कक्षा ९ मा पढिरहेकी लक्ष्मीलाई कक्षामा कहिल्यै दोस्रो हुनुपरेन । ‘नाम लक्ष्मी भए नि यी नानी त साक्षात् सरस्वती जस्ती छिन्,’ बुढापाकाले भन्थे ।
‘धेरै पढेर डाक्टर बन्छु,’ लक्ष्मीले सपनाको अण्डा ओथारो राखिसकेकी थिइन् । समाजमा मान्यता नै यस्तै थियो, कक्षामा सधैं प्रथम हुने मानिस भविष्यमा डाक्टर, इन्जिनियर नै बन्नुपर्छ ।
घरकी एक्ली छोरी । चार-पाँच वटीसम्म छोरी जन्माएर भए पनि छोरा पाउनै पर्ने संस्कारको विरुद्ध उभिएका थिए चन्द्र सर । आदर्श भाषण गरेर व्यवहारमा चुक्ने ढोंगीहरूलाई व्यवहारले नै गतिलो जवाफ दिएका थिए उनले ।
एक छोरी तीन वर्ष पुग्नासाथ भ्यासेक्टोमी गर्ने उनको निर्णयप्रति टोलछिमेकले मात्र होइन, आफन्तले पनि नाक खुम्च्याएका थिए । तर उनलाई आफ्नो निर्णयमा कहिल्यै पछुतो लागेन ।
‘डाक्टर साब, ल स्कूल हिंड्नुस् । अबेला भइसक्यो,’ चन्द्र सर लक्ष्मीलाई बोलाउँदै भन्थे । गाउँमै रहेको एक उच्च माविमा अध्यापन गराइरहेका माध्यमिक तहका शिक्षक थिए चन्द्र सर । उनी छोरीलाई हौसला दिँदै ‘डाक्टर साब’ भनेर बोलाउँथे । उनी हौसिँदै थप मेहनत गर्थिन् ।
बाको हात समाएर स्कूल गइरहँदा लक्ष्मीलाई लाग्थ्यो- बाले म डाक्टर नबनेसम्म मेरो हात छोड्नु हुनेछैन ।
तर त्यस्तो भएन । समयले अर्कै मोड लियो । लक्ष्मीको सानो परिवारमा देशको बदलिँदो राजनीतिको कुरूप छायाँ पर्न थाल्यो ।
माओवादीले आफ्नो गतिविधि बढाइरहेका थिए । मान्छेको मृत्यु सस्तो बनिरहेको थियो । माओवादीलाई राज्यले आतंककारी घोषणा गरेर दमन गरेर सिध्याउने रणनीति अगाडि सारेको थियो ।
वामपन्थी पृष्ठभूमिका चन्द्र सरकोमा माओवादीहरू छलफलका लागि आउँथे । सरको सानो लाइब्रेरीमा रहेका म्याक्सिम गोर्कीका ‘आमा’ देखि निकोलाई अत्रोभस्कीका ‘अग्निदीक्षा’सम्म कमरेडहरूले खुब जाँगर लगाएर पढ्थे ।
गाउँका लोकप्रिय चन्द्र सरकोमा बढेको माओवादी गतिविधि अर्को पार्टीका स्थानीय नेता काशीरामलाई मन परिरहेको थिएन । उनी चाहन्थे- चन्द्र सर आफ्नो पार्टीमा आऊन् ।
त्यसो त, चन्द्र सर राजनीतिमा सक्रिय हुने सोचमा थिएनन् । विद्यार्थी कालमा वामपन्थी राजनीतिसँग नजिक उनी शिक्षक रहुञ्जेल दलको सदस्यता लिनुहुँदैन भन्ने स्पष्ट अडानमा थिए । उनी पार्टी सदस्यताले विवेकलाई पक्षघात गराउँछ भनेर मान्थे । ‘एउटा आस्था लिएर कसरी सबै विद्यार्थीलाई समान व्यवहार गर्न सक्छु र ?’ उनको मनमा यो प्रश्नले कहिलेकाहीँ तुफान नै ल्याउँथ्यो । सोचका सुनामी आउँथे र उनको बुझाइलाई थप परिपक्व बनाएर जान्थे ।
चन्द्र सरलाई पार्टी सदस्य बनाउन माओवादीले पनि मेहनत गर्यो । तर, उनी तयार भएनन् ।
‘हतियारवद्ध युद्धमा हुने क्षति फरक कुरा हो, तर भौतिक कारबाहीका नाममा हुने निशस्त्र व्यक्तिको हत्या मलाई मन पर्दैन, राज्य पक्षबाट होस् वा विद्रोहीबाट । मृत्युदण्डको सजायले सापेक्ष सत्यको अवधारणालाई चुनौती दिन्छ । कसैले गरेको न्याय निरूपण अन्तिम सत्य नहुन सक्छ तर मृत्यु त अन्तिम सत्य हो । फैसला सच्याउन सकिन्छ तर हत्याको निर्णयलाई सच्याउन सकिँदैन, ‘चन्द्र सरको कुरा सबै माओवादीले बुझ्दैनथे । यद्यपि, घरमा आउँदा उनले गर्ने हार्दिकतापूर्ण आतिथ्य र सद्भावका सामू उनीहरू चर्को स्वरले जवाफ फर्काउन सक्दैनथे ।
एक दिन काशीराम सरले मुखै खोलेर भने, ‘चन्द्रजी, मुलुक युद्धतिर जाँदैछ । तपाईंको घरमा माओवादीको गतिविधि बढिरहेको छ । अप्ठ्यारो पर्न सक्छ । यसलाई अलि घटाउनुपर्यो । हाम्रो पार्टीको सदस्यता लिँदा भोलि सरलाई सजिलो पनि होला ।’
मुलुक परिवर्तन गर्छु भनेर हिंडेका माओवादीप्रति चन्द्र सरको केही सहानुभूति थियो तर युद्धको कालो बादल मडारिइरहेको समयमा घरमा बढिरहेको पार्टीका नेता कार्यकर्ताको आवतजावतबाट उनी भित्रभित्रै आत्तिरहेका थिए ।
‘तपाईंले भन्नुभएको ठीकै हो काशीराम सर । तर, जागिरमा रहुञ्जेल कुनै पार्टीको सदस्य नबनौं भन्ने छ,’ उनले छोटो जवाफ दिएर संवादको बिट मारे ।
जिल्ला तहका नेता काशीराम चन्द्र सरको जवाफबाट झस्किए । केन्द्रमा उनकै पार्टीको नेतृत्वको सरकार थियो । जिल्लाका सुरक्षा निकायका प्रमुखसहितको बैठकमा चन्द्र सरको बारे कुरा उठेछ । काशीरामले चन्द्र सर माओवादी सदस्य नै भएको ठोकुवा त गरेनन् तर माओवादीसँग हिमचिम बढाइरहेको चाहिं बताए ।
चाडबाड नजिकिँदै थियो । चन्द्र सर दशैंको किनमेल सकेर घर आइपुग्दा दिनलाई अँध्यारोले कप्ल्याक्कै निलिसकेको थियो । उनी टर्च बालेर घरसम्म आइपुगे । उनी घर नभएको दिन तगारो कहिल्यै लाग्दैन । त्यो घरको तगारो नै यस्तो संकेत हो जसले चन्द्र सर घरभित्र भएको वा नभएको थाहा पाउन सकिन्छ ।
त्यो दिन अनौठो भयो । चन्द्र सर बाहिरै थिए र पनि तगारो बन्द थियो । दुईजना सैनिक जवान हतियारसहित उभिएका थिए । उनलाई जे कुराको डर थियो, त्यही भयो । घर त युनिफाइड कमाण्डको कब्जामा रहेछ । सेना-प्रहरीका जवानहरूले घरको खानतलासी गरे । पुस्तकालयका पुस्तकहरू आँगनमा जम्मा पारेर आगो लगाए ।
