हामी रक्तचाप, मधुमेह, कोलेस्टोरको मात्रा कति छ भनी बेलाबखत जाँच गर्छौं, जो स्वस्थ्य जीवनको लागि अपरिहार्य छ । यद्यपि ट्राइग्लिसराइडबारे भने हामी खासै चासो राख्दैनौं । चिकित्सकहरु भन्छन्, रगतमा भएको ट्राइग्लिसराइको मात्रा पनि जाँच गरिरहनुपर्छ ।
यदि रगतमा ट्राइग्लिसराइडको मात्रा उच्च भएमा मुटु रोगको जोखिम बढ्छ । त्यसो त शारीरिक रुपमा सक्रिय हुँदा, तौल नियन्त्रण गर्दा र प्रशोधित कार्बोहाइड्रेट्सको कम सेवन गर्दा ट्राइग्लिसराइड बढ्ने जोखिम हुँदैन ।
के हो ट्राइग्लिसराइड ?
ट्राइग्लिसराइड एक प्रकारको फ्याट हो, जुन रगतमा पाइन्छ ।
जब हामी खान्छौं, शरीरले हामीले खाएको क्यालोरीलाई ट्राइग्लिसराइडको रुपमा परिवर्तन गरे संग्रहित गर्छ । आवश्यक परेको बेला हर्मोनले ट्राइग्लिसराइडलाई शक्तिको रुपमा प्रयोग गर्छ । तर जब शरीरमा ट्राइग्लिसराइडको मात्रा उच्च हुन्छ, त्यसलाई हाइपर ट्राइग्लिसरेडेमिया भनिन्छ । हाइपर ट्राइग्लिसरेडेमिया भएमा मुटु रोगको जोखिम बढ्ने गर्छ ।
रगतमा ट्राइग्लिसिराइडको स्तर उच्च भएमा जीवनशैलीमा सामान्य परिवर्तन गरेर पनि यसको स्तरलाई नियन्त्रित गर्न सकिन्छ ।
उच्च ट्राइग्लिसराइडले रक्त धमनीलाई कडा वा बाक्लो बनाएर मुटु रोग, हृदयाघात तथा पक्षघातको जोखिम बढाउने गर्छ । ट्राइग्लिसराइडको स्तर दुई सय भन्दा बढी पाँच सयसम्म भएमा यसले पेटमा जलन गराउन सक्छ ।
मोटोपनाको समस्या बढाउने गर्छ
रगतमा ट्राइग्लिसराइड बढ्नु भनेको अन्य अवस्थाहरुको संकेत पनि हो, जसले मुटु रोग, स्ट्रोक, मोटोपनाको जोखिम बढाउने गर्छ । यसकै कारण कम्मरमा बोसो जम्ने, कोलेस्ट्रोलको मात्रा उच्च हुने, उच्च रक्तचापको समस्या निम्तिने गर्छ ।
फ्याटमा केन्द्रित हुने
ओमेगा–३ लगायतका भोजनको सेवनले उच्च ट्राइग्लिसराईडको स्तरलाई कम गर्न मद्दत गर्छ ।
परिवारमा कसैलाई उच्च ट्राईग्लिसराइडको समस्या छ भने चिकित्सकहरुले ओमेगा–३ युक्त फ्याटी एसिडको सेवन उच्च मात्रामा गर्न सल्लाह दिन सक्छन् । तर यसको लागि चिकित्सकको प्रत्यक्ष निगरानी जरुरी छ ।
कार्बोहाइड्रेटमा जोड
कुनै पनि स्रोतबाट प्राप्त भएको अतिरिक्त क्यालोरीलाई ट्राइग्लिसराइडको रुपमा संग्रहित गर्न सकिन्छ भने चिनी तथा मदिराको सेवनबाट प्राप्त हुने अतिरिक्त क्यालोरीले पनि रगतमा ट्राइग्लिसराइडको स्तर बढाउन मद्दत गर्छ ।
त्यसैले, कार्बोहाइड्रेटयुक्त खाद्यपदार्थको छनौट गर्दा सम्पूर्ण अन्न, फलफूल, सागसब्जी तथा कम बोसोयुक्त दूग्धजन्य पदार्थमा केन्द्रित हुनुपर्छ । प्रशोधित खाद्यान्न तथा गुलियो खानेकुरा, बेक गरिएको खानेकुरा, गुलियो पेय पदार्थ लगायतमा प्रयोग हुने अतिरिक्त चिनी खानबाट बच्नु पर्छ । मदिराको सेवन नियन्त्रित मात्रामा गर्नुपर्छ ।
चिकित्सकसँग परार्मश
ट्राइग्लिसिराइडका स्तर १५० भन्दा माथि भएमा पोषणविद् वा चिकित्सकसित परार्मश गरेर जीवनशैली बदल्नतिर लाग्नु पर्छ । त्यस्तै, आवश्यक सप्लीमेन्टको सेवनबाट पनि यसको स्तरलाई नियन्त्रण गर्न सकिन्छ ।
source https://www.onlinekhabar.com/2020/09/899532
0 Comments