Looking For Anything Specific?

Header Ads

लय बिर्संदै ‍एनआरएन

कैयौं नैतिक कथा र शिक्षालाई बिर्संदै गएको हाम्रो पुस्तालाई झक्झकाउन यो आलेखलाई एउटा नीति कथाबाटै शुरु गरौं। खलिल जिब्रानको प्रसिद्ध नीति कथामा एउटा फ्याउरोले बिहानको घाममा आफ्नो छायाँ निकै लामो देखेर भन्छ- ‘आज दिवा भोजनको लागि ऊँटको शिकार गर्नुपर्ला।’

बिहानभर चारैतिर भौंतारिंदा समेत केही हुन सकेन। दोपहरमा आफ्नो छायाँ फेरि देख्छ र भन्छ- ‘भैगो, आज मुसोबाटै काम चलाउनुपर्ला !’

 यो सटिक तथा व्यङ्ग्यात्मक नीति कथामा जस्तो नहोस् हाम्रो एनआरएन। १९ वर्षको गौरवपूर्ण इतिहासलाई विगत केही वर्षदेखि ओझेलमा पार्न जो जसरी लालायित भए/भयौं– एकपटक छिमेकी देशका यस्तै प्रकृतिका सञ्जाललाई हेंरौ र लयमा फर्काउन लागौं भन्ने अभिप्रायद्वारा यो आलेख प्रेरित छ।

 संयुक्त राष्ट्रसंघले निकालेको तथ्याङ्क अनुसार विश्वमा करिब २७२ मिलियन विदेशी आप्रवासी छन्। यसको कुल ६.४ प्रतिशत जनसंख्याको भाग भारतीयहरूले ओगटेका छन्। यसलाई हामी भारतीय गैर-निवासी (एनआरआई) भनेर चिन्छौं र भारतीय अर्थतन्त्रमा एनआरआईको योगदानलाई पास गर्नुअघि एनआरआई र ओभरसिज रेसिडेन्ट अफ इन्डिया (ओसीआई) लाई मान्यता दिएको छ। वैदेशिक रोजगारीका लागि विदेशमा बसोबास गर्ने र आर्थिक वर्षमा २४० दिनभन्दा बढी समयसम्म विदेशमा रहेका भारतीयहरूलाई आयकर ऐन १९६१ (एनआरआई) अनुसार गैरआवासीय भारतीय मानिन्छ।

संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागका अनुसार अन्तर्राष्ट्रिय आप्रवासीको जनसंख्यामध्ये भारतीय मूलका आप्रवासीहरू सबैभन्दा बढी छन्। मध्य पूर्वी देशहरू, संयुक्त राज्य अमेरिका, बेलायत र क्यानडा पछि धेरैजसो भारतीय नै छन्।

भारतीय अर्थतन्त्रमा एनआरआईहरू (गैर-आवासीय भारतीयहरू) ठूलो योगदान गर्छन्। यसले भारतीय अर्थतन्त्रलाई राष्ट्रिय बचत, पूँजी सञ्चय, लगानी आदिलाई सुदृढ गरेर ठूलो मात्रामा आन्तरिक रूपमा रोजगारी सिर्जना गर्न मद्दत गरेको छ। एनआरआईहरूले आफ्नो घर, आफन्त वा सहयोगीहरूलाई पठाउने गरेको पैसा स्थानान्तरण/रेमिटेन्स भारतीय विदेशी मुद्रा प्रवाहको मुख्य स्रोतहरूमध्ये एक हो।

