म गाउँको सामान्य परिवारमा जन्मेको मान्छे। झन्डै १०/११ वर्षको थिएँ होला, देशमा कुनै एउटा आवधिक निर्वाचन चलिरहेको थियो। गाउँलाई चुनावी माहोलले निकै तताइरहेको थियो। तर मलाई चुनाव के हो भन्ने थाहा थिएन। सबैको घर-घरमा विभिन्न पार्टीका झन्डाहरू फरफराउँथे। घर, पर्खाल, धारा, सार्वजनिक स्थल आदिका भित्तामा विभिन्न पार्टीका पम्प्लेटहरू टाँसिएका हुन्थे। सार्वजनिक स्थलहरूमा चर्को-चर्को स्वरमा राजनीतिक गफहरू हुन्थे तर म केही पनि बुझ्दिनथें।
गाउँमा विभिन्न र्याली, प्रदर्शन तथा सभाहरू हुन्थे। गीत गाउने बजाउनेका साथै चर्को-चर्को आवाजमा भाषणबाजी हुन्थ्यो। त्यो देख्दा मलाई एकदमै रमाइलो लाग्थ्यो। हामी साना केटाकेटी जुन पार्टीको र्याली आए पनि उनीहरूको पछि-पछि लाग्थ्यौं।
हामीलाई पढाउने सरहरू पनि काँधमा झन्डा बोकेर फलानो पार्टी जिन्दावाद! जिन्दावाद ! भन्दै माइकिङ गर्नुहुन्थ्यो। हामी साथीहरू मिलेर पनि जिन्दावाद! जिन्दावाद ! भन्थ्यौं।
त्यति मात्र होइन, कहिलेकाहीं त साथी-साथी मिलेर स्कुल जाने तथा फर्कने बेलामा बाटोमा र खेल्ने मैदानमा पनि हामीलाई थाहा भए जति पार्टीहरूको नाम उच्चारण गर्दै चर्को-चर्को स्वरमा सबैलाई जिन्दावाद ! जिन्दावाद! भन्थ्यौं।
हाम्रो घरमा पनि चुनाव लागिसकेको थियो। मेरो बुवाले पनि घरको धुरीमा सानो झन्डा टाँग्नु भएको थियो। एकदिन गाउँकै एक राजनीतिक पार्टीको सभामा एकजना दाइले मलाई घरमा भएको भन्दा अलिक ठूलो झन्डा दिनुभयो। हेर्दा राम्रो लाग्यो। घरमा आएर धुरीको अर्को कुनामा लगेर टाँगें। बेलुका बुवाले त्यो झण्डा कहाँबाट ल्यायौ, निकाल, हाम्रो पार्टीको होइन भन्नुभयो।
मैले सोधें, ‘हामी कुन पार्टीको हो त बुवा ?’
