९ भदौ, काठमाडौं । सत्तारुढ गठबन्धनमा प्रदेश र प्रतिनिधिसभाको सिट बाँडफाँटबारे सहमति हुन सकेको छैन । कार्यदलका सदस्यहरुका अनुसार पहिले कुन दलले कति सिट लिने भन्ने टुंगो गर्नुपर्छ । त्यसपछि कुन–कुन निर्वाचन क्षेत्र भन्ने तय हुनेछ ।
नेताहरुका अनुसार जुन मापदण्डका आधारमा सिट बाँडफाँट गरेपनि गठबन्धनको ठूलो दल नेपाली कांग्रेस प्रतिनिधिसभाको १६५ सिटमा सबभन्दा बढी हिस्सेदार हुनेछ भन्नेमा विवाद छैन । कांग्रेसले जति सिट पाएपनि आफ्नो समूहका धेरैले टिकट नै नपाउने हो कि भन्ने त्रास डा. शेखर कोइराला समूहमा देखिएको छ ।
१४औं महाधिवेशमा सभापति लडेका डा. शेखर कोइरालाले ४० प्रतिशत कटाएका थिए । सुरुमा भागबण्डाको राजनीति नगर्ने बताए पनि पार्टी सभापति शेरबहादुर देउवाले समान व्यवहार नगरेको भन्दै यो समूहले केन्द्रीय सदस्य मनोनयन, भ्रातृ संगठनको पदाधिकारी मनोनयन लगायतका ४० प्रतिशत पाउनुपर्ने माग राखेको थियो ।
तर देउवाले २३ जना केन्द्रीय सदस्य मनोनित गर्दा शेखर पक्षबाट दुईजना मात्र परे भने पाँच भ्रातृ संस्थाको अध्यक्ष संस्थापन पक्षबाट मात्र बनाए । गठबन्धनलाई उच्च प्राथमिकता दिएका देउवाले आफ्नै पार्टीभित्र ‘पावर शेयरिङ’ नगर्ने संकेत देखाएको भन्दै शेखर समूहका एक नेता भन्छन्, ‘शेखर, गगन लगायतका हो भने ८÷१० चर्चित अनुहारलाई टिकट दिएर बाँकी पेल्ने सम्भावना छ ।’
सत्ता गठबन्धनमा अडान लिएर प्रतिनिधिसभाको १०० सिट कांग्रेसले लिनुपर्ने र त्यसको ४० प्रतिशत आफूहरुले पाउनुपर्ने डा. शेखर समूहका नेताहरुको माग छ ।
पदाधिकारीलाई नै चुनौती
यो समूहका नेता डा. शेखर कोइराला र महामन्त्री गगनकुमार थापालाई टिकटको चिन्ता छैन । कोइरालाको क्षेत्र मोरङ–६ हो । यो क्षेत्रमा केन्द्रीय सदस्य डिला संग्रौला र रमेशजंग रायमाझी आकांक्षी छन् । दुबै संस्थापन पक्षका हुन्, तर कोइरालाको टिकट खोसेर उनीहरुलाई दिने अवस्था नभएको नेताहरु बताउँछन् ।
महामन्त्री थापालाई काठमाडौं–४ मा टक्कर दिने दोस्रो व्यक्ति नभएकाले उनको टिकट सुनिश्चित जस्तै छ । अरुको हकमा भने यति सहज छैन ।
उपसभापति धनराज गुरुङको क्षेत्र स्याङ्जा–१ हो । २०७४ को चुनावमा गुरुङको साटो पूर्वसांसद राजु थापाले टिकट पाएका थिए । जिल्ला सभापति समेत रहेका थापा अहिले शेखर समूहमै छन् । थापालाई रोकेर टिकट हात पार्न उपसभापति गुरुङलाई सहज छैन ।
सहमहामन्त्री जीवन परियारको निर्वाचन क्षेत्र कास्की–१ हो । २०७० मा समानुपातिकबाट सांसद भएका परियार २०७४ मा प्रदेशसभातर्फ १ (क) मा उम्मेदवार बनेका थिए । त्यो बेला प्रदेश र प्रतिनिधिसभामा दलिततर्फ टिकट पाउने उनी एक्ला थिए । उनी यो पटक प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चुनाव लड्न चाहेका छन् । तर टिकटका लागि उनले गठबन्धनसँगै पार्टीभित्र पनि प्रतिस्पर्धा गर्नुपर्ने अवस्था छ ।
पूर्वसांसद यज्ञबहादुर थापा र जिल्ला सभापति ईश्वरदत्त बराल पनि आकांक्षी छन् । यद्यपि शेखर समूहमै रहेका थापा टिकटलाई लिएर सहमहामन्त्री परियार र आफ्नो बीचमा समस्या नआउने बताउँछन् ।