विभिन्न छोटो र दीर्घकालीन लगानी योजनाहरूको विकल्पहरू प्रदान गरेर र अन्य आकर्षक परियोजनाहरू सञ्चालन गरेर पनि भारतीय सरकारले आफ्नो अर्थतन्त्रको आर्थिक स्थिरता कायम गरेको छ। रेमिट्यान्सले पनि भारतको नगद प्रवाहमा जिम्मेवार भूमिका खेलेको छ। साथै धेरै एनआरआई फर्महरूले भारतमा करोडौं लगानीका उद्योगहरू स्थापना गर्ने घोषणा गरेका छन्। जस्तै, यूएई आधारित कम्पनीहरू, लुलु इन्टरनेशनल, एनएमसी हेल्थकेयर इत्यादि। सरकारले उनीहरुलाई देशमा लगानी गर्न थप उपायहरूको खोजी गर्दै प्रोत्साहित गरिरहेको छ। भारतको अर्थतन्त्र र अन्य सरकारी विकास गतिविधिहरूमा एनआरआईको लगानीले देशको स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा र अन्य दिगो विकासमा सुधार ल्याउनुको साथसाथै दीर्घकालीन रूपमा, यसले बजेट खर्च सन्तुलन समेत गरेको छ।

सन् १९७९ पछि पूँजीवादी संसारका लागि चीनको खुलापन आप्रवासी मूलका प्रमुख क्षेत्रहरूमा अवस्थित विशेष आर्थिक क्षेत्रहरूसहित विदेशी चिनियाँहरूको स्रोत परिचालन गर्नको लागि डिजाइन गरिएको स्थानीय अनुक्रममा गरिएको थियो। हङकङ, मकाउ र ताइवानका ‘स्वदेशीहरू’ (टोङबाओ) लगायत चीनमा प्रत्यक्ष वैदेशिक लगानीको ठूलो बहुमत चिनियाँ डायस्पोराबाट आएको छ। आप्रवासी जडानको हद वा अभावले स्थानीय विकास ढाँचाहरू कडा रूपमा प्रभावित भएका छन्।

एनआरएनको यही रवैया र सोचले हामी कहिले एनआरआई र एनआरसीले झैं देशको समृद्धिको सारथि बनौंला ? कहिले आईटी सिटी हैदरवाद बनाउँला वा आधुनिक चीनको चित्र कोरेझैं हामीले पनि केही गरौंला ?

अहिले नयाँ चरणको विकास भइरहेको छ, जहाँ विदेशी चिनियाँहरूको राजधानी कम महत्त्वपूर्ण हुँदै गइरहेको छ, कमसेकम पर्ल नदी डेल्टा जस्ता धनी क्षेत्रहरूमा चिनियाँहरूको सहभागिता भित्री र बाहिरी रूपमा भिन्न परिवर्तन हुँदै गैरहेको छ। चीनले रणनीतिक रूपमा ज्ञानमा आधारित अर्थतन्त्रको विकास गर्ने प्रयास गरिरहेकोले अन्तर्राष्ट्रिय सम्बन्धका केही नयाँ ढाँचाहरू देखा परेको देखिन्छ। सिलिकन भ्यालीमा विदेशी ताइवानीहरू र ताइवानको उच्च-प्रविधि क्षेत्रहरू बीचको प्रभावकारी अन्तरक्रियालाई ताइवान र चीनका केही क्षेत्रहरू, विशेषगरी सांघाई क्षेत्रमा उभिएका समान प्रक्रियाहरूको लागि नमूनाको रूपमा हेर्न सकिन्छ।

सन् १९९० को दशकको मध्यदेखि चीनको अद्भुत वृद्धिले डायस्पोरालाई ओझेलमा पारेको थियो, तर चिनियाँ डायस्पोराले गरेको योगदानकै कारण चीनको आर्थिक उन्नतिमा ठूलो टेवा पुग्नुको साथै लोकप्रियता समेत बढेको देखिन्छ। विशेषगरी चिनियाँ साना–ठूला निर्यात व्यापारीहरूले निर्यात उद्योगहरूको विकास गर्न र यस क्षेत्रसँगको आर्थिक एकीकरणमा मध्यस्थता गर्ने महत्त्वपूर्ण भूमिका खेलेका छन्। चीनको आर्थिक सुधार युगको सुरुवातदेखि नै डायस्पोराका चिनियाँहरूले आन्तरिक विदेशी लगानीमा बलियो हिस्सा बन्दै आएका छन्। उनीहरूको काम निर्यात-उन्मुख क्षेत्रहरूमा केन्द्रित छ। यसले आज विश्वको सबैभन्दा एकीकृत अन्तरक्षेत्रीय व्यापार प्रणालीमार्फत चीनका छिमेकीहरूलाई बाँध्ने अन्तर्राष्ट्रिय उत्पादन सञ्जालहरूको वृद्धिलाई अगाडि बढाएको छ। चीनको आर्थिक स्थिति बदल्न विदेशी लगानीको निर्यात क्षेत्रले प्रमुख भूमिका खेलेको छ।

