तपाईंले सुन्नु भएकै होला, गर्भवतीले संगीत सुन्नु राम्रो हो । त्यसो त गीत संगीत सुन्न कसलाई पो मन पर्दैन ? आफ्नो मुड अनुसार संगीत सुन्नाले मनमा शान्ति आउने, तनाव कम हुने तथा स्फुर्ती बढ्ने अनुभव धेरैको होला ।
ध्वनीको प्रभाव एकाग्रता, निन्द्रा, मानसिक विकास तथा भाषिक क्षमतामा विकास गराउनेमा हुन्छ । ताइवानको कलेज अफ नर्सिङ, कौसियुङ मडिकल युनिर्भसिटीले २३६ गर्भवती महिलाहरुमा गरिएको अध्ययन अनुसार गर्भवस्थामा दुई हप्ता मात्र पनि संगीत सुन्नाले गर्भवती महिलाहरुलाई तनाव मुक्त बनाउन मद्दत ग¥यो ।
ति महिलाहरुले क्लासिकल संगीत तथा प्रकृतिका ध्वनीहरु सुन्ने गरेका थिए । उक्त अध्ययन अनुसार मानसिक रुपमा तनाव महशुस गरी रहेका गर्भवती महिलाहरुले अनिवार्य रुपमा दुई हप्ता मधुर संगीत, प्रकृतिका स्वरहरु वा मनपर्ने गीतसंगीत सुन्न सल्लाह दिइएको छ । तर संगीत कति घण्टा सम्म सुन्ने भनिएको छैन ।
त्यस्तै स्पेनमा गरिएको ४०९ जना गर्भवतीहरुमा गरिएको एक अर्को अध्ययनले संगीतले गर्भवती महिलाहरुको तनाव (एन्जाईटी) कम गर्ने अनि बच्चाको तौल र छातीको चौडाई (चेष्ट सर्कम्फ्रेन्स) बढि हुने गरेको देखाएको छ ।
गर्भावस्थामा संगीत : एक संस्कार
गर्भावस्थामा संगीत सुन्ने नयाँ भने होइन । थाहा भएर वा नभएर पनि गर्भावस्थामा भजन तथा विभिन्न किसिमका मेलोडिहरु सुन्ने प्रचलन हाम्रो समाजमा पहिले देखि नै रहेको छ ।
विकसित मुलुकहरुमा सन १९९० तिर देखी नै गर्भको बच्चाका लागी गर्भवतीहरुले ‘ओम्व म्युजिक’ अर्थात गर्भ संगीत सुन्ने गरेको पाईएको छ । समान्यतयाः गर्भको बच्चा ५ महिना भईसकेपछि, उनको सुन्ने शक्तिको विकास भई सकेको हुन्छ । त्यसैले गर्भको भ्रुणले पनि २० हप्ताको अवधी पछि संगीत सुन्न सक्ने अनुमान विज्ञहरुको रहेको छ ।
यस अवस्थामा गर्भवती महिलाले गर्भ संगीत सुन्नाले गर्भको बच्चा जन्मीसके पछि उसको आत्मवल बढ्ने साथै मानसिक विकासमा मद्दत पु¥याउने हुन्छ । यसले आमा र बच्चाबीचको सम्बन्ध प्रगाढ बनाउछ । यस्ता बच्चाहरु बढी संवेदनशील हुने तथा उनको स्नायु प्रनाणीको राम्रो विकास हुने विज्ञहरुको धारणा रहेको छ ।
गर्भावस्थामा संगीत : एक उपचार
प्रसिद्ध मनोवैज्ञानिक डा.एलान डि.रेटमेनका अनुसार संगीतलाई गर्भको विभिन्न अवस्थाहरु संगै प्रसवको अवस्थामा पनि सुन्नु प्रभावकारी हुन सक्छ । संगितले गर्भवती महिलाहरुको तनावहरु मुक्त गर्नुको साथै उनिहरुमा रिस, राग, द्वेष हटाउन मद्दत गर्छ ।
यसले प्रसवको पिडालाई पनि घटाउने हुन्छ । डा.रेटमेनका अनुसार न्यून ध्वनीमा क्लासिकल तथा प्रकृतीका ध्वनीहरु वा मनपर्ने संगीत शान्त भएर एकाग्रका साथ करिव आधा घण्टा सुन्नु उपयुक्त हुन्छ ।
संगीतले आमा र गर्भको बच्चा दुबैमा थप उर्जा पैदा गर्छ । तर अध्याधिक ठुलो आवजमा संगीत सुन्नाले नराम्रो असर पनि गर्न सक्छ । त्यसैले सानो वा ठिक्क आवाजमा हल्का, क्लासिकल वा मेलोडि तथा प्रकृतीका ध्वनीहरु निश्चित समयका लागी एकाग्र भएर सुन्नु नै उपयोगी अनि उपयुक्त सावित हुन सक्छ ।
source https://www.onlinekhabar.com/2020/06/870526
0 Comments