Looking For Anything Specific?

Header Ads

प्रसूति गराउने क्रममा महिलाको मृत्यु, अस्पतालको लापर्बाही भन्दै आफन्तले शव बुझ्न मानेनन्

१४ कात्तिक, बुटवल । सुत्केरी व्यथा लागेर अस्पतालमा भर्ना भएकी एक महिलाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा मृत्यु भएको छ । अस्पतालको लापर्बाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।

गुल्मीको मदाने गाउँपालिका ३ भुजुङ्गेकी ३० वर्षीया गीता पुरीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा बुधबार साँझ मृत्यु भएको हो । दशैंअघि दुई पटक सोही अस्पतालमा जाँच गराएकी ती महिला बुधबार बिहान ११ बजे प्रसूतिका लागि अस्पताल भर्ना भएकी थिइन् । उनलाई डा. अनुपा थापाले जाँच गरेकी थिइन् ।

अस्पतालको लापर्बाही र उपचार प्रकृया गलत भएको आफन्तको आरोप छ । मृतकका आफन्तले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारवाहीको माग गर्दै शव नबुझ्ने अडानसहित अस्पताल गेट अगाडि जम्मा भएर विरोध जनाएका छन् । ‘मृत्यु हुनुभन्दा ५ मिनेट अघिसम्म फोनमा कुरा हुँदा मलाई राम्रो छ, बच्चाको धड्कन कम छ रे भनेकी थिइन्,’ मृतकका आफन्त कमलराज गिरीले भने, ‘५ मिनेटपछि त मृत्यु भयो भन्ने थाहा पायौं, यसले गर्दा हामीलाई शंका छ, छानबिन हुनुपर्छ ।’

डाक्टरले कात्तिक ८ गते सुत्केरी हुने मिति तोकेपनि मिति सार्दै १३ गते बोलाइएको गिरीले बताए । भर्ना भएपछि २ बजे डाक्टरले बच्चा ‘नर्मल’ छ भनेका, पछि फेरि चेक गर्नुप¥यो भनेका र अन्तिममा बच्चाको धड्कन कम देखियो भनेर शल्यक्रिया गर्नुपर्छ भनेका  गिरीले बताए ।

अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले बिहान ११ बजे सुत्केरी व्यथा लगाउने औषधि दिएपछि साँझ साढे ५ बजे बच्चा निस्कने ५ वटा ‘घर’ खुलिसकेको र अब नर्मल डेलिभरी हुने देखेर केहीबेर छाडिएको बताए । केही समयमा महिलालाई श्वास प्रश्वासमा समस्या भएको थाहा पाएपछि अपरेसन गर्ने निर्णयमा पुगेर शल्यक्रिया कक्षमा लैजाने क्रममा मृत्यु हुन पुगेको प्रवक्ता गौतमले बताए ।

बच्चा खेल्ने ठाउँमा रहेको पानीको फोका फुट्दा पनि यसरी आकस्मिकरुपमा आमाको मृत्यु हुने गरेको उनले बताए । ‘यही कारणले मृत्यु भयो भनेर भन्न सकिन्न, तर अस्पताल र डाक्टरले जानी–जानी लापर्बाही गर्ने कुरा हुँदैन,’ प्रवक्ता गौतमले भने ।



source https://www.onlinekhabar.com/2020/10/906252

Post a Comment

0 Comments