Looking For Anything Specific?

Header Ads

हुम्लीको दसैं महँगो

११ कात्तिक, हुम्ला । सात गाउँपालिका र ४४ वडा रहेको हुम्लामा यो वर्षको दसैं महँगो बनेको छ । कोरोना कहरले चीनसँगको हिल्सा नाका नखुलेपछि चिनियाँ च्याङ्ग्रा नआउँदा हुम्लीले खसी किन्नु पर्दा दसैं महँगो भएको हो ।

विगतका वर्षहरुमा प्रत्येक वर्षको दसैंमा चीनबाट चिनियाँ च्याङ्ग्रा आउने भएका कारण सस्तोमा दशैँ मनाउने गर्थे भने यो वर्षको दशैँ हुम्लीको महँगो बनेको सिमकोट–७ का स्थानीय अमृते विकले बताए ।

हुम्लाको हिल्सा, लिमी, चुवाखोला, टाके, नेक्पा लगायतका नाकाबाट चिनियाँ च्याङ्ग्रा आउँदा विगतका वर्षका दसैं हुम्लीहरुले सस्तो मूल्यमा खसी किनेर बलि दिने गरेका थिए भने यस पटक च्याङ्ग्रा नआएपछि महँगो मूल्यमा स्थानीय खसी किनेर बलि दिएको विकले बताए ।

चीनबाट आएका च्याङग्राको मूल्य हुम्लामा रु १५ हजारसम्म पर्ने गरेको भए पनि स्थानीय खसी खरिद गर्दा रु २७ हजारसम्म पर्न गएको हुनाले यो यस पटकको दसैं महँगो भएको अर्का स्थानीय कालु बोहराले बताए ।

खसी व्यापारी राजेन्द्र बोहराले चीनले सीमा नाका बन्द गरेपछि च्याङ्ग्रा नआउँदा खसीको तौलअनुसार रु १५ देखि २७ हजारसम्ममा विक्री गरिएको बताए । स्थानीय खसीको मूल्य बढी नै पर्ने गरेको भए पनि यस पटक अन्य विकल्प नहुँदा मूल्य बढेको व्यापारी बोहराले बताए । व्यापारीहरुले चिनियाँ च्याङ्ग्रा नआउँदा दसैंका लागि भनेर बझाङ, बाजुराबाट समेत खसी ल्याएको उनले बताए ।

दसैं आउन एक हप्ताअगाडि नै हुम्लामा चिनियाँ च्याङ्ग्रा सदरमुकाम सिमकोटसहित गाउँघरमा भरिभराउ हुने गर्दथे । कोरोनाका कारण नेपाल र चीनको सिमाना हिल्सा नाका यस पटक बन्द हुँदा चिनियाँ च्याङ्ग्रा नभित्रिएका हुन् ।



source https://www.onlinekhabar.com/2020/10/905735

Post a Comment

0 Comments