जुनकिरीले धिपधिप् बत्ती बाल्यो त म के गरूँ
भ्यागुताले ट्वार्-ट्वार् गर्न थाल्यो त म के गरुँ ।
मर्छ त्यो घैया नरोप न ए भैया भन्दा भन्दै हरे
ईन्द्रले नै दर्र दर्र पानी फाल्यो त म के गरूँ ।
कहिले दोमन कहिले गोमन हुँदा हुँदै यो मन
चोरले सिकुवामा पाइला चाल्यो त म के गरूँ ।
किल्ला किल्ला मन-सेना तैनाथ नभा’को त हैन
घमण्डको त्यो जंगे पिलर ढाल्यो त म के गरूँ ।
गुरु रै’छ समय यो सबथोक बिकाउँछ-सिकाउँछ
मान्छे बन्छु भन्दै उसले दाल्यो त म के गरूँ ।
आवरणभित्र मान्छे नाङ्गै हुन्छ छ्याङ्गै हुन्छ
सेखी झार्न फिराद कतै हाल्यो त म के गरूँ ।
सोध उसलाई तत्व बोध बेला छँदै हुन्छ कहाँ
दुध पिलाई दुश्मन मनमा पाल्यो त म के गरूँ ।
source https://www.onlinekhabar.com/2020/09/899262
0 Comments