‘कहाँ गए ओई तेरा आतंककारी पाहुनाहरू ? हामीलाई मार्न मिठो मसिनो खुवाएर बलियो बनाएर पठाउँछस् हैन ?’ हात बाँधेर आँगनमा लडाएका चन्द्र सरले शरीरमा बुटसँगै मष्तिष्कमा प्रश्नहरूको पिटाई भेटिरहे । आँखामा पट्टि लगाएर उनलाई युनिफाइड कमाण्डले घिसार्दै तगारोबाट बाहिर लग्यो ।
लक्ष्मीले आँखाबाट बरर आँसु झारिन् । छोरीलाई डाक्टर बनाउन चाहने बालाई सम्झिन् । उनलाई लाग्यो- जीवनका कति सपनाहरू बासँगै बेपत्ता हुने रहेछन् ।
सेना निस्किएको तगारो रातभरि लागेन । किनकि चन्द्र सर घरभित्र थिएनन् । उनलाई राज्यले अपहरण गर्यो । लक्ष्मीका आमा-छोरीले रोएरै रात काटे । बिहानको उज्यालोले नचाही नचाही देखाइदियो- मन्दिरजस्तै घर भताभुङ्ग थियो । परागसेचन कुर्दै फूल खेलिरहेको धानबाली असिना पानी र आँधीबेहरीबाट चुटिएजस्तै ।
आँगनमा गोर्कीदेखि लुसुनसम्मका औपन्यासिक पात्रहरू यत्रतत्र छरिएका थिए । केही खरानी बनेर शीतसँगै ओस्सिइएका थिए भने केही आधा जलेको अवस्थामा थिए ।
तगारोभित्र एउटा छेउमा प्लास्टिकको थैलोभित्र रातो सारी, स्टकोट र बुट्टेदार घाँगर भेटियो । जुन चन्द्र सरले हिजो राति बजारबाट किनेर ल्याएका थिए ।
हरेक दशैंअघि चन्द्र सरले तीनै जनालाई नयाँ कपडा हाल्थे । सँगसँगै कपडा लगाएर दराजको ऐना अगाडि उभिएर लक्ष्मीलाई सोध्थे- ‘भन त छोरी, तिम्री आमा राम्री कि बाबा ?’
एकछिन अड्किँदै लक्ष्मी भन्थिन्, ‘बाबा-आमा दुवैजना राम्रो ।’
‘हाम्री छोरीको जवाफ त डाक्टरको जस्तो होइन, कुटनीतिज्ञको जस्तो आयो, होइन त लक्ष्मीकी आमा !’ सरको कुरामा आमाले फिस्स हाँसेर सही थाप्थिन् ।
तर अब दराजको ऐनाले तीन जनाको तस्वीर एकैपटक उतार्न नपाउने भयो ।
त्यस दिनदेखि चन्द्र सरको घरमा तगारो कहिल्यै लागेन । हरेक साँझ आमा-छोरी चन्द्र सर फर्ने आशले तगारोतिर हेर्थे । तर तगारोतिरबाट आशाका उज्यालो कहिल्यै आएन ।
स्कूल जाने बेला ‘डाक्टर साब, ढिला भयो, स्कूल जाऊँ’ भन्ने आवाज नसुनिएको धेरै भइसकेको थियो । लक्ष्मीकी आमा पतिको अवस्थाबारे सोधीखोजी गर्न धेरै तिर धाइन् । आतंकको जेलभित्र निसास्सिएको समयले उनको पतिलाई बेपत्ता बनायो । राज्यबाट थप धम्कीपूर्ण जवाफ पाइन् तर, राज्य सम्साँझै अपहरण शैलीमा घिसार्दै लगेको पतिबारे कुनै खबर पाइनन् ।
पतिका लागि खुल्ला राखिएको तगारोबाट पटकपटक राज्यको आतंक भित्रियो । नागरिक मारिएको खबर भित्रियो । तर पति भित्रिएनन् । हरेक साँझ बतासले केराका पातहरू बजाउँदा हुने हल्लासँगै पति फर्किएर आए हुन्थ्यो भन्ने आशाको त्यान्द्रो समातेर बसिरहिन् उनी ।
मानिस बेपत्ता हुँदाको पीडा पनि साह्रै अप्ठ्यारो । न गुमाएको पीडामा रुन पाउनुछ न आउने आशामा रमाउन पाउनुछ । राज्यले न लास दियो, न सास, दियो त केवल त्रास मात्र ।
चन्द्र सर आएनन् । उनको खबर पनि आएन । तर उनको घरमा सरकारी फौज र माओवादीहरू आइरहे । माओवादीलाई सेल्टर दिएको भन्दै सेना सुनामी बनेर आउँथ्यो र हप्कीदप्की र यातना छाडेर जान्थ्यो । माओवादीहरू केही आस देखाउँदै बास र गाँस खोज्दै आउँथे ।
आतंकको बीचमा पनि लक्ष्मीको पढाइलाई आमाले अगाडि बढाइरहिन् । पतिको याद आउँदा उनी छोरीको अनुहार नियाल्थिन् । छोरीलाई डाक्टर पढाउने सपना पछ्याउँदा कताकता उनलाई पतिको सम्मान गरेझैं लाग्थ्यो । अदृश्य खुसी मिल्थ्यो ।
बाबाको याद आउँदा लक्ष्मी त्यही घाँगर लगाउँथिन् जसलाई लगाइदिन नपाउँदै चन्द्र सर बेपत्ता बनाइएका थिए । समय रोकिएन । उनी विस्तारै हुर्कन थालिन् । त्यो घाँगर अब लक्ष्मीलाई सानो हुन थाल्यो । हरेक वर्ष बढिरहेकी उनलाई अलि ठूलो र नयाँ घाँगर किनिदिने बाबा नआएको धेरै भइसकेको थियो । एउटी छोरीलाई आफ्नो बाबुले जति माया अरु कसले दिन्छ र? तर उनको यो मायाको मुहान नै युद्धको पहिरोले पुरिदिएको थियो ।
भयसँगै बाँच्नुपर्ने बाध्यताले त्यो समय मानिस कहाँ आफ्नो सपनासँगै बाँच्न पाउँथ्यो र ? सधैं खानतलासी, सधैं आमाचकारी गाली, सधैं दुर्व्यवहार र यातना ।
आतंकवादको परिभाषा नबुझ्दै उनलाई युनिफाइड कमाण्डमा मिसिएको एक सेनाले भनिदियो- ‘आतंककारीका सन्तान पनि आतंककारी नै हौ ।’
‘स्कूल पढाइरहेका मेरा बा कसरी आतंककारी भए ? सम्साँझै एकजना शिक्षकलाई घरबाटै घिसार्दै बेपत्ता बनाउने तपाईंहरू के वादी ?’ प्रश्न सोध्न मन लाग्थ्यो । तर डरका अगाडि यस्ता धेरै आगोजस्ता प्रश्नहरू पानीपानी हुन्थे ।
वास्तवमा आतंक उनीहरूले नै मच्चाइरहेका थिए । जम्मा कक्षा ९ मा पढिरहेकी बालिका थिइन् लक्ष्मी । ‘सर आतंक त तपाईंहरू मच्चाइरहनु भएको छ,’ सहन नसकेपछि लक्ष्मीले मधुरो स्वरमा प्रतिवाद गरिन् । संकटकालको उत्कर्ष थियो । सेनाले लक्ष्मी बालिका हुन् भनेर बिर्सियो । उनको हात बाँध्यो । कोठाभित्र लग्यो । कमाण्डरले बुट बजार्यो । छाती नङ्ग्यायो । राम्ररी आकार पनि नलिएको यौवनका डोबहरूमा राक्षसी डोजर चलायो ।
‘आजलाई बाँचिस्, धेरै बकबक गरिस् भने तेरो बाउको हालत बनाइिदन्छौं,’ अर्धमृत बनाएर मुखमा बन्दुक सोझ्याउँदै ऊ बाहिर निस्कियो ।
आमा आँगनमा लडिरहिन् । छोरी कोठाभित्र । उठ्ने, चल्ने, बोल्ने इच्छाशक्ति पनि सँगसँगै जमिनमा लडिरह्यो । साधारण मान्छे बर्दी लगाउनासाथ कसरी यस्तो राक्षसजस्तो हुनसक्छ ? मान्छे रिसाउन सक्छ तर यति निर्मम र निर्दयी कसरी बन्न सक्छ ?
