७ भदौ, काठमाडौं । बन्दको क्रममा काभ्रेमा गाडीको सिसा फुटाउने दुई जनालाई स्थानीयबासिन्दा र चालकहरुले कुटपिट गरी प्रहरीको जिम्मा लगाएका छन् ।
कुटाइ खानेमा नेकपा काभ्रे जिल्ला सचिवालय सदस्य प्रमोद गिरी र जुम्लाको तिलागुफा–३ बस्ने २४ वर्षीय पल राउत रहेको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख चक्रराज जोशीले बताए ।
जोशीका अनुसार आज बिहान बनेपास्थित चार दोबाटो चोकमा बन्दकर्ता भेला भएका थिए । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिन थालेपछि राउत र गिरी भागेर पनौती जाने बाटोतर्फ गएका थिए ।
त्यही बेला उनीहरुले एउटा गाडीमा ढुंगा हानेपछि चालकहरुले नियन्त्रणमा लिएर कुटपिट गरेका थिए । पछि प्रहरीले छुटाएर उनीहरुलाई आफ्नो नियन्त्रणमा लिएको थियो ।
जोशीका अनुसार ८ जना बन्दकर्तालाई नियन्त्रणमा लिइएको छ । अहिले जिल्लाको अवस्था सामान्य छ ।
बीपी राजमार्ग अन्तर्गत काभ्रेको भञ्ज्याङ्म नजिकै राना छापमा भेटिएको शंकास्पद वस्तु नेपाली सेनाले निष्कृय पारेको छ ।
सरकारसँग वि.सं. २०७७ फागुन २० गते भएको ३ बुँदे सम्झौताअनुसार आफ्नो पार्टीका नेता/कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनुपर्ने लगायतका माग राख्दै विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आह्वान गरेको बन्दलाई ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र नेकपा माओवादी समाजवादी पार्टीले समर्थन गरेका छन् ।
भिडियो हेर्नुहोस् :
source https://www.onlinekhabar.com/2022/08/1178599
0 Comments