मंसिर ४ को चुनावमा दलहरु आफैंले आफैंविरुद्ध लड्न गइरहेको चुनाव हो । विगत पाँच वर्षमा उनीहरुले जेसुकै बाचा गरेका भए पनि प्रकारान्तरले जनतालाई धोका दिएका छन् । भविष्यप्रति अलिकति पनि आशा नजगाई उनीहरु चुनावमा जाँदैछन् । यो दुर्भाग्य हो ।
एक किसिमले भन्ने हो भने उनीहरु केवल शक्तिमा पुग्न मात्रै यो चुनावमा सामेल भइरहेका छन् । कुनै सपना छैन । विश्वसनियता गुमाएर उनीहरु चुनावमा जाँदैछन् । तै पनि नागरिकलाई यिनैमध्ये कसैलाई छनोट गर्नुपर्ने बाध्यता छ ।
सबैभन्दा दुःखद पक्ष, वैकल्पिक राजनीतिको आशा टरेको छ । जसले विकल्प हौं भन्दै यसअघि भोट मागेका थिए, वैकल्पिक राजनीतिका वैधतालाई तिनैले सिध्याइदिए । अझ आफूलाई वैकल्पिक भन्नेहरुमध्ये केही त प्रष्टै प्रतिगामी छन् ।
यस अर्थमा आगामी चुनाव कुनै उत्सुकता बेगरको चुनाव बन्नेवाला छ । आवधिक चुनावको मूख्य काम भनेको नेतृत्व फेर्ने हो । यो चुनावले त त्यो काम पनि गर्दै छैन । हामीले विगत पाँच वर्षमा प्रतिपक्षी विनाको लोकतन्त्र भोगेर आयौं । अब पनि त्यही रीत चल्ने छ ।
त्यसैले अब दलहरुले घोषणापत्र लेख्न बन्द गर्नुपर्छ । अहिले घोषणापत्र, संकल्पपत्र, प्रतिबद्धतापत्रका नाममा जे लेखाइँदैछ, यसको कुनै काम छैन भनेर दलका नेताहरु स्वयमले विगतमा प्रमाणित गरिसकेका छन् ।
उनीहरु बेकारमा नो नट् अगेनमाथि खनिएका छन् । वास्तवमा यो पुराना शक्तिहरुविरुद्ध सानो विरोध र विकल्पको खोजी हो । यसले उठाएको चुरो कुरो लाई ध्यान दिए पुग्छ ।
उनीहरुले जोकोही आए पनि अहिलेको भन्दा केही न केही राम्रो नै आउला भनेर अपेक्षा राखेका छन् । लोकतन्त्रमा यस्तो भन्न पाइन्छ । मानिसले उनीहरुलाई विभिन्न शक्ति र समूहसँग जोडेर हेरे पनि उनीहरुको मर्मलाई ध्यान दिनु आवश्यक छ । प्रतिबद्ध लगाउने किसिमका वक्तव्य गैरजिम्मेवार छन् ।
विष्णु सापकोटाका बाँकी विचारहरु अनलाइनखबरको वैचारिक भिडियो स्तम्भ ओके २० मिनेट्स्मा ।
source https://www.onlinekhabar.com/2022/11/1211316
0 Comments