त्यो दिनको यातनाले उनको शरीरभन्दा बढी मन घाइते भयो । उनले आफूलाई घरमा सुरक्षित महसुस गर्न सकिनन् । यस्तो लाग्थ्यो कि देशमा माओवादीको संख्या माओवादीको प्रशिक्षणले भन्दा सेना-प्रहरीको आतंकले बढाइरहेछ ।
यातनाले शरीर थिलथिलो भए पनि आतंकले समाज त्रसित भइरहेको बेला मनले एउटा निकास खोजिरहेको हुन्छ । यातना दुई धारे तरबार रहेछ, जसले ढिलो छिटो पीडकलाई पनि छोड्दैन ।
‘हो लक्ष्मी ! हाम्रो समाजका बिरामी नागरिकलाई उपचार गर्न डाक्टर बन्न आवश्यक छ तर, त्यसभन्दा अघि त हाम्रो समाज नै बिरामी छ । यसलाई निको बनाउन हामी राजनीतिक डाक्टर बन्न आवश्यक छ,’ कमरेड चिन्तन लक्ष्मीलाई पूर्णकालीन हुन प्रेरित गरिरहेका थिए ।
आमा-छोरीलाई सेनाले बर्बर यातना दिएको खबर गाउँभरि फैलियो । कतिले हौसला दिँदै साथ दिए । कतिले कुरा काट्न थाले । चन्द्र सरको सुन्दर घर उजाडिसकेको थियो ।
‘म सानै छु । मेरो पढ्ने बेला हो । म अझै पढ्न चाहन्छु,’ लक्ष्मीले चिन्तनको प्रस्तावको प्रतिवाद गरिन् । छोरी कतैबाट पनि सुरक्षित नदेखिरहेकी आमाको मन पीडाले पोलिरहेको थियो । घरमा बस्दा सेनाको डर, पार्टीमा हिंड्दा पनि मारिने डर ।
‘छोरी युद्धमा गइन् भने पतिको याद आएको बेला कसको अनुहार हेर्ने ? कतै छोरीलाई केही भइहाल्यो भने बुढेसकालको सहारा को बन्ला ?,’ लक्ष्मीको आमालाई प्रश्नहरूले लखेट्न थाले । मनभित्र आँधीबेहरी चलिरहेको थियो तर पनि उनी बोलिनन् ।
सेनाको यातनापछि मानिसहरूले लक्ष्मीबारे कुरा काट्न थालेको अपुष्ट कुरा सुन्दा उनी पीडाले छटपटिन थाल्थिन् । के गर्ने, के नगर्ने ? उनलाई निर्णय गर्न गाह्रो भइरहेको थियो ।
अन्ततः उनलाई निर्णय गर्नुपर्ने अप्ठ्यारो टर्यो । लक्ष्मी एकदिन स्कूलबाटै युद्धमा पूर्णकालीन भइन् । फलामे ढोका भन्ने गरिएको एसएलसी परीक्षाको मुखमा थिइन् उनी । लक्ष्मीले आँखाबाट बरर आँसु झारिन् । छोरीलाई डाक्टर बनाउन चाहने बालाई सम्झिन् । उनलाई लाग्यो- जीवनका कति सपनाहरू बासँगै बेपत्ता हुने रहेछन् ।
छोरी पूर्णकालीन भएको खबर आमाले सोही दिन अबेर मात्र थाहा पाइन् । खबरले उनलाई झस्कायो । अर्को मनले भन्यो- आखिर घरमा पनि त अब ऊ सुरक्षित छैन ।
नाम लक्ष्मी । तर, बा बेपत्ता भएसँगै धनले सधैं टाढा धकेल्यो, नजिक हुनै मानेन । आमाले मेलापात गरेर घर चलाइरहेकी थिइन् । माओवादीले कापीकलम बोक्ने झोलामा बन्दोबस्तीको सामान भरिदियो र कम्मरमा एकथान ग्रिनेट भिराइदियो । औपचारिक अध्ययनको अवसर खोसेर पार्टीले नाम राखिदियो- कमरेड सरस्वती ।
अत्यधिक अनिश्चित थियो युद्धकालीन जीवनशैली । भर्खरै छुटि्टएका साथीहरू दुश्मनको शिकार भएर शहीद भएको खबर आइरहन्थ्यो । युद्धकालीन जीवनमा उनले धेरै कुरासँगै सिकेको एउटा महत्वपूर्ण शिक्षा थियो- केही नबुझे, केही नजाने पनि यात्रालाई विश्वास गर्नुपर्ने रहेछ ।
‘भरे केही पक्कै खाइएला, तर के खाइन्छ थाहा छैन । कतै पक्कै बास बसिएला तर कहाँ बसिएला थाहा छैन । कस्तो अनिश्चित जीवन है ?’ लक्ष्मीको प्रश्नलाई कमरेड चिन्तनले थप अप्ठ्यारो र अनिश्चित बनाउँदै भने, ‘जब जीवन भनेकै अनिश्चितताको अर्को नाम हो भने यही बाटो सही रहेछ किनकि युद्ध भनेकै अनिश्चितताको उत्कर्ष हो ।’
लक्ष्मी बोलिनन् । चिन्तनले संवाद अगाडि बढाउन चाहे, ‘कि कसो सरस्वती कमरेड !’
