य धेरै मानिसका लेखका ‘कटिङ’हरू उनले चियालयका भित्तामा प्रेमसाथ टाँसिदिएका छन् ।
आफ्नो निजी कर्मसँगै पुस्तक, पत्रपत्रिका आदिसँगै रमाइरहने कर्मशील पुस्तकप्रेमी र अध्ययनशील मधु प्यालालाई नारायण वाग्ले, अमर न्यौपाने, आहुति र अन्य धेरैका पुस्तक मनपर्छ । उनलाई मनु मन्जिल, भूपी शेरचन, विनोदविक्रम केसीका कविताहरू पनि मनप्रिय लाग्छ ।
उनलाई लाग्छ, वीपीको ‘हिटलर र यहुदी’ साथसाथै विश्व बुक्स प्रकाशनका पुस्तकहरू सबैले जीवनमा एकपटक पढ्नुपर्छ ।
उनका प्रिय पुस्तकहरू भने कुमार नगरकोटीको ‘मोक्षान्त : काठमान्डु फिभर’, अमर न्यौपानेको ‘सेतो धरती’, राकेश नाथको ‘क्या ईश्वर है ?’, ओशोको ‘शिक्षा में क्रान्ति’, पारिजातको ‘शिरीषको फूल’, भूपी शेरचनको ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ आदि हुन् ।
मधुको दर्शनशास्त्र !
मधु पुस्तक पढ्दा हातमा रातो मसी भएको कलम भएन भने पढ्नै सक्दैनन् । मनपरेका वाक्य, अनुच्छेद र नबुझेका शब्दहरूमा ‘अन्डरलाइन’ गर्छन् । उनी भन्छन्, ‘पाठकहरूले पुस्तक पढ्दा मूर्ति भएर पुस्तक नपढून् । हातमा सिसाकलम अथवा कलम बोकेर आफूलाई मनपर्ने र नबुझिएका वाक्यहरूमा अनि गाह्रो लागेका शब्दहरूमा अन्डरलाइन गर्दै, कोर्दै, लेख्दै पुस्तक पढून् ।’
जिविकोपार्जनका लागि चियापसल चलाइरहेका कर्मयोगी मधुकरलाई दर्शनतिर विशेष रुचि छ । उनी आफूलाई ‘स्वघोषित नास्तिक’ भन्छन् ।
आफ्नोे चियालयको एक ठाउँमा हिन्दु, मुस्लिम, बौद्घ, इसाईका तस्बीर एकै ठाउँमा झुन्ड्याएका उनी भन्छन्, ‘यो हिन्दु, मुस्लिम, बौद्घ, इसाई आदि भनेको मानवीय भाइरसहरूको नाम हो । मानवको निम्ति धर्मभन्दा प्रिय मानवता रहन्छ । आजसम्म जति पनि ठूलाठूला युद्घ भएका छन्, ती सबै धर्मकै नाममा भएका छन् । धर्मले कि पाखण्डी जन्माउँछ, कि त आतङ्ककारी जन्माउँछ । पुस्तक पठनले नै मलाई मानव बन्न सिकायो ।’
उनको थप दर्शन छ– ‘समयको कुशल सदुपयोग र विशाल ज्ञान आर्जनको निम्ति पुस्तक पढ्नुपर्छ । विद्यालय, कलेज र विश्वविद्यालयका शिक्षाले मानिसलाई फगत जागिरे बनाउँछ । पुस्तकहरूले मानिसहरूलाई विचारक, चिन्तक र तर्कशील बनाउँछ । उत्सुक बनाउँछ । बहस गर्ने बनाउँछ । बाहिरी पुस्तक पढेर मात्र देश र समाजको अवस्था भित्रसम्मै थाहा पाइन्छ । हाम्रो समाज र समुदायमा विद्यमान विभिन्न कुसंस्कार, कुचलन आदिलाई जरासमेत उखेलेर सदाको निम्ति मिल्काउन र मानवीय सचेतना जगाउन पनि पुस्तक पढ्नु अनिवार्य र अपरिहार्य छ ।’
मधु ‘पुस्तक पठन’ भन्दा पनि ‘व्यवस्थित पुस्तक पठन’ मन पराउँछन् । उनी भन्छन्, ‘औषधिको पनि साइडइफेक्ट भएझैं अव्यस्थित पठनको पनि प्रतिकूल असर हुने गर्छ । कर्महीनतायुक्त किताब पढेर सपनीलोकमा मात्र रमाउने, राति नसुती नसुती पढिरहने आदिजस्ता अव्यस्थित पुस्तक पठन नगरेर हामीले आफ्नो काम, स्वास्थ्य आदिलाई पनि सन्तुलनमा राखेर व्यवस्थित पुस्तक पठन गर्नुपर्छ ।’
मधुको आरोप छ, आजका युवाहरूमा नयाँ र गहन प्रश्नहरू छैनन् । स्कुल र कलेजले उनीहरूलाई रेडिमेड प्रश्न सिकाइदिएका छन् । युवाहरूमा गहनता छैन । उनीहरू हावामा उडेर हावालाई नै ब्रह्माण्ड भनिरहेका छन् । युवाहरू सोच र कर्मले निकै बूढा भइसकेका छन्, जसमा कुनै सोच्ने शक्ति विद्यमान छैन ।
मधु कहन्छन्, ‘सरकारलाई प्रश्न मनपर्दैन । तर, आजका विशेषतः युवाहरूले सरकारलाई प्रश्नैप्रश्नका फलामे जालमा पार्न सक्नुपर्छ । जब युवाहरू प्रश्न गर्न थाल्छन्, तबमात्र उनीहरू वास्तविक युवा बन्छन् ।’
(धरानबाट विकेश कविनको सहयोगमा)
source https://www.onlinekhabar.com/2020/10/906448
0 Comments