वर्तमान मानव समाज मोजमस्ती एवम् ऐशआरमको भोको छ । हरक्षण मोजमस्तीमै भुल्न एवं रमाउने यत्न गरिरहेका देखिन्छन् । यस क्रममा मीठोमसिनो खानेकुरा, आरमपूर्ण दिनचर्या अपनाएको देखिन्छ ।
तर मीठोमसिनाको चक्करमा अखाद्य कुरा पनि खाएको देखिन्छ वा आफ्नो खानपानमा ध्यान नदिंदा स्वास्थ्यसंग सम्बन्धित समस्या आएको देखिन्छ । जबकी हाम्रो धेरैजसो रोगको कारण नै खराब खानपान बनिरहेको अवस्था छ । अर्कोतिर शारीरिक सक्रियता र व्यायामको अभावमा पनि रोगी बन्दै गएको देखिन्छ । आजको मान्छेहरुले शारीरिक समस्या आयो भने पनि छिटो समस्या समाधान गर्न विभिन्न औषधि प्रयोग गर्दछन्, जसले हाम्रो स्वास्थ्यमा प्रतिकूल प्रभाव परिरहेका हुन्छन् । हामीले आफू स्वास्थ रहनु पर्ने कुरामा ध्यान दिनु अनिवार्य देखिन्छ । यसका लागि विभिन्न योगासन तथा प्राणायामहरु गरेर प्रायः धेरै जस्तो रोगहरु नियन्त्रण गर्न सक्दछौ । यहाँ केही रोग र त्यसका लागि गर्नु पर्ने योगादी क्रियाको चर्चा गर्न खोजिएको छ ।
कब्जियत
कब्जियत अहिले धेरै मानिसमा व्याप्त रहेको पेटको स्वास्थ्य समस्या हो । वर्तमान समयमा हामीले खाने धेरै जसो खाद्य पदार्थहरु तेलजन्य कुराहरु र मैदाबाट बनेको हुन्छन जुन कुरा कब्जियत निम्त्याउने मुख्य कुरा हो । हरियो सागपात , प्रशस्त मात्रामा फलफुल खानाले र प्रशस्त मात्रामा पानी पिउनाले यो रोगबाट बच्न सकिन्छ । विहान उठ्दा तामाको भाडामा राखिएको पानी पिउनु पनि स्वास्थ्यका लागि राम्रो मानिन्छ ्र आसन, प्राणायाम तथा षटकर्म जस्ता योगादि कार्यले कब्जियत नियन्त्रणमा सहयोग पुरयाउने गर्दछन ।
कब्जियत नियन्त्रणमा सहयोग पुरयाउने योगादिक्रियाहरु :
आसनहरु : सूर्यनमस्कार , पवन मुक्तासन , सुप्त बज्रासन , अर्ध मत्स्येन्द्रासन, मकरासन, मत्स्यासन , उष्ट्रासन , योगमुद्रा
प्राणायाम : नाडी शोधन
षटकर्म : लघुशंख प्रक्षलन, नौली , अग्निसार

पाइल्स
कब्जियत बढ्दै गएपछि दिशा गर्न गार्हो भएपछि गुदद्वारमा देखापर्ने समस्या पाइल्स हो। यसबाट बच्नका लागि पिरो , मसलादार एवम् चिल्लो खानेकुरा खानु रोक्नु पर्दछ। यसका साथसाथै योगासन , प्राणायाम, षटकर्म जस्ता योगादि कार्य गर्नु राम्रो मानिन्छ ।
पाइल्स नियन्त्रणमा सहयोग पुरयाउने योगादि क्रियाहरु :
आसन: पश्चिमोत्तानासन , योगमुद्रा , गोरक्षासन , मकरासन , हलासन, सर्वाङ्गासन

मोटोपना
शरीरको तौल चाहिने भन्दा बढी हुनु नै मोटोपना हो, जसले गर्दा शरीरमा अनावश्यक रुपमा बोसो बढ्छ र शरीर भारी तथा रोगको थुप्रो बन्दछ ्र मोटोपनाबाट बच्नका लागि कम खान खाने, व्यायाम गर्नु पर्दछ । यसका साथै आसन, प्राणायाम तथा अन्य योगादि कार्यहरु गर्नु पर्दछ ।
मोटोपना नियन्त्रणमा सहयोग पुरयाउने आसनहरु :
सूर्यनमस्कार , गतिशील पादहस्तासन , बज्रासन , पवनमुक्तासन , बिपरितकरणी आसन , मत्स्यासन , मयूरसन , मकरसन आदि :

मधुमेह
रगतमा ग्लुकोजको मात्रा सन्तुलित नभएर देखापर्ने रोग मधुमेह हो। यो रोगबाट बच्नका लागि खानपिनमा चोकरयुक्त खाना खाने , कार्बोहाइड्रेटयुक्त खाना नखाने र तरकारी खानु पर्दछ। त्यसका साथै विभिन्न योगादि कार्यहरु गर्नु पर्दछ।
मधुमेह नियन्त्रणमा सहयोग पुरयाउने योगादि क्रियाहरु :
आसन सूर्यनमस्कार, ताडासन , शशकासन आदि ।
प्राणायाम : भ्रामरी , भास्त्रिका , नाडी शोधन ।