‘सरस्वती कमरेड’ को सम्बोधनले उनी सोचको संसारबाट वास्तविकताको बाटोमा उत्रिइन् जहाँ उनीहरू हिंडिरहेका थिए । कास्कीको घलेखर्क नपुग्दै उनीहरू एक चौतारामा रोकिए ।
‘जीवनमा कुनै कुरा निश्चित छ भने त्यो मृत्यु हो र कुनै एउटै अनिश्चित कुरा समय हो,’ चिन्तनले थपे । सरस्वतीले एकाएक बेपत्ता बालाई सम्झिइन् । उनी एकाएक गाउँ पुगिन् । बाल्यकालतिर फर्किइन् । हात समाएर स्कुल पुर्याइरहेका बालाई सम्झिइन् । अनिश्चित समयले उनका बाबुलाई खोसेर लग्यो ।
‘कता बेपत्ता हुनुभाछ कमरेड ? शरीर यता मन कता कता ? मलाई सुनिरहनुभएको त छ ?’ चिन्तनले उनको हातमा प्याट्ट पिट्दै सोधे ।
‘हो कमरेड, म बेपत्ता भएको छु मेरो बाल्यकालतिर । जहाँ मेरो बा हुनुहुन्थ्यो । तपाईंले भनेजस्तै मृत्यु निश्चित हो भने मेरो बाको अवस्था किन अनिश्चित छ ? उहाँ कहिलेसम्म बेपत्ता हुनुहुन्छ ?’
‘यो त प्रतिक्रियावादी राज्यको चरित्र हो कमरेड । आफ्नो अन्यायपूर्ण शासन कायम गर्न उनीहरूले हजारौं मानिसलाई बेपत्ता बनाउन सक्छन् । लाखौं मानिसको लासको पहाड उभ्याउन सक्छन् तर उनीहरूको यस्तो कुकर्मले उदाउन लागेको बसन्त रोक्न सक्दैन,’ उनले सरस्वतीलाई सम्झाउन खोजे ।
सरस्वतीले सम्झिइन् केही दिनअघिको घटना । एकजना गाविस अध्यक्षलाई भ्रष्टाचार गरेको आरोपमा कमरेडहरूले जनकारबाही गरेका थिए । नजिकैको चौतारामा लगेर चरम यातना दिएका थिए । ती दृश्यहरू देखेर सरस्वतीको मन आत्तिएको थियो । मनभित्र एक प्रकारको घृणा बिजारोपण भइरहेको थियो ।
घरमा उनका पनि सन्तान थिए । श्रीमती थिए । उनीसँग जोडिएका सपना थिए होलान् । ‘अस्ति गाविस अध्यक्षमाथि गरिएको जनकारबाहीलाई चाहिँ के भन्ने कमरेड ?’ उनले आक्रोशपूर्ण प्रश्न गरिन् ।
‘तपाईंले कुरा बुझ्नुभएन कमरेड । यो अन्यायपूर्ण राज्य संयन्त्रलाई अन्त्य गर्न युद्ध अनिवार्य छ । युद्ध नापेतौलेजस्तो सजिलो र सहज हुँदैन,’ चिन्तनका तर्कहरू उनले बुझिनन् । अझ भनौं बुझ्नलायक लागेन र तर थप सुन्ने धैर्यता देखाउन मन लाग्यो ।
उनले केही वर्षअघि बा र काशीराम सरबीचको संवाद सम्झिइन् । ‘कसैले गरेको न्याय निरूपण अन्तिम सत्य नहुन सक्छ तर मृत्यु त अन्तिम सत्य हो । फैसला सच्याउन सकिन्छ तर हत्याको निर्णयलाई सच्याउन सकिँदैन ।’ बाले बोलेको संवादले उनलाई थप प्रश्न गर्न हौसला दियो । उनले सोधिन्, ‘न्यायको नाममा कसैको हत्या कसरी न्याय हुन्छ ?’
अचानक तल भुर्जुङ खोलामा फायरिङ भएको आवाज प्रतिध्वनित हुँदै घलेखर्क आइपुग्यो । उनीहरूको संवाद अपूरै रह्यो । उनीहरू गाउँ माथिको जंगल उक्लिए । सेना भुर्जुङ खोलाबाट घलेखर्कतिर उक्लँदैछ भन्ने खबर आयो, सँगै भुर्जुङखोलामा केही साथीहरूको शहादत भएको खबर पनि ।
सरस्वती आत्तिइन् । चिन्तनले यो कुरा बुझे । उनले माथि भेटिएका केही साथीहरूको साथ लगाएर उनलाई सिक्लेसतिर पठाएदिए । जंगलैजंगलको यो रूटबाट झण्डै एक दिन निरन्तर हिंडेपछि मात्र सिक्लेस पुग्न सकिन्छ । चिन्तन भुर्जुङखोला भिडन्तमा शहादत भएका र घाइते साथीबारे बुझ्न त्यहीँ बस्ने भए । छुट्टिनुअघि उनीहरूले कमरेडली शैलीमा दह्रोसँग हात मिलाए ।
सरस्वतीलाई कताकता आफ्नै बाको हात छोडेजस्तै भयो । भूमिगत जीवनको झण्डै एक वर्ष उनले धेरै कमरेडहरूको संगत गरिन् । तर चिन्तन कता कता नजिकका मान्छेजस्तो लाग्थ्यो । उनी धेरै समय अघिदेखि घरमा पनि आइरहन्थे । आईएस्सीको परीक्षा सकेर भूमिगत भएका चिन्तन असाध्यै समझदार र अध्ययनशील युवा थिए । उनले सरस्वतीलाई बालखैदेखि चिनेका र बुझेका थिए । युद्धको मोर्चा, बिरानो भूगोल यसरी नजिकबाट चिन्ने र बुझ्ने मानिस पाउँदा उनी खुसी थिइन् ।
जंगलको बाटो हिंडिरहँदा उनले एकप्रकारको रिक्तता महसुस गरिन् । यस्तो शून्यता जहाँ अगाडि बढ्नका लागि मसिनो धागोको त्यान्द्रा मात्रै बाँकी थियो । युद्धको दर्शन उनको दिमागमा घुसिसकेको थिएन । जति घुसे, त्यसले उनलाई रिझाउन सकेनन् । ‘युद्ध सफल भए बाको बारेमा केही थाहा हुन्थ्यो कि ? जनताले यतिधेरै दुःख पाउने थिएनन् कि ?’ कहिलेकाहीँ मनमा उब्जने यस्ता प्रश्नले उनलाई अलि अगाडि हिंडाउँथ्यो ।
घरमा नि मृत्युको भय, वनमा पनि त्यस्तै । मृत्यु र एक्लोपनाले उनलाई लखेट्न थाले । सोचिन्, ‘मृत्यु शक्तिशाली होला कि एक्लोपना ? कस्तो शून्य भयो समय ? यस्तो शून्य जहाँ एक्लोपना सहन नसकेर मृत्युले पनि आत्महत्या गर्छ ।’
उनलाई झट्ट आमाको याद आयो । ‘उहाँले झन कति भयानक एक्लोपना महसुस गर्नुभएको होला ? आखिर उहाँको के दोष थियो र यी सबै सजाय भोग्नुपर्यो ? बाले वामपन्थलाई मन पराउन आमाको स्वीकृति लिनुभएको थियो र ?’