अर्का सहमहामन्त्री बद्री पाण्डे बाजुराका हुन् । दोस्रो संविधानसभामा समानुपातिक सांसद रहेका पाण्डे पछिल्लो पटक राष्ट्रियसभा सदस्य थिए । यो पटक उनी प्र्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्ने तयारीमा जुटेका छन् ।
संस्थापन पक्षका कविराज पण्डितको पनि टिकटमा दाबी छ । पूर्वजिल्ला सभापति समेत रहेका उनी २०७४ मा एमालेका लालबहादुर थापासँग पराजित भएका थिए । सुदूरपश्चिमबाट सभापति बाहेकका एक्ला पदाधिकारी भएकाले पाण्डेलाई रोक्न यो पटक कविराजलाई सहज नभएको नेताहरु बताउँछन् ।
शीर्ष तहमै डर
अर्जुननरसिंह केसी, डा. रामशरण महत र बलबहादुर केसी शेखर समूहका शीर्ष नेताहरु हुन् । उनीहरु सबै प्रतिनिधिसभामा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहन्छन् ।
केसी नुवाकोट–२ मा उम्मेदवार हुँदै आएका छन् । यो पटक संस्थापन पक्षका बहादुरसिंह लामाको पनि दाबी छ । टिकटका लबिइङ गर्दै उनी महामन्त्री गगन थापाकहाँ समेत धाउन थालेका छन् । ‘देउवाको समूहमा भएकाले उनलाई सभापतिलाई विश्वासमा लिनसक्छु भन्ने छ,’ एक नेता भन्छन्, ‘अर्जुननरसिंह केसीलाई प्रत्यक्षमा दाबी नगर्न अनुरोधका लागि महामन्त्री कहाँ पुगेका हुन् ।’
अनलाइनखबरसँग कुरा गर्दै सांसद लामाले नुवाकोट–२ मा आफू उठ्ने दाबी गरे । ‘अर्जुननरसिंह दाइले अघिल्लोपटक मलाई अन्तिमपटक छोडिदेउ भन्नुभएको हो । अर्को पटक चुनाव लड्दिन भन्नुभएको थियो’ कांग्रेस नेता लामाले भने, ‘नुवाकोट–२ मा मैले धेरै काम गरेको पनि छु । उठ्ने म नै हो ।’
नुवाकोट–१ मा लामो समय डा. रामशरण महतले चुनाव लडे । २०६४ र २०७४ मा पराजित भएका उनी यो पटक पनि प्रतिनिधिसभा सदस्य उम्मेदवार हुन चाहन्छन् । तर प्रवक्ता डा. प्रकाशशरण महतले काठमाडौं क्षेत्र नम्बर–५ छाडेर नुवाकोट–१ मा दाबी गरेका कारण रामशरण महत दबावमा छन् ।
बलबहादुर केसीको क्षेत्र सोलुखुम्बु हो । गत निर्वाचनमा उनी माओवादी केन्द्रका हेमराज राईसँग पराजित भएका थिए । अघिल्लो निर्वाचनमा जसले जितेको छ, उसले पाउने भागबण्डा भयो भने यो क्षेत्र कांग्रेसकै भागमा पर्दैन । कांग्रेसले पाइहालेको अवस्थामा पनि केसीसँगै संस्थापन पक्षका आङ्गेलु शेर्पाको पनि दाबी छ । ‘उहाँ (बलबहादुर) अब समानुपातिक बस्नुपर्छ’ शेर्पाले अनलाइनखबरसँग भने, ‘सोलुखुम्बुमा कांग्रेसको उम्मेदवार म हुँ, उहाँलाई छोड्न सकिन्नँ ।’
डा. मिनेन्द्र रिजाल मोरङ–२ बाट निर्वाचित सांसद हुन् । उनी यो पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न चाहन्छन् । तर पटक–पटक समानुपातिक सांसद भएकी सुजाता कोइरालाले पनि यही क्षेत्रमा उम्मेदवार बन्न चाहेकी छन् । उनी कांग्रेसको १४औं महाधिवेशनमा प्रकाशमान सिंह समूहबाट उपसभापति लडेकी थिइन् ।
चन्द्र भण्डारीको निर्वाचन क्षेत्र गुल्मी–१ हो । उनी यो पटक पनि चुनाव लड्न चाहन्छन् । देउवा पक्षीय केन्द्रीय सदस्य चन्द्रबहादुर केसीको पनि गुल्मी–१ मै दाबी छ ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुको निर्वाचन क्षेत्र दार्चुला हो । गत निर्वाचनमा उम्मेदवार रहेका विक्रमसिंह धामी र जिल्ला सभापति ललितसिंह बोहरा पनि दावेदार छन् । धामी र बोहोरा दुबै संस्थापन समूहका हुन् ।