भारतको आईटी सिटी हैदरावाद बनाउन एनआरआईले जुन भूमिका खेल्यो यो कसैको सामु छिपेको छैन। हाल यूके लगायत बेलायतका ठूला कम्पनीहरूको अधिकांश कल सेन्टर भारतमा छन्। हिन्दुस्तानले पछिल्लो समयमा संसारसामु आफूलाई शक्तिशाली उभ्याउन जेजति जमर्को गर्दैछ– आप्रवासी भारतीयहरूको ठूलो योगदान रहेकोमा कसैको दुईमत अब रहेन।

चीनमा अध्यक्ष माओले आफ्नो कार्यकालमा एक लाख चिनियाँलाई सरकारी खर्चमा यूरोप-अमेरिका पढ्न पठाए। उनलाई राम्रो थाहा थियो अधिकांश फर्कने छैनन्। भयो त्यस्तै। एक लाख छात्रवृत्तिमा पढ्न गएका मध्ये ८० हजार फर्केनन्, २० हजार फर्के। उनले यिनै २० हजारको ज्ञान र सीपमार्फत आधुनिक चीनको परिकल्पना गरेका थिए। आज उनको सपना पूरा गर्न यिनैको र आमरूपमा आप्रवासी चिनियाँहरूको ठूलो लगानी छ भनिन्छ।

वर्तमान एनआरएनको उद्गम र स्थापनाको पवित्र सोच उनै एनआरआई र एनआरसीले मातृभूमिको लागि गरेको अतुलनीय र स्तुतियोग्य योगदानहरूको आलोकमा उभिएर केही गरौं भन्ने नै देखिन्छ। साथै यस संस्थालाई भित्रैदेखि माया गर्ने अग्रजको भनाइ पनि यही रहेको देखिन्छ। यसका संस्थापकहरूले सुरुवाती दिनहरूमा पुर्‍याउनुभएको योगदान सर्वग्राह्य र सर्वमान्य छ। पछिल्ला दिनहरूमा पनि कोभिड महाव्याधि र महाभूकम्प जस्ता संकटको घडीमा मातृभूमि रोइरहँदा मल्हमपट्टी गरेकै हुन्। लगानी, आपसी भाइचारा र सद्भावको अभिवृद्धिमा उल्लेख्य योगदान रहेकै छ।

हान्स क्रिश्चियन एण्डरसनले ‘ईम्पेरियर ईन न्यू क्लथ’ भन्ने कथामा वर्णन गरेको एक भनाइ गज्जबको छ। ‘राजा नाङ्गै छ र सडकमा उसको भव्य सवारी चलेको छ। राजालाई सर्वाङ्ग नाङ्गो देख्ने सबैले आफू मूर्ख ठहरिने डरले आँखाले देखेको यथार्थ बोल्न डराइरहेका छन् र उल्टै बादशाहको नयाँ अदृश्य वस्त्र परिधानको प्रशंसामा वाहवाही गरिराखेका छन्। एउटा अबोध शिशुले जब राजा नाङ्गै छ भनेर सत्य बोल्छ सबैले एकै स्वरमा त्यसै भन्न साहस जुटाउँछन्। राजाको आफ्नै पनि भ्रम टुट्छ र गल्तीको महसुस गर्दै नग्न राजाले तुरुन्तै वस्त्र धारण गर्छ।’ कथाको सार यही हो।