प्रश्नले उत्तर पर्खिरह्यो । तर जवाफ दिने कमरेड पछाडि छुटिसकेका थिए । सँगै हिंडिरहेका कमरेडहरूसँग त्यति बाक्लो चिनजान थिएन जोसँग मन खोलेर पोखिन सकियोस् । पोखिन पाएनन् भने प्रश्नहरू गहिरो तलाउ बन्छन् जहाँ मानिस डुब्छ ।
राति १ बजे उनीहरू सिक्लेस पुगे । सेल्टर खोजेर बास बस्न अर्को एक घन्टा लाग्यो । भुईंमा गुन्द्री, गुन्द्रीको शीरमा पिर्काको सिरानी । निन्द्रै परेन । भर्खरै आँखा जोडिएका के थिए, कसैले कानमै भन्यो, ‘कमरेड सरस्वती, तपाईंको सेन्ट्रीको पालो ।’
कमरेड चिन्तन हुन्जेल उनले कहिल्यै सेन्ट्री बस्नु परेन । तर आज अचानक सेन्ट्री बस्न भनियो । कम्मरमा ग्रिनेट र हातमा एकथान थ्री-नट-थ्री बन्दुक आइलाग्यो । ग्रिनेट कसरी प्रहार गर्ने, बन्दुक कसरी पड्काउने उनलाई केही मेसो थिएन ।
उनी जंगलबाट केही माथि अग्लो जमिनमा पुगिन् जहाँबाट देखिन्थ्यो पारिको गाउँ ताङतिङ, तल खोलाबाट गाउँ जोडिने र घलेखर्कबाट जोडिने बाटो पनि । बाहिरी चिसोभन्दा बढी चिसो बन्यो मन एकप्रकारको आतंकले । मनमा लाग्यो- ‘धेरै साथीहरू निदाइरहेका छन् । बन्दुक र ग्रिनेट पड्काउन नजाने पनि साथीहरूलाई दुश्मन आएको खबर त दिन सक्छु ।’
बिहानको उज्यालोले विस्तारै रातिदेखि साम्राज्य जमाइरहेको अँध्यारोलाई जित्दै थियो । केही मानिसहरू घलेखर्कको बाटो हुँदै आए । उनी डरले आत्तिइन् । कतै सेना पो हो कि ? उनले ध्यान दिएर हेरिन्- हुलिया सेनाको होइन, माओवादीकै जस्तो थियो । नजिकैको साथीलाई उठाएर खबर दिइन् ।
साथीहरू नै रहेछन् । उनका आँखाले साथीहरूको भिडमा चिन्तनलाई खोजे । तर भेटिनन् । झिसमिसे उज्यालो घनघोर अँध्यारो समाचार बोकेर आयो । घाइते साथीको उद्धार गर्न जाँदा उनलाई सेनाले नियन्त्रणमा लिएछ । चरम यातना दिएपछि पनि गोप्य सूचना नचुहाए पछि टाउकोमा ढुङ्गाले थिचेर हत्या गरेछ ।
निर्मम युद्धमा उनका आँखा कठोर बनेका थिए । दिनदिनै साथीहरूको शहादतको खबर सुन्दासुन्दा कठोर बनेको बाँधले पनि रोक्न सकेन आँसु । चिन्तन कति नजिक भइसकेका रहेछन् उनको जिन्दगीको ।
उनी एकछिन एक्लै बसेर रोइन् । रोइरहँदा उनले आफू लक्ष्मीबाट कमरेड सरस्वती बनिसकेको भुलिन् । आँसुले पीडा पखाले पछि मन केही हल्का हुनेरहेछ ।
बेपत्ता बाको याद सधैं पीडाको भारी बनेर बसेको छ । बालाई गुमाउनुको पीडामा उनी यसरी रुन पाएकी छैनन् । धित मरुञ्जेल रोऊँ भने बा कतै ज्यूँदै हुनुहुन्छ कि ? नरोऊँ पीडा भरिएर डुबी मर्ने पोखरी बनिरहेछ ।
सरस्वतीले बुझिन्- कसैलाई बेपत्ता बनाउनु त मृत्युभन्दा ठूलो सजाय रहेछ, अपराध रहेछ । चिन्तनको मृत्युको खबर व्यहोरेपछि उनको मनले अनायास मृत्यु र बेपत्ताले दिने पीडाको तुलना गर्यो ।
दिनहरू बित्दै गए । अनिश्चितताको जिन्दगीमा पनि केही निश्चितता थिए । खाना खाएपछि सेल्टरको लागि राति एक-दुई घण्टा कम्तीमा हिंड्नुपर्थ्यो । सुतेको एक/दुई घण्टामै आँखा मिच्दै सेन्ट्री बस्नुपर्थ्यो । अनि बचेखुचेको समयमा पुस्तक पढ्नुपर्थ्यो । दौडिँदा दौडिँदै पढ्नुपर्थ्यो । पढ्दा पढ्दै दौडिनुपर्थ्यो । युद्धमा पठन संस्कृति असाध्यै राम्रो । पढ्ने, छलफल गर्ने, आलोचना र आत्मालोचना गर्ने । साथीहरूबीचको विश्वास पनि अनौठो थियो । एउटाको सानो गल्तीमा अर्कोको ज्यान जान सक्थ्यो । सेन्ट्री बसेको एकजना साथीको विश्वासमा सिंगो पल्टन निदाउन सक्थ्यो ।
एकदिन उनको जनमुक्ति सेनाको बिग्रेडसँग भेट भयो । तीन-चारवटा गाउँ नै भरिएका थिए । फाटेका गोल्डस्टार जुत्ता लगाएका एकजना सेनाकी कमरेडलाई उनले सोधिन्, ‘जुत्ता फाटेछ नि कमरेड, अब फेर्ने बेला भएन ?’
सेनाको फर्मेसनमा एकजनाको चाहना वा आवश्यकताले जुत्ता किन्न सम्भव नहुने रहेछ ।
‘हामीले फारुतिनु गर्न सके पार्टीलाई सजिलो हुन्छ,’ उनले माओले भनेको मितव्ययिता सम्बन्धी असल आचारणको लामो प्रसंग निकाल्दै भनिन् । फाटेको जुत्ता लगाएर चिउरा दालमोठ खाँदै भोलिको लडाईंमा ‘एसल्ट मोर्चा’मा लड्न जान लागेकी कमरेड देख्दा उनको मनमा सम्मानको बाढी उर्लियो ।
घटनाक्रमको तिव्रताले मानिसलाई असाध्यै छिटो सिकाउँदो रहेछ । शरीर जीवन र मरणबीच खुकुरीको धारमा रहेको बेला मष्तिष्क अत्यधिक सक्रिय हुने भएर हो कि ? सिक्दा-सिक्दै, दौडिँदा दौडिँदै भूमिगत जीवन बिताएको दुई वर्ष भइसकेछ ।
लक्ष्मी बेपत्ता बा खोज्न युद्धमा हिंडेकी थिइन् । यसबीचमा बरु अरू धेरैका बाहरू बेपत्ता भए, मारिए तर उनको बाको खबर आएन । युद्धमा हिंडेपछि उनको पुरानो परिचय बेपत्ता भयो । पुराना सपनाको हत्या भयो । सपनाको हत्या हुन्छ र ? नहुने रहेछ । एउटा सपनाको चिहानमा अर्को सपना जन्मने रहेछ ।
युद्धले उनलाई अनन्त बाँच्नेगरी झैं सपना देख्न सिकायो भने भोलि नै मरिहालिन्छ भनेजस्तै गरी काम गर्न उत्प्रेरित गर्यो । बाँच्नका लागि केही न केही उद्देश्य चाहिन्छ । पुराना सपनाहरूको चिहानमाथि उभिएर उनले नयाँ सपना सजाउन थालिन् । मेडिकल डाक्टर बन्ने उनको सपना अब विस्तारै समाजको उपचार गर्ने नेता बन्नेमा रूपान्तरण हुँदै थियो । समयले उनलाई सिकाइरह्यो र परिपक्व बनाइरह्यो ।
यही बीचमा युद्धविराम भयो । शान्तिवार्ता भयो । अरु के के भयो के के । कमरेडहरू सत्तामा पुगे । घटनाक्रम तिरीमिरीझ्याईं बनाउने गरी तिब्रतामा अगाडि बढे । उनी लडाकु शिविरमा पुगिन् । उनीसँगै शिविरमा थिए वर्ग विभाजित समाजलाई रूपान्तरण गर्न युद्धमा होमिएका कमरेडहरू !
