आमाको सर्वाेच्चताको विषयमा धेरै चर्चाहरु हुन्छन् । शास्त्रलाई उद्धृत गर्दै आमाको विषयमा धेरै चर्चाहरु चल्ने गर्छन् । दर्शन, विज्ञान, धर्मदेखि पूर्ण रुपमा भौतिकवादमा विश्वास गर्ने व्यक्तिहरुसम्मले स्वीकारेको कुरा हो आमाको सर्वाेच्चता ।
भौतिकवादको पूरा विरोध गर्ने वेदान्तले समेत प्रकृतिको रुपमा आमाको महत्वलाई प्रस्तुत गरेको छ । सांख्य दर्शनले त झनै प्रकृति नै सृष्टिको मुख्य कारकको रुपमा व्याख्या गर्ने गर्छ । कुनैपनि घर आमाको अभावमा घर बन्न सक्दैन ।
यो एउटा उजाड मरुभूमि जस्तो बन्छ भन्ने यथार्थ सर्वशास्त्रको निचोडको रुपमा देख्न सकिन्छ । यद्यपि चाणक्य दर्शनले भने यो विषयमा स्पष्ट नै आमा बिनाको घरलाई जंगलको संज्ञा नै दिएको छ । आमाको महत्वको बारेमा चाणक्य नीति भन्छ :
माता यस्य गृहे नास्ति भार्या चाप्रियवादिनी ।
अरण्यं तेन गन्तव्यं यथारण्यं तथा गृहम् ।।५।।
अर्थात्, जसको घरमा आमा हुनुहुन्न, त्यसैगरी जसकी श्रीमतीको बोली रुखो र छुच्चो स्वभाव हुन्छ । त्यो घर नभएर जंगल समान हुन्छ । त्यस्तो मानिसले घर छाडेर जंगल जाँदा नै उपयुक्त हुन्छ ।
आमा केवल भौतिक शरीर मात्रै नभएर यो एउटा स्नेहवाची शब्द पनि हो । जहाँ आमाको स्नेह हुन्छ वा आमाको शुभ दृष्टि परेको हुन्छ । त्यो घर आफैंमा सुवर्णले सुसज्जित घर जस्तै उज्यालो हुन्छ भन्ने धेरै शास्त्रहरुमा उल्लेख पाइन्छ ।
पूर्वीय साहित्यहरु वेद, पुराण, दर्शन, संस्मरण, महाकाव्य, उपनिषद आदि सबै आमाको विशाल महिमाले भरिएका छन्। असंख्य ऋषि, सन्यासी, पण्डित, महात्मा, विद्वान, दार्शनिक, साहित्यकार र कलाकारहरूले पनि आमाप्रतिको भावनालाई चुलीमा पुर्याउन हर प्रयास गरेको देखिन्छ ।
यी सबैको बाबजुद पनि, कुनै पनि शब्द आमा शब्दको समग्र परिभाषा र यसको असीम महिमालाई शब्दमा व्यक्त गर्ने गरिएको छैन । हामी नेपाललाई आमा भन्छौं, गाईलाई आमा भन्छौं । जोसँग हामी आश्रित छौं या जो बिना हामी बाँच्न सक्दैनौं त्यो समूहवाची शब्द नै आमा हो । जसरी आस्तिक दर्शनले संसारको सबै चराचर जगतमा ब्रह्म रहेको उल्लेख गर्छ ।
त्यस्तै, हरेक स्नेह, प्रेम र सफलतामा आमाको तिरोहित (घेरिएको) भएर रहेको मान्ने गरिन्छ । समग्रमा आमा केवल आमा मात्रै नभएर सिंगो समूहवाची शब्द हो । त्यसैको एउटा मूर्त एवं सजीव चित्रण हुन् जन्म दिने आमा । यो शास्त्रको मत हो ।
वेदहरुमा आमालाई अम्बा, अम्बिका, दुर्गा, देवी, सरस्वती, शक्ति, ज्योति, पृथ्वी इत्यादि शब्दद्वारा सम्बोधन गरिएको छ । यस बाहेक आमालाई माता, मातु, आमा, अम्मा, अम्मी, जननी, जनमात्री, जीवनदायिनी, जनयात्री, धत्री, प्रसु आदि शब्दले समेत चिन्ने गरिन्छ ।
ऋग्वेदमा आमाको महिमाबारे भनिएको छ, ‘हे उषाकी समान आमा ! हामीलाई महान मार्ग अनुसरण गर्न प्रेरित गर्नुहोस् । तपाईंले हामीलाई नियमप्रेमी बनाउनुहुन्छ । हामीलाई महिमा र महान उदारता दिनुहोस् ।’
त्यस्तै, सामवेदमा भनिएको छ, ‘हे जिज्ञासु छोरा ! आमाको आदेशहरू पालन गरेर आमालाई कष्ट नदेऊ। आफ्नी आमालाई आफूसँगै राख । दिमाग शुद्ध पार र आचरणको ज्योति उज्यालो पार ।’
श्रीमद्भागवत पुराणमा भनिएको छ ‘आमाको सेवाबाट प्राप्त आशीषले सात जन्मको कष्ट र पापलाई पनि हटाउँछ । उनको भावनात्मक शक्तिले बच्चाहरूको सुरक्षा कवचको काम गर्छ।’ यसका साथ श्रीमद्भागवतमा भनिएको छ कि आमा बच्चाको पहिलो गुरु हुन् ।’ महाभारतमा जब यक्षले धर्मराज युधिष्ठिरलाई सोध्छन्, भूमिभन्दा भारी के छ ?’ युधिष्ठिर उत्तर दिन्छन् :
माता गुरुतारा भुमेरू
अर्थात्, आमा यस भूमिभन्दा पनि भारी हुनुहुन्छ ।
साथै, महाकाव्य महाभारतका लेखक महर्षि वेदव्यासले आमाको बारेमा लेखेका छन्।
नास्ति मातृसमा छाया, नास्ति मातृसमा गति:।
नास्ति मातृसमं त्राण, नास्ति मातृसमा प्रिया।।
अर्थात्, आमा जस्तो छाया कतैपनि छैन, आमाको जस्तो साहारा कतै छैन । त्यहाँ आमा समान रक्षक अरु कोही पनि छैन र समग्रमा आमा जस्तो प्रिय चीज नै केही छैन ।
यही भावलाई पुष्टि गर्दै तैत्तेरीय उपनिषद् लेख्छ :
मातृ देवो भव:
अर्थात्, आमा ईश्वर समान हुनुहुन्छ ।
source https://www.onlinekhabar.com/2020/03/840851
0 Comments