यदि हाम्रो आजको परिवेशमा परिमार्जन गर्थे भने ‘शीर्षक’ र ‘कथासार’ सायद यस्तो बन्ने अवस्था आउँथ्यो कि- ‘ईम्पेरियर वल्ड क्लथ’ अर्थात् शासकको पुरानो कपडा। जतिसुकै गुड्डी हाँके पनि राजा नाङ्गिइसकेको छ र चरचरबाट उसको गोप्यता बाहिर छताछुल्ल भैसकेको छ।

भनियो ‘ब्राण्ड न्यु’ निस्कियो पुरानै ‘खटारा’ अर्थात् नयाँ सीसीमा उही पुरानो रक्सी। चित्र र वस्त्रको मात्र तुलना होइन नियत, व्यवहार, चरित्र र शैली पनि ठ्याम्मै उही पुरानै दोहोरिएको छ।

सबैले राजा नाङ्गो भएको कुरा भनिराखेका पनि छन्, औंल्याएका पनि छन्। तर मादले मैमत्त र आलोचनासँग जन्मजात दुश्मनीका कारण उसमा कसैका कुरा र सुझाव सुन्ने धैर्य र ग्रहणशीलता फिटिक्कै छैन। ज्यान जाला ‘म्या’ गर्नेवाला ऊ छैन ! उसको नाङ्गोपन र हठधर्मिता स्वयं उसका लागि र तमाम गैरआवासीय नेपालीका लागि अभिशाप बनिरहेको छ। नाङ्गोपन उसको सोख त होला तर उसको पतनको बलियो कारण पनि सायद यही बन्दै गइरहेको छ।

 तर, सन् २००९ को चौथो अन्तर्राष्ट्रिय महाधिवेशनमा मेरै नाममा सहमति नभए संस्था यस्तै अर्को संस्था पर्सन अफ नेपाली ओरिजिन (पीएनओ) गठन गर्ने धम्कीको पछाडि सहमति भई बधाई र फूलमालाले रंगिएका एकजना दाजु ९ घण्टा पछि संस्थालाई अक्षुण्ण राख्न ‘ब्याक’ हुनुपर्‍यो। आजपर्यन्त उनलाई पूर्व अध्यक्ष सरहकै दर्जा दिईंदै आएको छ। विवादको श्रीगणेश यही हो। संस्थाले शुरु गरेका अनेकन् राम्रा कामहरू छन्, विषम परिस्थितिमा उल्लेख्य कामको थालनी भएकै छ। यसै कार्यकालमा समेत करिब ३५ करोड भन्दा बढीका परोपकारी कामहरू भए। कोभिडको प्रथम चरणमा पीपीई लगायत मास्क, अक्सिजन सिलिण्डर, अक्सिजन प्लान्ट, मध्यपूर्वमा आईएलओ मार्फत संस्थाले ख्याति कमायो।

असहजतामा परेका लाखौं लाखलाई उद्धार र सहयोग होस् वा लामो प्रतीक्षामा रहेको १० अर्ब लगानी परियोजना र परोपकारी कामको लागि एकद्वार प्रणाली (फाउण्डेशन) मार्फत कामको थालनी गर्ने कामहरू भए। यसैबीचमा संस्थाको छायाँ नै बिग्रने गरी सम्पन्न हुन नसकेको र सुरुको अनुमानित लागत भन्दा कैयौं गुणा बढी लागत बढ्न गएको लाप्राक बस्ती सुरु गरेको सात वर्षपछि समुदायलाई हस्तान्तरण गरिएको छ।