बुवाले सबै कुरा मलाई बुझाउने गरी सम्झाउनुभयो। अनि बल्ल थाहा भयो कि सबैजनाको एउटै पार्टी हुने रहेनछ। त्यसपछि त मैले नि नबुझी-नबुझी आफ्नो पार्टीको गुणगान गाउन थालें। किनकि गाउँको माहोल नै त्यस्तै थियो।
यसरी केही दिनपछि निर्वाचनको समय आयो। हामी केटाकेटीलाई घरमै छोडेर घरका सबै सदस्यहरू भोट हाल्न झन्डै एक घन्टा उकालो हिंडेर बिहान सबेरै गाविस भवनमा जानुभयो। वल्लो गाउँ, पल्लो गाउँका पनि सबैजसो मानिस भोट हाल्न सबेरै गएका थिए। घरमा रहेका गाई, भैंसी, बाख्रा जस्ता पशु–चौपायाहरूलाई अघिल्लो दिनबाट नै खानेकुराहरूको प्रबन्ध सबै जनाले गरेका थिए। गाउँमा केटाकेटी र हिंड्न नसक्ने वृद्ध-वृद्धाहरू मात्र थिए।
मलाई त्यही समयमा लागेको थियो- मैले पनि भोट हाल्न पाए। तर अहिले थाहा भयो म त बालिग भएको रहेनछु।
हाम्रो घरमा ब्याट्रीबाट चल्ने एउटा रेडियो थियो। त्यतिबेलासम्म गाउँमा बिजुली पुगिसकेको थिएन। बुवाले निर्वाचन परिणाम थाहा पाउन सबै काम छाडेर रेडियो नेपाल सुनेर बस्नुभयो। वरिपरिका राजनीतिक दर्शन मिल्ने छिमेकीहरू पनि हाम्रो घरमा जम्मा हुन्थे। निर्वाचनको भोलिपल्टबाट मतगणना सुरु भयो।
केही दिनपछि निर्वाचनको परिणाम आयो। संयोगवश बुवाले नै भोट हालेको पार्टीको उम्मेदवारले जित्यो। मलाई अझै पनि अचम्म लाग्छ कि आफूले भोट हालेको पार्टीको उम्मेदवारले जित्दा मेरो बुवा यति धेरै खुसी हुनुभयो कि खुसीको कुनै सीमा नै रहेन। तर अहिले यिनै खराब नेताहरूले गर्दा लाखौं बुबाहरूको मुहार दु:खी छ।
मैले माध्यमिक शिक्षा हासिल गर्ने क्रममा कक्षा–१० को सामाजिक शिक्षा पुस्तकमा बालिग मताधिकारबारे अध्ययन गरें। मलाई झनै एकपटक भोट हाल्न पाए हुने भन्ने कौतूहलता जागेर आएको थियो।
वि.सं. २०७० मा भएको संविधानसभाको दोस्रो निर्वाचनमा मैले पहिलोपटक मतदान गर्ने अवसर पाएको थिएँ। त्यतिबेला मलाई पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुन पाउँदा छुट्टै आनन्दको महसुस भएको थियो।
मलाई योग्य तथा अयोग्य उम्मेदवार र कुन राम्रो राजनीतिक दल केही पनि थाहा थिएन। म राम्रो उम्मेदवार छनोट गर्नु भन्दा पनि मतदान गर्न पाउनुमा नै खुसी थिएँ। मैले हाम्रो घरको सदस्यहरूले जुन-जुन चिन्हमा भोट हाल्नुभयो, त्यही अनुसरण गर्दै तिनै चिन्हहरूमा मतदान गरें।
त्यस्तै दोस्रोपटक स्थानीय निकाय निर्वाचन-२०७४ को निर्वाचन प्रक्रियामा भाग लिएँ। घर-घरमा चुनावी घोषणापत्र बोकेर आउने उम्मेदवारहरूको विचार सुन्दा अब हाम्रा दु:खका दिन साँच्चिकै सकिएछ कि जस्तो लाग्थ्यो। विभिन्न दलका उम्मेदवारहरूमध्ये आफूलाई योग्य लागेका उम्मेदवारहरूलाई मतदान गरें। यसरी अब गाउँ-गाउँमा सिंहदरबार आउने भयो भनेर विभिन्न जनप्रतिनिधिहरूलाई स्थानीय सरकारमा पुर्याइयो।
फेरि, तेस्रो पटक सङ्घीय संसद तथा प्रदेश सभा निर्वाचन-२०७४ को निर्वाचन प्रक्रियामा भाग लिएँ। उक्त चुनावमा पनि विभिन्न आशाहरूका साथ विभिन्न प्रतिनिधिहरूलाई सरकारमा पठाइयो।