एक्लै बस्दा सरस्वतीका मनमा हजार कुरा खेल्थे, ‘निजी सम्पत्तिको माया छाडेर स्वतन्त्रताको नारा लगाउने हामी क्याम्पमा थुनियौं ।’
क्याम्पमा मेसको खाना खाइरहँदा कमरेड प्रभातले भने, ‘परिवर्तन पीडादायी हुनेरहेछ । तर त्यो भन्दा पीडादायी त यो खुल्ला जेल हुनेरहेछ । यस्तो जेल जहाँ देखिने पर्खाल त छैनन् तर अदृश्य पर्खालै पर्खाल छन् । निजी सम्पत्तिको माया छाडेर स्वतन्त्रताको नारा लगाउँदै थियौं, हामी त क्याम्पमा थुनियौं कमरेड !’
मन आफ्नै हो तर, बदलिन आफैंसँग अनुमति लिँदैन । अराजक मन । एक्लै बस्दा अनेकानेक सोच्ने । क्याम्पमा विवाहको लहर चलेको थियो । कसैले जोडी आफैं खोज्थे, कतिपयलाई कमाण्डरहरूले सहजीकरण गरिदिन्थे । युद्धको हतारोमा झांगिएको प्रेम क्याम्प बसाईका फुर्सदमा विवाहमा परिणत भए । यही मेसोमा परे कमरेड सरस्वती र कमरेड प्रभात पनि ।
अनिश्चित भविष्यले उनीहरूको सिरानी बनाउँथ्यो । मनमा अनेका तर्कना खेल्थे । के गर्ने ? कहाँ जाने ? वर्गविहीन समाजको सपनाले उनीहरूलाई जिस्क्याउन थाल्यो ।
भूमिगतकालमा आदर्श मानेका नेताहरूको रूपरंग, चालढाल, जीवनशैली अब लुक्न छाडे । ‘मान्छेको जात कपडा लगाउँदै राम्रो देखिने रहेछ, हिजो आदर्श मानेका नेताहरू आँखै अगाडि ढलिरहेका छन्,’ छापामारहरू काम नभएको बेला गफिन्थे । मनमा मच्चिइरहेको सन्तोष-असन्तोषको चाकाचुलीलाई आआफ्नै शैलीमा शब्दमा उतार्थे ।
आफूहरूलाई आएको रकम विचौलिया बनेर केही नेताले कुम्ल्याएको खबरले छापामारहरूमा असन्तोषको अँध्यारोले छोपेको थियो । अझ ‘अयोग्य’को प्रसंग आएपछि उनीहरू रिसले मुर्मुरिन्थे ।
‘हिजो लडाईंका मोर्चामा योग्य अब काम सकिएपछि अयोग्य ?,’ एकदिन प्रभातले भने, ‘अब त हामी यही क्याम्पमा थुनिन पनि अयोग्य भयौं रे ! केही विचौलियाहरू मोटाएर बाँकी रहेको रकम लिएर घर फर्किनुपर्ने होला ।’
सरस्वतीलाई रुन मन लाग्यो तर, आँसु तात्तिएर आक्रोशको धुँवा उड्थ्यो । मनमनै सोचिन्, ‘यस्ता निर्मम पत्थरजस्ता मान्छेको अगाडि आँसु बगाएर किन निर्बल हुनु ?’
युद्ध सकिए, जनताको मुक्तिको कसम खाएका योद्धाहरूको सपना पनि सकियो । सबै कुरा गुमेका थिए । बाँकी थिए त केही अधूरा सपनाको सूचि मात्रै । हातमा हतियार थिएन । गोजीमा पैसा थिएन । आदर्श मानेकाहरूप्रति विश्वास थिएन । सबैभन्दा ठूलो कुरो मष्तिष्कमा सपना थिएन ।
‘छोरी अब त कमरेडहरू सत्तामा पुगे । तिम्रो बाबाबारे केही पत्तो लाग्छ कि ?’ घर पुग्दा आमाको प्रश्नले झस्काउँथ्यो । यसअघि उनी प्रश्न गर्थिन् । अब त उत्तर दिने ठाउँमा छिन् । के जवाफ दिने ? ठूला नेताहरूसँग पहुँच थिएन । प्रधानमन्त्रीदेखि रक्षामन्त्रीसम्म आफ्नै पार्टीका छन् । तर पनि लक्ष्मीका बाहरू बेपत्तै छन् । अब कसको विरुद्ध नारा लगाउने ? कसलाई माग पत्र पेश गर्ने ?
