Looking For Anything Specific?

Header Ads

आँखा झिमिक्क हुँदा परिवारै बगे, जागै बस्ने भागे

९ असोज, पोखरा । गीरबहादुर दुहुन बाहन गर्न ब्यस्त हुँदै थिए । श्यामकला क्षेत्री खनाल कुँडो–पानी गर्दै थिइन् । घडीले बिहानको साढे ५ बजाइसकेको थियो । श्यामकला दाउरा लिन कटेरोतिर जाँदै थिइन् । माथिबाट गड्याङ र गुडुङ गर्दै केही खसेजस्तो सुनिन् ।

दाउरा त्यहीँ फालेर चिच्याउँदै घर पुगिन् । छोरीहरुलाई बोलाइन् र नाती च्यापेर भागिन् । गिरबहादुर र छोरीहरु पनि उनकै पछि लागेर आँगनमा निस्कँदा पहिरो गोठसम्मै आइपुग्यो । उनीहरु चिच्याउँदै बारीतिर भागे र बचे ।

उनीहरुसँगै त्योभन्दा माथिल्लो घरका मान्छे पनि उसै गरी बारीतिर भागे । तर, सबैभन्दा माथिल्लो सानी परियारको घरतिरबाट न कुनै आवाज आयो न कोही बारीतिर आए । केहीबेर पछि अरु मान्छेहरु पनि आइपुगे ।

उनीहरुले पछि बल्ल थाहा पाए, आफ्नो गोठसम्म आइपुगेको पहिरोले त सानी परियारको घरै पुरेको रहेछ । ‘पहिरोजस्तो लाग्नेबित्तिकै सबलाई चिच्याउँदै बारीतिर भागें । हामी त्यो ठाउँमा जम्मा ३ घर छौं । २ घरमा मान्छे बाहिर निस्के,’ श्यामकलाले भनिन्, ‘माथ्लो घरका मान्छे त बाहिर निस्कनसमेत भ्याएनछन् ।’

बर्खा सुरु भएपछि अरुकै घरमा बसेर फर्किएका थिए स्थानीय

स्याङ्जा वालिङ नगरपालिका वडा नम्बर १५ तमादीमा बिहीबार बिहानै आएको पहिरोले सानी परिवारको घरका ९ जनाको ज्यान लियो भने १ जना घाइते छिन् । ३ घरमात्र रहेको यहाँका वासिन्दा बर्खायाममा पहिरोको डरले २/३ महिना अरुकै घर बसेर फर्किएका थिए ।

‘घरमाथि सडक खनेदेखि साना–साना पहिरो खसिरहन्छन् । यो वर्ष अझै धेरै पहिरो खस्न थालेपछि ३ वटै घरका हामी अरुकै घर गएर बर्खा कटाएर फर्किएका थियौं,’ श्यामकलाले भनिन्, ‘तर, एकाबिहानै कसैको परिवारै सखाप पारिदियो, कसैलाई गाउँमै बस्न नसक्ने गरी तर्साइदियो ।’

यो पनि पढ्नुहोस सडकले निम्त्याएको विपद्, सरकारी बेवास्ताको शिकार

मंगलबारदेखि नै पानी पर्न लागिसकेको थियो । त्यहाँका तिनै घर पहिरोको डरले सुत्न सकेका थिएनन् । तर, बिहान उज्यालो भइसकेका कारण माथिल्लो घरका मान्छे निन्द्राले झकाउन थालेछन् ।

‘कतिबेला पहिरो खस्छ कि भन्ने डर थियो । रातभर कोही पनि सुतेको होइन । सबै जना जागै थिए । सबैले घरमा कुराकानी गरेर बसिरहेका थिए,’ छिमेकी श्यामकलाले भनिन्, ‘हामी कामधन्दामा निस्क्यौं । उनीहरु अब त उजेलो भयो केरे भनेर बिहान निदाएछन् । निस्कनसमेत भ्याएनन् ।’

श्यामकलाका अनुसार उनीहरुलाई ३/४ वर्ष भयो, पहिरोको डरले लखेट्न थालेको । जब घरैमाथिबाट सडक खनियो, तब पहिरोको जोखिम पनि बढेको गीरबहादुर खनालको परिवार बताउँछन् ।

जनप्रतिनिधिले बुझेनन् स्थानीयको समस्‍या

बढी वर्षा हुने असार, साउन लगायत महिना आफन्तकोमा बसेर फर्किएको परिवारमध्ये सानीको परिवारका १ जनाबाहेक सबैलाई पहिरोले यो साल पनि कट्न दिएन । ७ महिने शिशुसहित ९ जनाको पहिरोले ज्यान लियो । एक जनाको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

‘पुर्ख्यौलीदेखि नै यहाँ बस्दै आएका थियौं । केही वर्षदेखि पहिरोको डर भएदेखि वडाका जनप्रतिनिधिदेखि मन्त्रीसम्मलाई भनेका थियौं,’ श्यामकलाले भनिन्, ‘तर, हाम्रो कुरा कसैले नसुनिदिँदा आज यो हाल देख्नुपर्यो ।’

सानीकी बुहारी भर्खरै सुत्केरी बसेर घर फर्केकी थिइन् । बुहारी उमाकलालाई छोड्न माया (दिदी) आएकी थिइन् । पाहुनासहित घरमा रातभर जागा बसेका सबैजना बिहान उठ्दा पहिरोमा परेका थिए । तीन घरमा २१ जना थिए । अब २ घरमा जनामात्र बाँकी छन् ।

‘पहिरो आम्च भन्ने थाहा थियो । त्यसैले कहिले गामतिर, कहिले घरतिर बसिराका थिएम्,’ रेनुका क्षेत्रीले भनिन्, ‘अब कहाँ जाने, कहाँ बस्ने ।’

वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले तमादीका ३० घर पहिरोको जोखिममा रहेको बताए । ‘त्यसका लागि कहाँबाट कसरी व्यवस्थापन वा जोखिम कम गर्न सकिन्छ छलफल गर्छौं,’ खाँडले भने ।



source https://www.onlinekhabar.com/2020/09/898922

Post a Comment

0 Comments