लोकतन्त्रमा निर्वाचनलाई सहजरूपमा लिन नसक्दा यो दुई वर्ष पूरै संस्था जनजनमा बदनामको भागीदार बन्यो। अब धेरै पुराना कुरा खोतल्नतिर नलागौं। २०१९ को निर्वाचन र त्यसपछिका गतिविधि अत्यधिक निर्मम बन्यो। हामीले प्रत्येक दुई वर्षमा हुने अन्तर्राष्ट्रिय महाधिवेशनलाई एकआपसमा सुखदुःख साटासाट गर्ने पर्वको रुपमा सम्पन्न गर्ने अवसर गुमाएका छौं। हरेक दुई वर्षपछि कुनै गैरआवासीय साथी भेट्दा लाग्छ- दुई वर्ष छुटेका मन मिल्ने दाजुभाइको पुनर्मिलन भयो। तर, त्यस्तो पवित्र अक्टुबर भेला आपसी तिक्तता, एकआपसमा गालीगलौज र एकले अर्कालाई निषेधसम्मको पराकाष्ठामा परिणत हुने वातावरण तयार भयो।

एनआरएनले अहिले लय गुमाएको छ। काठमाडौंमा टुप्लुक्क भेटिने जोसुकैलाई पनि डेलिगेट्स बनाउने पुरातनिक सोचमा विधानले नियमन गरेको नयाँ व्यवस्थालाई आत्मसात् गर्न नसक्दा यस्तो अवस्था सिर्जना भएको हो। सन् २०१९ को महाधिवेशनमा जे जसरी मसल, दल, र्‍याप र कुर्सी हानाहान भो, त्यसको पराकम्पन अहिलेसम्म देखिंदैछ।

थोरै घटनाक्रमलाई पुनस्मरण गरौं। डेलिगेट्स मतदानको लागि अन्तिमसम्म परिवर्तन गर्ने लिगलिगे शैली त छँदैथियो, त्यसमा पनि प्रविधिलाई स्वीकार्न नसक्ने डरलाग्दो अविश्वास पैदा भयो। राम–लक्ष्मणले तयार गरी सयौं ठाउँमा सफल प्रयोग भएको भोटिङ मेसिनमा केही समस्या आयो। म आफैं अध्यक्ष पदको एक प्रत्यासीको वारेस (मुख्य) प्रतिनिधि थिएँ। मैले नै सुनेको-देखेको थिएँ कि सो मेसिनमा सामान्य सफ्टवेयर दुई घण्टामा तयार हुँदैथियो। यो कुरा केही साथीहरूलाई मान्य भएन र ‘पेपर ब्यालेट’ मै जानुपर्ने ढिपी अन्त्यसम्म रह्यो।

त्यसमाथि पनि कार्यसमितिको सर्वसम्मत निर्णय थियो भने निर्वाचन सम्पन्न गर्ने सर्वाधिकार रहेको समिति र त्यसको प्रमुख आयुक्तले दस्तखत गरिसकेका थिए। त्यसपछि पनि त्यसमा संरक्षकहरूले प्रमाणीकरण स्वरूप अन्तिम दस्तखत धस्काए। यस्तो त सायदै संसारमा हुन्छ तर, यहाँ यस्तै भयो। नेतृत्वको लागि लालायित केही आकांक्षीहरू बीचैमा कुनै पद (महासचिव)लाई बलिको वेदीमा चढाएरै भए पनि मतगणनाको मध्यतिर समेत ‘प्याकअप’ गर्न दबाव दिन तम्सिए। वातावरण यस्तो लाग्थ्यो कि महाधिवेशन आयोजना गरिएको कुरु क्षेत्र नै हो।

अध्यक्षका कुनै प्रत्यासी २५-३० जनाको ‘दलबल’ मतगणनामा समावेश गर्न पूरै रात वरपर घुमिनै रह्यो र निरन्तर दबाव बढाउँदै लग्यो। केही अग्रजहरू ‘महाराज’हरू सर्वाङ्ग नाङ्गै भैसक्दा समेत लोकतन्त्र र यसका न्यूनतम मूल्यमान्यतालाई कुल्चँदै निर्वाचन परिणाम नमान्ने घोषणा गर्न थाले। घोषणा सभामा सरिक नहुने, अरूलाई पनि सहभागी हुन नदिने र मैले हस्ताक्षर गरेको छैन– म किन मानूँ जस्ता बालहठले लामै समय जरो गाड्यो।