उता बा बेपत्ता छन् । यता आमाको भरोसा र विश्वास बेपत्ता छ । लक्ष्मी र प्रभातसँगै हुर्कंदै गरेकी नानीको वर्तमानको सुख र भविष्यको समृद्धि बेपत्ता छ । एकप्रकारको छट्पटि र असन्तुष्टिमा दिनहरू बित्न थाले ।
सपना बाँचेसम्म मानिस हाँस्न सक्छ । क्यान्टोन्मेन्टकै बसाई भए पनि सुरुवाती दिनमा सरस्वतीहरू कति खुसी थिए । ‘हामीले गरेका त्यागका कारण समाजमा यति परिवर्तन भयो । शहरमा मात्र होइन, गाउँगाउँमा पनि, सुगममा मात्र होइन, दुर्गम कुनाकन्दरासम्म चेतनाको दियो बलेको छ । मान्छे सचेत भएका छन् । आफ्नो अधिकारप्रति जागरुक भएका छन्,’ उनीहरू गर्वले भन्न सक्थे, ‘अब नेपालमा केही हुन्छ । हामीले गरेको दुःख हाम्रा सन्तानले दोहोर्याउनु पर्दैन ।’
सरस्वती नेता भेट्दा बेपत्ता बाको कुरा गर्थिन् । प्रभात रोजगारीका कुरा गर्थे । तर बिस्तारै नेताहरूको बोलीमा रुखोपना बढ्न थाल्यो । घर, सम्पत्ति, परिवार त्याग्दै राजनीतिक परिवर्तनमा ज्यान दाउमा लगाएर हिँडेका पूर्णकालीन कार्यकर्ता पार्टीको निम्ति बोझ हुनथाले ।
नेताहरू स्वतन्त्र भए । तर स्वतन्त्रताको गीत गाएर लडाईंमा होमिएकी लक्ष्मीहरू जीवन निर्वाहको बाध्यताको कैदमा थुनिन थाले ।
लक्ष्मीको मन कुँडियो । कम्तीमा नढाँटेको भए ! जनतालाई, भोट हालेपछि एकमन एक चित्त गरेर संविधान बनाइदिएको भए ? शान्तिपूर्ण बाटोमा आएपछि नेतृत्वले कार्यकर्तालाई किन भनेनन् कि ‘कम्तीमा पनि तिमीहरू गरिखाऊ । भ्याएको र सकेको समय, शक्ति र सामर्थ्य पार्टीका लागि लगाऊ । अरु सबै आफ्नो जीवन सुधार्न लगाऊ । तिम्रो पुस्ताले दिएको योगदान र बलिदान इतिहासमा लेखिनेछ ।’
जवाफ कुरिरहेका प्रश्नहरू पहेंलिएर सुके । तर, नेताहरूले साँचो बोल्न सकेनन् । जनताले संविधान लेख्न भोट दिए । तर उनीहरू विद्रोहको बेमौसमी नाँच नाँच्न थाले । कार्यकर्तालाई क्रान्तिकारिताको झुटो सपना देखाएर पट्यारलाग्दो गोलचक्करमा घुमाए । अनि शक्तिहीन बनाएर सडकमा छाडिदिएर सन्देश दिए- ‘अब जे गर्छौ गर, हाम्रो भर नपर ।’
सरस्वती अब विस्तारै लक्ष्मी बन्न थालिन् । लक्ष्मीले औपचारिक शिक्षा पढ्न पाइनन् तर पनि सरस्वती बन्नुपर्यो । अब लक्ष्मी बन्नुपर्ने भयो तर कमाई छैन । निजी जीवनका बाध्यताहरूले उनलाई बन्धक बनाउन थाले ।
लक्ष्मीसँगै प्रभात पनि खुला मैदानमा आए तर पार्टीको आवद्धता छाड्न सकेनन् । क्रान्तिको सुमधुर सपना अझै देखाउन छाडिएको थिएन उनलाई दोस्रो संविधानसभाको निर्वाचनसम्म उनले सकेजति दौडधुप गरे । तर पार्टी पराजित भयो ।
क्रान्ति र विद्रोहको गफ लगाउनेहरूले उनलाई अझै जमिनमा टेक्न दिएनन् । ‘क्रान्तिकारी’ बनिनै रहनुपर्ने बाध्यता बाँकी नै थियो । त्यो कामले होइन बोलीले । उनी कसरी सक्थ्यो र त्यस्तो ढोंगी अभिनय गर्न ? न्यून वर्गको परिवार । पापी पेट । केही त गर्नैपर्ने थियो ।
केही नेतालाई भेट्न दगुरे । धेरै ठाउँमा जुम्ला हात गरे । तर उनले चिन्न नसकेको हो कि उनलाई नचिनेका हुन्, काम बनेन । युद्ध सकिएपछि पहिचान सकिएजस्तै चुनाव सकिएपछि नेताहरूसँग चिनजान पनि सकियो ।
एकदिन प्रभात राजनीतिक जेलको पर्खाल भत्काएर अरब उडे । उनी धोका खाएका आफूजस्ता लाखौं युवाहरूको प्रतिनिधित्व गर्दै लाहुरे बने । लाहुरे बन्नुअघि यसअघि बनाइएका क्रान्तिकारी भाष्यहरू भत्काउन उनलाई कम्ती कठिन भएन । एकातिर उनी लक्ष्मीको अनुहार पढ्थे अर्कोतिर वामे सर्दै गरेकी छोरी । डाँडामाथिको जुनघाम बनेका बाबुआमालाई सम्झन्थे ।
प्रभातको जीवनमा अर्को धोकाले एम्बुस पार्यो । वैदेशिक रोजगारी त अर्को जेल पो रहेछ । उनी विचौलियाको मोलमोलाइमा वस्तु बनेर बेचिएछन् । महंगो ब्याजमा ऋण काढेर विदेश हिंडेका उनको काम कठिन थियो तर तलब एकदमै न्यून ।
आफ्नै भन्नेहरूबाट पटक पटक धोका पाएको उनले यसलाई अस्वाभाविक रूपमा लिएनन् । किनकि मुग्लानमा व्यहोर्नुपर्ने अपमान ‘आफ्नाहरू’ले दिएका त थिएनन् नि ! किन हो किन, पराई भन्दा आफ्नाले दिएको पीडा स्वाभिमानी मान्छेलाई नराम्ररी दुख्दोरहेछ । घाइते बनाउने गरी दुखाउने । आफन्तले नै दिएको पीडा पचाएको उसले पराईको पीडा पचाउन कुनै महाभारत रच्नुपरेन ।
तलब कम भए पनि काम अत्यधिक थियो । शरीरको सीमितता बिर्सिएर ऊ काममा मरिमेट्न थाल्यो ।
शरीरले बुझेन उसको बाध्यता । दुःखको भवसागरको बीचमा उसको शरीरले अनन्त आरामको बाटो रोज्यो । छोरा कुरिरहेका बुढा बाआमाले वैशालु छोराको निर्जीव शरीर काठको बाकसमा फिर्ता पाए । दुई वर्षीय छोरीले बाबाको काखमा रमाउन पाइनन् ।
प्रभात किन मर्यो ? कसरी मर्यो ? कसले अनुसन्धान गर्नु ? कोसँग न्याय माग्नु ? आफ्नाहरूको अन्यायमा परेर विदेश उड्यो । पराईको भूमिमा अस्तायो ।
नाबालक छोरी बोकेर शव बुझ्न गएकी लक्ष्मी एयरपोर्टमा एक्लै परिन् । तर पशुपतिमा झण्डा बोकेर आउने नेताहरूको लाइन लाग्यो ।
निर्जिव भएर आकाशतिर हेरिरहेको शवलाई अँगालो मारौंजस्तै गरी लक्ष्मी रोइरहिन् । चिच्याइरहिन् धर्ती फाट्ने गरेर । नाबालिका छोरी पनि त्यसै गरेर डाँको छाडेर रुन लागिन् । खोइ, उनले के बुझिन् ? बाबुले सधैंको लागि छाडेर गएको बुझिन् कि बुझिनन् । फगत रोइरहिन् ममीसँगै ।
प्रभातले च्याटमा लेखेथे, ‘अब त मर्नुपरे पनि कार्यकर्ता बनेर मर्न मन छैन । बाँचुञ्जेल नचिन्ने झण्डा मरेपछि के काम ?’ तर मरेपछि पनि उसको इच्छा पूरा भएन । केही कमरेडहरू आए । मौन धारण गरे । पार्टीको झण्डा ओडाए । सामाजिक सञ्जालतिर दुई शब्द कपिपेस्ट गरेर श्रद्धाञ्जलि दिए । अनि अलप भए सधैजस्तै ।
उनीहरू छोटो औपचारिक कार्यक्रममा आए तर, लामो जिन्दगी त अनौपचारिक हुनेरहेछ जहाँ एक्लै बाँच्नु छ । कमरेडहरू अनौपचारिक जीवनमा आउँदैनन् सुख दुःखको खबर सोध्न । अन्तिम संस्कारको १३ दिन सकिएपछि घरमा शून्यता छायो । मृत्यु कुरिरहेका ससुराबा भित्तामा पोस्टर बनेको छोरो हेरिरहेका थिए । आमा रुँदारुँदा आँसु सकिएका सुख्खा आँखाले टाढा क्षितिजतिर हेरेर टोलाइरहेकी थिइन् ।
लक्ष्मीले आफ्नी आमालाई सम्झिइन् । केही दिन माइत गएर आमासँग रुन पाए मन हल्का हुन्थ्यो कि जस्तो लाग्यो । तर वृद्धवृद्धा सासुससुरालाई कसरी छाडेर जानु !