त्यस्तै हालसालै सम्पन्न स्थानीय तह निर्वाचन-२०७९ को निर्वाचन प्रक्रियामा समेत सहभागी भएर जनप्रतिनिधि छनोट गरियो।
तर यो पालि कुनै पनि उम्मेदवारलाई भोट हाल्दा यो मनमा खुसी भने पटक्कै छाएन। यसपटक निर्वाचन प्रक्रियामा भाग लिएको चौथो पटक हो।
अब फेरि, प्रतिनिधिसभा निर्वाचन २०७९ मङ्सिर ४ गते हुँदैछ। निर्वाचनमा उठेका उम्मेदवारहरूको राजनीतिक पृष्ठभूमि र विगतको व्यवहारलाई नियाल्दा मलाई किन-किन यसपालि पटक्कै भोट हाल्न मन लागेको छैन।
मुलुकको संविधानले सबै नागरिकहरूलाई भोट हाल्ने अधिकार दिएको छ। तर भोट नदिने वा नकारात्मक मत सम्बन्धी कुनै पनि अधिकारको व्यवस्था गरेको छैन।
पहिले त चुनाव आउँदा पाँच वर्षको एक चोटि आउने हो, मतदान गर्नुपर्छ भन्ने लाग्थ्यो। आफ्नो संवैधानिक हकको प्रयोग गर्दै असल लोकतान्त्रिक प्रणालीको अभ्यास गर्नुपर्छ जस्तो लाग्थ्यो। मनमा एक किसिमको खुसी छाउँथ्यो। कुशल, क्षमतावान र देशप्रेमी प्रतिनिधि छनोट गर्नुपर्छ जस्तो लाग्थ्यो।
अहिले मलाई लाग्छ- लोकतान्त्रिक अभ्यासको यति लामो इतिहास पुग्यो, हामीले धेरै जनप्रतिनिधि छनोट गर्यौं। त्यसको बदलामा हामीले के पायौं ? हामीले केको लागि हो प्रतिनिधि छनोट गरेको ? किन भोट माग्न आउने उम्मेदवारहरू र हामी सर्वसाधारण नागरिकहरूको आर्थिक हैसियत समान छैन ? फेरि उनीहरूको भन्दा हामीले धेरै मिहिनेत गरेका छौं।
मुलुक आम बेरोजगारी समस्याले ग्रसित छ। आज लाखौं युवाको श्रम कौडीको मूल्यमा अरबका खाडीहरूमा शोषण भएको छ। देशका राम्रा प्रतिभाहरू युरोप र अष्ट्रेलियामा पलायन भएका छन्। देशमा रहेका बेरोजगार युवाहरूलाई पार्टीको अन्धभक्त बनाएर प्रयोग गरिएको छ। यहाँ जागिर पाउन पार्टीको झन्डा बोकेर हिंड्नुपर्छ। दिनहुँ व्यापार घाटाले मुलुकको अर्थतन्त्र नै संकटग्रस्त देखिन्छ। देशमा चरम महङ्गी छ। सर्वसाधारण नागरिकहरूको दैनिक जीवनयापन चलाउन धौ–धौ देखिन्छ। आम नागरिकहरू बीचमा चरम आर्थिक असमानता छ।
देशमा भ्रष्टाचारले बलियो जरा गाडेको छ। आम बहुसंख्यक जनताको अवस्था दयनीय छ। आर्थिक वृद्धि र आर्थिक विकासको गति कछुवाको गतिमा हिंडेको छ। सामाजिक न्याय र कानुनी राज्यको सिद्धान्त मरिसकेको छ। यहाँ संविधानले प्रत्याभूत गरेका नागरिकहरूको अधिकार समेत खोसिएको छ।
कहिलेकाहीं सोच्ने गर्छु, यतिका धेरै उम्मेदवारहरू छनोट गरेर आखिर हामीले के पायौं ? हाम्रा बुवाहरूले पनि धेरै प्रतिनिधि छनोट गर्नुभयो। मैले पनि झन्डै चारवटा निर्वाचनमा भाग लिएर केही प्रतिनिधिहरू छनोट गरें। अहिलेसम्म आउँदा विभिन्न राजनीतिक व्यवस्थाहरू फेरिए। तर घरपरिवार, समाज र देशको आर्थिक अवस्था कुनै पनि परिवर्तन आउन सकेन। उनै पुराना राजनीतिक पार्टीका उम्मेदवारहरूलाई आखिर फेरि पनि विश्वास गर्ने आधारहरू के छन् ?