केन्द्रीय सदस्यलाई पनि छैन सजिलो
केन्द्रीय सदस्य डा. गोविन्द पोखरेललाई प्युठानमा टिकट पाउनेमा झिनो आश छ । अघिल्लो पटक वाम गठबन्धनसँग प्रतिस्पर्धा गरेका उनी यो पटक स्वाभाविक दावेदार हुन् । तर नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष बामदेव गौतम र जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेल पनि प्युठानबाटै उम्मेदवार हुन चाहेका छन् ।
गठबन्धनका अन्य दलले टिकट पाए जित निकाल्न नसकिने कांग्रेस नेताहरु दाबी छ । ‘स्थानीय तहमा पहिलो शक्ति हामी हौं । अरु दलले टिकट पाए पनि यहाँ जित्दैनन्,’ लुम्बिनी प्रदेशका सहमहामन्त्री निमा गिरीले भनिन्, ‘प्युठानको विकासको लागि कांग्रेसले नै जित्नुपर्छ भन्ने मान्यता स्थानीयमा छ ।’
शेखर पक्षीय केन्द्रीय सदस्य सञ्जय गौतमले २०७४ को चुनावमा बर्दिया–१ मा वाम गठबन्धनका उम्मेदवार वामदेव गौतमलाई हराएका थिए । उनी यो पटक पनि बर्दिया–१ मै उठ्न चाहन्छन् । तर माओवादी केन्द्रको चुनाव चिह्न लिन सहमत भएका गौतम प्युठानमा उम्मेदवार बन्ने अवस्था नरहे बर्दिया फर्किन सक्छन्, जतिबेला सञ्जय संकटमा पर्नेछन् ।
केन्द्रीय सदस्य मधु आचार्यले काभ्रे–२ मा टिकट सुरक्षित गर्न कञ्चन वादेलाई साथ लिनुपर्ने हुन्छ । वादे कांग्रेसको बागमती प्रदेशका महामन्त्री हुन् । लामो समय आचार्य र बादे एउटै समूहमा थिए । १४औं महाधिवेशनमा प्रकाशमान सिंहले छुट्टै समूह बनाएपछि बादे पनि अलग भएका छन् ।
केन्द्रीय सदस्यद्वय दिनेश कोइराला र टेकप्रसाद गुरुङ चितवन–३ बाट चुनाव लड्न चाहन्छन् । तर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको क्षेत्र भएकाले उनीहरुले टिकट पाउने सम्भावना कमजोर छ । चितवन–२ बाट वर्तमान जिल्ला सभापति राजेश्वर खनाल र पूर्वसभापति जीतनारायण श्रेष्ठले दाबी गरेका छन् । खनाल र श्रेष्ठको गृह क्षेत्रमा देउवा निकट केन्द्रीय सदस्य उमेश श्रेष्ठको पनि दाबी छ ।
बझाङमा केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइली र अर्जुन जंगबहादुर सिंहको दाबी छ । स्नेही र सिंह यसैपटक केन्द्रीय समितिमा विजयी भएका हुन् । सिंह पूर्वराजदूत समेत हुन् । ‘म प्रदेशमा चुनावमा उठ्दिनँ । प्रकाशको पनि दाबी छ, मेरो पनि रहन्छ,’ सिंहले भने, ‘प्रकाशले टिकट पाए मैले सहयोग गर्छु ।’
धनुषा–२ बाट रामकृष्ण यादव पुनः उम्मेदवार हुन चाहन्छन् । उनी गत निर्वाचनमा यही क्षेत्रमा पराजित भएका थिए । यो पटक उनीसँगै शेखर समूहकै दिनेश प्रसैैलाको पनि दाबी छ । केन्द्रीय सदस्य मुक्ताकुमारी यादव पनि टिकटको दावेदार हुन् ।
डा. चन्द्रमोहन यादव धनुषा–४ बाट चुनाव लड्न चाहन्छन् । तर संस्थापन पक्षबाट सहमहामन्त्री निर्वाचित भएकाले महेन्द्र यादवलाई रोकेर टिकट पाउन उनलाई सहज छैन । गत निर्वाचनमा महेन्द्र यादव प्रतिनिधिसभा र चन्द्रमोहन धनुषा–४ (क) मा उम्मेदवार बनेका थिए । दुबैले पराजय भोगे ।
