२ भदौ, बाजुरा । कहीँ भिरालो चुचुरो, कहिँ थुम्का–थुम्की, कहिँ अनन्त फाँट । कार्पेट बिच्छ्याए झै भुइँमा ढकमक्क फूल ।
समुद्री सतहबाट ४ हजार २ सय मिटर माथिको भूगोलमा टेकेर जब तपाईं आसपासका दृश्य नियाल्नु हुन्छ, मन नै हराभरा हुन्छ । कञ्चन निलो आकास, आँखाले भ्याएसम्म देखिने पहाड–पर्वत, बेलाबेला लुकामारी खेल्ने भुईंकुहिरो, अनि अनायसै स्पर्श गर्ने चिसो सिरेटो, पृष्ठभूमिमा यदाकदा गुञ्जने देउडा भाका । यस्तो लाग्छ, मानौं कुनै काल्पनिक लोकमा विचरण गरिरहेका छौं ।
जति बखान गरे पनि पुग्दैन, बडिमालिकाको ।
धार्मिक आस्था र पौराणिक महत्वको यो थलो आफैंमा कुशल चित्रकारको हस्तशिल्प झैं लाग्छ । नेपालका प्रमुख चार धाममध्ये एक हो यो । बाजुराको त्रिवेणी नगरपालिकामा अवस्थित बडीमालिकाले अपी सैपाल हिमाललाई पृष्ठभूमिमा राखेर आगन्तुकलाई स्वागत गर्छ । प्रकृतिको काखमा रमाउन उत्सुकहरुका लागि गज्जबको गन्तव्य पनि हो, बडिमालिका ।
बडिमालिकामा जनै पूर्णिमाको दिन ठूलो मेला लाग्छ । मेला भर्न देशभरबाट सयौं तिर्थालु पुग्ने गर्छन् । भारतबाट पनि थुप्रै तिर्थालु बडिमालिकाको दर्शन गर्न पुग्छन् ।
कोभिड महाव्याधिका कारण पछिल्लो दुई वर्षमा मेलाको रौनक घटेको थियो । यसपालि भने बडिमालिकामा मेला भर्नेहरुको घुइँचो थामिनसक्नु भयो । यहाँ वर्षमा दुई पटक मेला लाग्छ, गंगा दशहरा र जनैपूर्णिमाको दिन ।
मेला भर्ने पंक्तिमा भेटिएका शेरबहादुर रावत भन्दै थिए, ‘भूस्वर्ग भनेको सायद यही होला । जता हेर्यो, उतै मन रमाउने ।’
त्यसो त गन्तव्यमा मात्र होइन, यात्रामा पनि मन उत्तिकै रोमाञ्चक हुन्छ । बाटोमा भेटिने स–सना मठ मन्दिर, कञ्चन हिमाली खोला, अविरल बगिरहने झरना, विशाल पाटन एवं घाँसे मैदान । जति हेरेपनि मन अघाउँदैन ।
यहाँका पाटनहरुमा भेंडा चराउन ल्याइन्छ । बडिमालिका क्षेत्रमा यो समयमा ५० हजारभन्दा बढी भेँडा चरिचरन गर्ने स्थानीय बताउँछन् । बाजुरा, हुम्ला, कालिकोट, मुगु लगायतका जिल्लाबाट भेँडाहरु ल्याएर बैशाखदेखि भदौ महिनासम्म चराउने गरिन्छ । यी पशु चौपायाले बडीमालिकाका फाँटहरुमा झनै शोभा बढाउँछन् ।
यहाँका फाँटहरुले मौसम अनुसार रुप परिवर्तन गर्छ । हिँउदमा यो सेताम्मे हुन्छ, वर्षायाममा रंगीचंगी । हरिया फाँटहरु ढकमक्क फुल्ने फूलहरुले बिछट्टै रुपवती देखिन्छ । वास्तवमै प्रकृतिकोे अनुपम उपहार हो, बडिमालिका ।
source https://www.onlinekhabar.com/2022/08/1175639
0 Comments