अहिले त मुलुकमा चुनाव आउँदैछ भन्दा पनि उराठ जागेर आउँछ। उफ् ! फेरि पनि भोट हाल्न जानुपर्ने होला !
हुनत हाम्रो संविधान पनि उस्तै छ। देशमा लोकतान्त्रिक पद्धतिको अभ्यास भइरहेको छ। सबै जनताले आफ्नो व्यक्तिगत स्वतन्त्रता प्रयोग गर्दै सक्षम प्रतिनिधि छनोट गर्ने अधिकार पनि रहेको छ। तर नागरिकले वैधानिक रूपमा एउटा पनि उम्मेदवार योग्य छैनन् भनी बहिष्कार गर्न पाउने स्वतन्त्रता सम्बन्धी अधिकार छैन।
मुलुकको संविधानले असल लोकतान्त्रिक प्रणालीको अभ्यास गर्ने गरी ‘राइट टु रिजेक्ट’ को व्यवस्था गर्न सकेको छैन। निर्वाचन प्रक्रियामा संलग्न कुनै पनि उम्मेदवारलाई म भोट दिन्न (नकारात्मक मत) भन्ने मतदाताको स्वतन्त्रतालाई सम्मान गर्नुपर्छ। कम्तीमा कुनै पार्टीबाट जित्ने उम्मेदवारले सकारात्मक कुल मतको ५० प्रतिशत भन्दा बढी मत प्राप्त गर्नुपर्ने व्यवस्था गर्नुपर्छ।
यसबाट ‘राइट टु रिकल’ अर्थात् मतदान गर्ने जनताले जनप्रतिनिधिको व्यवहारमा अविश्वास लागेमा कुनै पनि समयमा पुरानै अवस्थामा फिर्ता बोलाउन सक्ने व्यवस्था गरेमा नेपाली जनताले सार्वभौम सम्पन्न राज्यको महसुस गर्ने थिए। साथै यस्तो व्यवस्था कायम भएमा राज्यका हरेक निर्वाचनहरूमा हामी जस्ता सर्वसाधारण नागरिकहरूलाई खुसी प्रदान गर्दै आफूले चाहेको कुशल, क्षमतावान र देश प्रेमी उम्मेदवार छनोट गरी असल लोकतान्त्रिक पद्धतिको अभ्यास भएको महसुस हुनेथियो। त्यस्तै कुनै पनि राजनीतिक दल र उम्मेदवारप्रति यो हदसम्म वितृष्णा सिर्जना हुने थिएन।
अत: मुलुकलाई लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको रूपमा स्थापना गराई स्वतन्त्रता, सामाजिक न्याय र आर्थिक समृद्धिको दिशातर्फ डोर्याउन राइट टु रिजेक्ट र राइट टु रिकलको संवैधानिक व्यवस्था गराउन जुनसुकै राजनीतिक दलका सदस्यहरू कटिबद्ध हुन आवश्यक छ। जहाँ आधुनिक लोकतान्त्रिक प्रणालीको अभ्यासमार्फत जनताले आफ्नो मनले रोजेको कुशल, क्षमतावान र देशप्रेमी जनप्रतिनिधि छनोट गर्न सकून्। साथै नेपाली जनताले सार्वभौमसत्ता सम्पन्न राज्यको महसुस गरुन्।
(व्यवस्थापनमा स्नातकोत्तर लेखक पोखराको सिद्ध बराह उमाविमा अध्यापन गर्छन्।)
source https://www.onlinekhabar.com/2022/10/1210227
0 Comments