यो दुई वर्ष केही साथीहरू यो संस्थाको भविष्य दाउमा राखेर ‘न रहे बाँस– नबजे बाँसुरी’को शैलीमा प्रस्तुत भए। आफू अध्यक्ष बन्न नसके संस्था जे सुकै होस् भन्ने उनीहरूको क्रियाकलाप देखियो।  उनीहरू सर्वसहमतिमा परिमार्जित विधानलाई अपव्याख्या गर्दै अहिलेको समस्या दिन प्रति दिन बल्झाउन अग्रसर छन्। समस्याको समाधानको लागि अन्तिम विकल्पको रूपमा गठित समिति समेत अहिले यो उक्तिसँग मेलखाने गरी काम गरिरहेछ।

एकजनाले उसलाई कपडा रङ्गाउन दियो र भन्यो- ‘रातो, सुन्तले, पहेंलो, हरियो, निलो, आसमानी र बैजनी बाहेक अरू जुनसुकै रङ्गमा रङ्गाइदिए हुन्छ। भन्नोस्, लिन कहिले आउँ ? अनि उसले कपडा ल्याउनेको मुहार एकपटक नियाल्यो र अर्थपूर्ण मुस्कानसहित कपडा र्‍याकमा थन्काउँदै भन्यो- ‘आइत, सोम, मङ्गल, बुध, बिही, शुक्र र शनिबारहरूमा मलाई फुर्सद हुन्न। ती बाहेकका अरू जुनसुकै बार आए हुन्छ !

ठ्याक्कै अहिले यो समिति पनि यसरी नै काम गरिरहेको छ। जतिसुकै दिन बढाए पनि, अनेकन् बहाना बनाए पनि नतिजा नआउने अवस्था बनिरहेको छ। आफैंले बनाएको उपसमितिबाट रिपोर्ट बाहिरिंदा वा बाहिर्‍याउँदा आफैं प्रति खेद व्यक्त गर्दै बस्छ। लुगा र आवरणको मात्र कुरा होइन नियत, व्यवहार, चरित्र र शैली पनि ठ्याम्मै उही छ। सबैले राजा नाङ्गो भएको कुरा भनिराखेका पनि छन्, औंल्याएका पनि छन् तर मदले मैमत्त र आलोचनासँग जन्मजात दुश्मनीका कारण उसमा कसैका कुरा र सुझाव सुन्ने धैर्य र ग्रहणशीलता फिटिक्कै छैन। ज्यान जाला ‘म्या’ गर्नेवाला ऊ छैन। समाधानको नजिक पुग्ने त परैको कुरा।

 यो रवैया र सोचले कहिले हामी माथि उल्लेख गरिएझैं एनआरआई र एनआरसीले झैं देशको समृद्धिको सारथि बनौंला ? कहिले आईटी सिटी हैदरवाद बनाउँला वा आधुनिक चीनको चित्र कोरेझैं हामीले पनि केही गरौंला ? के स्ववियूको चुनावकै शैली र सोच कायमै राख्दा हामी एनआरएनको पुरानै लयमा फर्कन सकौंला। तमाम वर्ग र तप्का अनि राज्यले हामीबाट राखेको आकांक्षा पूरा गर्न सकौंला। यसरी नै लय बिर्सन हामीलाई छुट छ र ? कतै डायस्पोराका हामी नेपालीले पनि विद्रोहको आगो झोस्न तल यो गीत गाउनुपर्ने त होइन ?

‘छाडेर काम सारा एक काम रोजिरहेछु

यो देशमा म एउटा मानिस खोजिरहेछु।

भेटे कहीं बताए, हे राष्ट्रका बटोही

रक्षार्थ जन्मिएका छन् कि सपूत कोही।‘ 



source https://www.onlinekhabar.com/2022/02/1079120

Post a Comment

0 Comments