उच्च रक्तचाप
कुनै कारणले रक्तनली साँघुरो वा कडा भएमा रक्तनलीमा प्रचुर दवाव पर्दछ जुन उच्च रक्तचाप हो । यस्ता स्वास्थ्य समस्या भएका व्यक्तिहरुले खानामा नुनको मात्रा कम गर्ने र बढी भन्दा बढी रसहार तथा फलाहारमा जोड दिने गर्नु पर्दछ। त्यस्तै विभिन्न योगादि क्रियाहरु गर्नुपर्दछ। उच्च रक्तचाप नियन्त्रणमा सहयोग पुरयाउने योगादि क्रियाहरु ।
आसन पवन मुक्तासन , ब्रजासन ,सिद्धासन
प्राणायाम कपालभाती , नाडी शोधन

निम्न रक्तचाप
शरीरमा रगतको अवस्था सामान्य भन्दा कमी हुनु निम्न रक्तचाप हो । जसले मानिसलाई धेरै हानी पुर्याइरहेको हुन्छ। रक्त चापलाई सामान्य अवस्थामा राख्न पानी प्रशस्त मात्रामा पिउने, फलफूल, जुस तथा हल्का सुपाच्य भोजन आवश्यकताअनुसार खाने र विभिन्न योगादिक्रियाहरु गर्नु पर्दछ।
निम्न रक्तचाप नियन्त्रणमा सहयोग पुरयाउने योगादि क्रियाहरु ।
आसन सूर्य नमस्कार, कर्णपीडासन , गतिशील आसनहरु
प्राणायाम कपालभाती, भास्त्रिका ,सूर्यभेदी

दम
दम श्वास प्रश्वाससंग सम्बन्धित एउटा रोग हो । धुँवा, धुलो लगायतको वातावरणीय प्रदुषणबाट जोगिनु पर्दछ र चिसोबाट जोगिनु पर्दछ। यसबाट बच्नका लागि तरकारी तथा चोकर खानेकुरा खानुका साथै योगादि क्रिया गर्नु पर्दछ।
दम नियन्त्रणमा सहयोग पुरयाउने योगादि क्रियाहरु ।
आसन सूर्यनमस्कार , सुप्त बज्रासन, सर्वाङ्गासन , मार्जारी आसन, उष्ट्रासन, मत्स्यासन, पादहस्तासन , शवाशन आदि
प्राणायाम भस्त्रिका, कपालभाती आदि

अनिद्रा
रातमा निन्द्रा नलाग्नु अनिद्रा हो । यसले मानिसमा मानसिक तनाव हुनुका साथै विभिन्न रोगहरु लाग्न सक्छ। फलफुल, तरकारी खाने , तनाव नलिने र विभिन्न योगादि क्रिया गर्नु पर्दछ ।
अनिद्रा हटाउनमा सहयोग पुरयाउने योगादि आसनहरु ।
आसन सूर्य नमस्कार , ताडासन, सुप्त बज्रासन, उष्ट्रासन, धनुरासन, मकरासन , हलासन आदि
मानव जीवन पाउन त्यति सजिलो छैन । मानव जीवन हाम्रै कारणले गर्दा खतरा परेको छ। हाम्रा विभिन्न खानपानले गर्दा हाम्रो अस्तित्व नै संकटमा पर्ने देखिदै छ । हामीले आफ्नो अस्तित्व संकट रोक्नका लागि भएपनि हामीले खानपान व्यस्थापन गर्नु जरुरी छ । स्वास्थ्यमा कुनै समस्या आयो भने सिघ्र लाभका निम्ति हामी औषधीको खोजीमा लाग्छौ । ती औषधीहरुले हाम्रो स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ । यसबाट स्वास्थ्यमा आउने समस्या नियन्त्रण गर्नु अनिवार्य देखिन्छ। अहिले धेरै जस्तो मानिसहरु योग तथा प्राकृतिक चिकित्सातर्फ लागेका छन् । योगादि क्रियाका माध्यमबाट धेरै दीर्घरोग एवम् जटील खालका रोगहरु पनि ठिक भएको देखिन्छ । अबका दिनमा हामीले अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा तथा विभिन्न रोगहरुको निर्मूल पर्न पनि योगादि कार्य गर्नु अनिवार्य देखिन्छ । हामीले हाम्रो जीवनमा योगादि क्रियाहरु गर्न सकियो वा योगादि क्रियामा हाम्रो जीवनलाई समाधिस्त गर्न सक्यौ भने हामी स्वस्थ र निरोगी हुन्छौ ।
source https://www.onlinekhabar.com/2020/06/876488
0 Comments