१७ असार, काठमाडौं । अहिले विभिन्न देशमा अप्ठ्यारो अवस्थामा रहेका नेपालीहरुको उद्धारको काम धमाधम भइरहेको छ । कम्तिमा दैनिक आधा दर्जन उडानबाट १ हजारदेखि १५ सय नेपाली घर फर्किरहेका छन् ।
सम्बन्धित मुलुकले टिकट काटेर पठाउने उडान बाहेक स्वदेशी दुई कम्पनी नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सका जहाजबाट नेपालीको उद्धार भइरहेको छ । यसरी भइरहेको उद्धारमा नियमित गन्तब्यभन्दा बाहेकका नयाँ–नयाँ गन्तब्यमा जहाज लैजानुपर्ने हुन्छ ।
नेपाल एयरलाइन्सका क्पाप्टेन सुरज भण्डारीले यसअघि एकपटक पनि नउडेको शहरमा ए ३२० लिएर उद्दारका लागि गए । नयाँ शहर र विमानस्थलमा जाँदा चुनौति र रोमाञ्च दुवै हुने उनी बताउँछन् ।
माल्दिम्भमा नेपाल एयरलाइन्सको नियमित उडान छैन । तर, यसबीचमा नेपाल एयरलाइन्सले माल्दिम्भबाट नेपालीलाई घर ल्याएको छ । सो उडानका एक सदस्य क्याप्टेन भण्डारीले उद्धार उडानको आफ्नो अनुभव हामीसँग बाँडे ।
कोरोनासँग डर लाग्दैन
पर्याप्त ज्ञान र पर्याप्त सुरक्षा प्रवन्धका कारण अहिले कोरोना भाइरससँग त्यति धेरै डर नलाग्ने पाइलट भण्डारी बताउँछन् । सरकारी कम्पनीका रुपमा नेपाल एयरलाइन्सले अग्रपंक्तिमा रहेर नेपालीहरुको उद्धार थालेपछि पाइलटहरुलाई समेत कम्पनीले सुरक्षा प्रवन्ध बढाएको छ ।
सिधै घरमा जानु पर्दैन । आवश्यक सुरक्षाका साधन उपलब्ध गराइएको छ । ककपिटमा बस्दा यात्रुसँग प्रत्यक्ष सम्पर्कमा जानुपर्दैन । त्यसकारण पनि उद्धार उडानका क्रममा डर नलाग्ने उनको अनुभव छ ।
नेपाली यात्रु नै इमान्दार
एउटा जहाज आकासमा उडेपछि विमानस्थलमा नझरेसम्म त्यसको सम्पूर्ण व्यवस्थापनको जिम्मा पाइलटसँग हुन्छ । अहिले जहाजमा यात्रु राखेर घरसम्म ल्याउनु जोखिमपूर्ण त छँदैछ, त्यसमाथि यात्रुका कतिपय गतिविधि पाइलटका लागि पनि टाउको दुखाइ बनिरहेको हुन्छ ।
तर, उद्धार उडानका बेला नेपाली यात्रुमा देखिएको धैर्य र इमानदारीले भने क्याप्टेन भण्डारीको समेत मन जितेको छ ।
‘लामो समय दुख सहेर बस्नुभयो, घर फर्कने क्रममा पनि कम्पनी, नागरिक उड्डयन प्राधिकरणले अपनाएको सुरक्षा विधि इमानदारीसाथ पालना गर्नुभएको छ,’ उनले भने । यसले सुरक्षित उद्दारमा यात्रुको भूमिका महत्वपूर्ण हुने सावित गरेको उनले बताए ।
अन्य मुलुकमा मार्किङ भेटिएन
नेपालको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन विमानस्थलमा सामाजिक दूरी कायम गर्न मार्किङ गरिएको छ । उक्त मार्किङअनुसार मात्र यात्रुलाई व्यवस्थापन गरिन्छ । आफु पुगेका अधिकांश विमानस्थलमा यसरी सामाजिक दूरी कायम गर्न मार्किङ नभेटेको उनले बताए ।
नेपालमा जहाजबाट झरिसकेपछि पार्किङ वेबाट अराइभल एरियासम्म लैजाने बसमा एक पटकमा ३० जना मात्र राखेर यात्रा गराइन्छ । सुरक्षा प्रवन्धको हिसावले काठमाडौं विमानस्थलमा कमी महसुस नभएको उनले बताए ।
घरमा समस्या छैन
डाक्टर, नर्स र सुरक्षाकर्मीजस्तै यति बेला पाइलट र एयर होस्टेससमेत फ्रन्टलाइनमा रहेर काम गर्ने समूहमा परेका छन् । उनीहरुले कोरोना फैलिएका मुलुकमा पुगेर यात्रुको उद्धार गर्नु परेको छ ।
तर, उद्धार उडानमा खटिएकोप्रति आफ्नो परिवारमा कुनै गुनासो नरहेको उनको भनाइ छ । ‘हामी गन्तव्यबाट फर्केपछि सिधै घर जाँदैनौं, कम्पनीले व्यवस्था गरेको होटेल क्वारेन्टिनमा जान्छौं,’ उनी भन्छन् । त्यहाँबाट घर जानै परे कोरोना परीक्षणमा नेगेटिभ नतिजा आएमात्र जाने व्यवस्थाका कारण आत्मविश्वास समेत बढेको उनको भनाइ छ ।
के पीपीइ लगाउँछन् पाइलट ?
उद्धार उडानमा ककपिटमा बस्दा पाइलटले पीपीई लगाउँदैनन् । यात्रुसँग सम्पर्कमा रहने क्रु मेम्बरका लागि मात्र यो आवश्यक छ । हरेक उडानपछि जहाज पूर्णरुपमा सफाई गरिन्छ ।
जहाज निर्माता एयरबसले दिएको सुझावका आधारमा ककपिटदेखि सबै सीटहरु किटाणुरहित बनाइन्छ । त्यसकारण पाइलट अहिले बिना पीपीई नै जहाज उडान सक्छन् । एयर होस्टेसहरुले भने यात्रुलाई खाना, पानीलगायत सेवा दिने क्रममा पीपीई लगाउँछन् ।
source https://www.onlinekhabar.com/2020/07/877922
0 Comments