घटना हो सन् १९६६ जनवरी १७ को । एकजना स्पेनी माझीले माछा समातिरहेका थिए । उनले आकाशबाट सेतो रंगको ठूलो सामान खसेको देखे । त्यो चिज अलबोरन सागरमा डुब्यो । त्यो सामान के थियो थाहा भएन ।
त्यही समयमा पालेमारेस क्षेत्रको एक गाउँमाथिको आकाशमा दुईवटा बलिरहेका आगोका गोला खसिरहेका थिए । केही समयमा त्यसको हिस्सा पूरै गाउँमा छरिए । घरहरू हल्लिए । छर्राहरू चारैतर्फ फैलिए । त्यसबेला आकासबाट मानव शरीरका टुक्राहरू समेत खसे ।
केही हप्तापछि सिसलीको नौसैनिक अड्डा सिगोनेलास्थित बम डिस्पोजल अधिकृत फिलिप मेयर्सलाई एक सन्देश प्राप्त भयो । स्पेनमा उच्चस्तरको गोप्य संकटकाल रहेको उनलाई बताइयो र घटनास्थलमा तत्कालै पुग्न भनियो ।
तर त्यो भनेजस्तो गोप्य पनि थिएन । किनकि त्यहाँका मानिसहरूले त्यो घटना आफ्नै आँखाले देखेका थिए ।
केही हप्तासम्म विश्वभरका अखबारमा दुईवटा अमेरिकी सैनिक जहाजहरु एक आपसमा ठोक्किएको भनेर उक्त घटनाका बारेमा समाचार छापियो । ती जहाजमा रहेका बी२८ थर्मोन्युक्लियर बम पालोमारेसको आसपास खसे ।
फिलिपका अनुसार तिनवटा बम त जमीनमा खोजिएको थियो तर समुद्रमा खसेको चौथो बम फेला पार्नचाहिँ मुस्किल भएको थियो । त्यसमा १.१ मेगाटनको परमाणु हतियार थियो । अर्थात् त्यसको क्षमता ११ लाख टन टिएनटी बराबर थियो ।
पालोमारेसको घटना विश्वमा परमाणु हतियार हराएको पहिलो घटना थिएन । त्यसअघि सन् १९५० देखि त्यो बेलासम्म त्यस्ता ३२ वटा दुर्घटना भएका थिए । त्यस्ता घटनालाई ब्रोकेन एरो एक्सिडेन्ट भनिन्छ ।
क्यालिफोर्नियास्थित जेम्स मार्टिन सेन्टर फर नन प्रोलिफेरेसन स्टडिजका कार्यक्रम निर्देशक जेफ्री लेभिसका अनुसार अहिलेसम्म अमेरिकाका हराएका ३ वटा परमाणु बम फेला परेका छैनन् । यस्ता हतियारहरू कहिलेकाही भुलबस खसाइन्छन् त कहिले आपतकालमा खसाइन्छ । यी बमहरू अहिले पनि कही फोहोर, समुद्र वा खेतमा पुरिएका हुनसक्दछन् । अमेरिकी रक्षा मन्त्रालयले ती हराएका परमाणु बमको बारेमा सन् १९८० मै सार्वजनिक गरेको थियो ।
धेरैजसो परमाणु बम शीतयुद्धकालमा हराए । सन् १९६० देखि १९६८ को अवधिमा सोभियत संघ र अमेरिकाले आफ्ना विमानहरूलाई हरक्षण परमाणु बम लादेर तैनाथ राख्दथे । सोभियत संघको परमाणु इतिहास पनि निकै डरलाग्दो रहेको लेभिस बताउँछन् ।
सन् १९८६ सम्म सोभियत संघले ४५ हजार परमाणु हतियार जम्मा गरेको थियो । अमेरिका र रुस दुवैले परमाणु हतियार हराएका छन् । कतिपय त पनडुब्बीबाटै हराएका पनि छन् । तर कसैले थाहा पाएन ।
सन् १९७० अप्रिल ८ मा सोभियत संघको के ८ आणविक सबमरिन बिस्कको खाडीमा तैरिरहेको थियो । त्यो क्षेत्र स्पेन र फ्रान्स नजिकको क्षेत्र हो । त्यहाँ निकै तीव्र तुफान चल्ने गर्दछ । पानी भित्रको लहर पनि निकै तीव्र चल्दछ । उक्त पनडुब्बी त्यही ठाउँमा डुबेर हरायो । त्यसमा चारवटा परमाणु हतियार थिए । उक्त पनडुब्बीसँगै त्यसको रेडियोएक्टिभ कागौ पनि हरायो । सन् १९७४ मा सोभियत संघको के १२९ पनडुब्बी तिनवटा परमाणु मिसाइलसँगै हवाई टापुको उत्तर पश्चिमस्थित प्रशान्त महासागरमा डुबेको थियो । अमेरिकाले त्यसलाई त्यसलाई तत्कालै पत्ता लगाएर त्यसबाट परमाणु हतियार निकाल्नका लागि गोप् यमिसन पनि चलाएको थियो ।
सन् १९५८ को फेब्रुअरी ५ मा जर्जियाको टिबी टापुमा खसेको मार्क १५ थर्मोन्युक्लियर बम आजसम्म पनि भेटिएको छैन । विमानको वजन कम गर्नका लागि त्यसलाई खसालिएको थियो ।
त्यस्तै फिलिपिन्स सागरमा सन् १९६५ डिसेम्बर ५ मा खसेको बी४३ थर्मोन्युक्लियर बम पनि आजसम्म फेला परेको छैन । त्यो बम डुंगाबाट चिप्लिएर पानीमा खसेको थियो । त्यस्तै सन् १९६८ को मे २२मा ग्रिनल्याण्डको थुले एयरबेसमा खसेको बी२८एफआइ थर्मोन्युक्लियर बमपनि आजसम्म भेर्टिको छैन ।
बिमानको क्याबिनमा आगो लागेपछि चालक दशका सदस्यहरुले उक्त बमलाई खसालिदिएका थिए र जहाजलाई दुर्घटना हुन दिइएको थियो ।
यी घटनाक्रमबाट के थाहा हुनछ भने विश्वभरका महासागर तथा समुद्रहरूमा अमेरिकाका परमाणु बमका अलावा सोभियत संघका परमाणु मिसाइल र अन्य परमाणु हतियार हराइरहेका छन् । तर त्यसलाई फेला पार्न मुस्किल छ । कतिपय परमाणु हतियार फेला नपबरेका पनि होइनन् तर सबै फेला परेका छैनन् ।
एजेन्सी
source https://www.onlinekhabar.com/2022/08/1174269
0 Comments