शेखर पक्षीय केन्द्रीय सदस्य राजीव कोइराला प्रदेशसभामा सुनसरी–२ (ख) बाट निर्वाचित भएका थिए । प्रदेश–१ मा संसदीय दलको नेता समेत बनेका कोइराला सुनसरी–२ बाट यो पटक उनी प्रतिनिधिसभाको चुनाव लड्न चाहन्छन् । ‘प्रदेशमा पनि हेरियो । संघतिर जानुपर्छ भनी साथीहरुको सुझाव छ,’ कोइरालाले भने ।
संस्थापन पक्षीय केन्द्रीय सदस्य राजिव ढुङ्गाना र गत निर्वाचनमा विजयी सिताराम मेहता पनि दाबेदार छन् । नेताहरुका अनुसार मुख्यमन्त्रीको सुनिश्चितता हुने अवस्थामा भने कोइराला प्रदेशसभामा प्रतिस्पर्धा गर्न तयार देखिएका छन् ।
सरिता प्रसाईंले झापा–२ बाट उम्मेदवार बन्ने इच्छा देखाएकी छन् । प्रदेश १ का सभापति उद्धव थापा र केशवकुमार बुढाथोकीले पनि यही क्षेत्रबाट चुनाव लड्न चाहेका छन् । दुबै कृष्ण प्रसाद सिटौला निकट हुन् । त्यसैले थापा प्रदेश सभातिर जान सहमत भएपनि टिकटका लागि प्रसाईंले बुढाथोकीसँग प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ ।
गुरुराज घिमिरेले मोरङ–४ मा दाबी गरेका छन् । तर महेश आचार्य पनि यही क्षेत्रका हुन् । पटक–पटक टिकट प्राप्त गर्नुका साथै मन्त्री समेत बनेका आचार्य समानुपातिकमा बसेर यो क्षेत्र आफ्नो लागि छोड्नुपर्ने घिमिरे बताउँछन् ।
मोरङ सभापति डिगबहादुर लिम्बुलाई मोरङ–१ बाट उम्मेदवार बन्न कठिन नभएको जिल्ला तहका नेताहरु बताउँछन् । संस्थापन पक्षबाट उक्त क्षेत्रमा दाबी गर्ने बलियो व्यक्ति नभएकाले लिम्बु पुनः उम्मेदवार हुने सम्भावना छ ।
कास्कीका देवराज चालिसे क्षेत्र नम्बर–२ का आकांक्षी हुन् । संस्थापन पक्षबाट गुरु बरालको दाबी छ । तर गत निर्वाचनमा पराजित भएका चालिसेलाई गुरुले रोक्ने सम्भावना कम भएको जिल्ला तहका नेताहरु बताउँछन् । यस्तै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल रौतहट–१ मा जान चाहेकाले काठमाडौं–२ मा प्रतिमा गौतमको सम्भावना देखिएको छ भने तेजुलाल चौधरीलाई सप्तरी–४ मा गठबन्धनबाहेक अरु चुनौती छैन ।
विकास लामालाई सिन्धुपाल्चोक–२ मा आफ्नै समूह तथा संस्थापनको चुनौती छ । शेखर समूहबाट जिल्ला सभापतिमा प्रतिस्पर्धा गरेका वंशीलाल तामाङ र संस्थापन पक्षका नीमा लामा पनि दाबेदार हुन् । लामा प्रदेश सभा सदस्य समेत हुन् ।
शेखर समूहबाट लुम्बिनी प्रदेशको सभापति बनेका अमरसिंह पुन रोल्पाबाट प्रतिनिधि सभा उम्मेदवार हुन चाहन्छन् । तर माओवादीको बलियो पकड भएको यो क्षेत्र कांग्रेसले पाउने सम्भावना कम छ । भुपेन्द्रजंग शाही कालीकोटबाट उम्मेदवार हुन चाहन्छन्, तर उनका लागि गठबन्धन बाधक बन्न सक्छ ।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी दोलखाबाट संघीय संसदका लागि उम्मेदवारको आकांक्षा देखाएका छन् । केन्द्रीय सदस्य जीप छिरिङ लामा र कुन्दनराज काफ्ले पनि छन् । दोलखामा संस्थापन पक्षका केन्द्रीय सदस्य लामा प्रत्यक्षमा प्रतिस्पर्धा नगर्ने मनस्थितिमा छन् । तर कृष्णप्रसाद सिटौला निकट काफ्लेले दाबी छाडेका छैनन् ।
source https://www.onlinekhabar.com/2022/08/1179175
0 Comments