‘बुहारी, तिमी केही दिन माइती गएर बस । आमा पनि आत्तिनुभएको होला,’ दुःखको भट्टीमा खारिएका सुसराले मनकै कुरा बोले ।
‘सानी नातिनीको अनुहार हेरेर चित्त बुझाउन सक्छु कि नानी । उसलाई हेर्दा छोराको नियास्रो मेटिन्छ,’ माइती नगए हुन्थ्यो भन्ने आशयले सासु रुन थालिन् । ससुराले मानेनन् । विवेकलाई भावनाले जित्न दिनु हुँदैन भन्ने उनको आसय रह्यो ।
भोलिपल्ट झिसमिसेमै उनी छोरी च्यापेर माइत हिंडिन् । कति पट्यारलाग्दो यात्रा । यात्रा उत्साहजनक हुन कि अगाडि डोर्याउने सपना हुनुपर्दो रहेछ कि हात समाउने मान्छे । प्रभातसँगै माइती गएका दिनहरूको याद आए । दुःख थिए तर दुःख बाँड्ने मान्छे थिएन । विगतले झन् दुखाए । लक्ष्मीले थाहा पाइन्- दुःखको बेलामा सुखद यादहरू सम्झनु थप पीडादायी हुने रहेछ ।
बाटामा मानिसहरूले सोधे- ‘सञ्चै छौ नानी ?’ उनीहरूले मनको घाउ देख्दैनथे । तन त ठीकै थियो । सञ्चो छु भन्ने कि बिसञ्चो । जीवनमा सबैभन्दा सजिलो प्रश्नले उनलाई सबैभन्दा अप्ठ्यारो बनायो ।
‘सञ्चै छु,’ बनावटी हाँसो ओठमा ल्याएर जवाफ दिँदै हिंडिन् । बसन्त ऋतुको हराभरा छ वरिपरि । तर मन दुखेको बेला प्रकृतिको पनि केही नलाग्ने रहेछ । प्रश्न जन्मियो- के दुःख प्रकृतिभन्दा बलियो हुन्छ ?
हिंडिरहँदा काखमा बसेकी छोरीको अनुहारमा हेरिन् । ‘मैले त बालाई कम्तीमा चिन्न त पाएँ । आमालाई सोध्ने छैन, बा कहाँ हुनुहुन्छ ? कहिले आउनुहुन्छ भनेर । तर तिमीले हुर्केपछि बाबा खोई भनेर सोध्यै भने कसरी तिमीलाई बुझाउन सकौंला ?’
लक्ष्मीले नेताहरू सम्झिइन् । आक्रोशले अँचेट्यो । ‘मेरी छोरी यस्तो प्रश्न सोध्ने एक्लै हुने छैनन् । हरेक दिन काठको बाकसमा फर्कने अभिभावकका हजारौं, लाखौं सन्तानहरूले कुनै दिन यो प्रश्न तिमी शासकहरूलाई सोध्नेछन्,’ यस्तैयस्तै एकालाप गर्दै उनी हिंडिरहन् । एक्लै हुँदा आफ्नो साथी आफैं हुने रहेछ ।
भावनामा बहकिँदै हिँड्दा उनले बाटो काटेको पत्तै पाइनन् । पिंढीमा झोक्राएर आकाशतिर हेरिरहेकी आमालाई देख्नासाथ उनी शान्त भइन् । आक्रोश अलप भयो ।
आमा-छोरी रोए । दुःख र पीडा बाँडे । सुख बाँड्ने सुविधा त उनीहरूबाट खोसिएको थियो ।
घर अगाडिको तगारो किराले खाएर मक्किइसकेको रहेछ । उनले दराजबाट बाले अन्तिमपल्ट किनिदिएको घाँगर झिकिन् र सुम्सुम्याउन थालिन् । नातिनी-हजुरआमा निदाइसकेका थिए । तर लक्ष्मीलाई निद्रा लागेन् ।
उनलाई बासँग लामो संवाद गर्न मन लाग्यो । कापी र कलम झिकेर लेख्न थालिन् बेपत्ता बालाई अन्तिम पत्र-
बा,
समयले यस्तो पत्र लेख्न बाध्य बनाउँदैछ जहाँ सञ्चो बिसञ्चोको खबर सोध्ने औचित्य बाँकी रहेको छैन । तपाईंलाई हामीबाट खोसेर लगे । न सास छ, न लास छ । बा हुनुहुन्छ भनौं कि बा हुनुहुन्थ्यो भनौं ?
म आज तपाईंलाई निर्मम भएर यी शब्दहरू लेख्दैछु- बरु बा तपाईंको मृत्युको खबर आएको भए मैले तपाईंलाई बिर्सन्थेँ होला । तर, अहिले न सम्झनु न बिर्सनुको यस्तो द्विविधाग्रस्त जीवन दिए । बेपत्ता बनाएर दिने पीडा त अनन्तकालसम्म रहने रहेछ । मान्छेको मन हो- लास नदेखेसम्म सासको आस हुने रहेछ ।
यही आश बोकेर म युद्धमा होमिएँ । तर यहाँसम्म आउँदा थप धेरै गुमाएँ तर तपाईंलाई पाउन सकिनँ ।
आमालाई भन्छु- बा अब आउनुहुन्न । दुष्टहरूले मारिसके । बरु एकल महिलाको भत्ता लिनुस् । जीवन चलाउन अलि सहज हुन्छ । आमा रुँदै भन्नुहुन्छ- ‘तिमी पनि यसो भन्न थाल्यौ छोरी । तिम्रो बालाई बिर्सिएर म पैसा लिगौं ?’
आमासँग उमेर छ, चाहना छ । तर माया गर्ने तपाईंलाई बालावैंशमा राज्यले खोस्यो । अब उनलाई तपाईंको याद भुलाउने अस्त्र बनेको छ- बेपत्ता शब्द । हाँसे उत्ताउलीको संज्ञा दिने समाज छ । रहरहरू जहर बन्छन् । आमा अन्तिम दिनसम्म तपाईंलाई कुरिबस्ने भन्नुहुन्छ । कसरी सम्झाउने आमालाई ? तर मसँग सम्झाउनुको विकल्प पनि त रहेन नि बा !
मेरो एउटा जुम्लाको साथीको बालाई तपाईंलाई जस्तै बेपत्ता बनाए । उनी बा बेपत्ता भएको पर्सीपल्ट जन्मिए । अहिले उनको नागरिकता बनिरहेको छैन । कि चाहियो बाको नागरिकता कि चाहियो मृत्युदर्ता । बेपत्ता बाको कसरी मृत्युदर्ता गर्नु । यो सरकार बेपत्ता मान्छे खोज्दैन तर उसको नागरिकता खोज्छ ।
बा ! आजकल हाम्रा आदर्श नेताहरूको वर्ग उत्थान भएको छ । उनीहरू हाम्रा सपनाको तेजोबध गर्दै भ्रष्टीकरणको मार्गमा मस्ती गरिरहेका छन् । हाम्रो जीवनमाथि खेलवाड गर्नेहरूको जीवनबाट पनि समयले खुसी खोसेर लैजानेछ । मलाई आजकल गहिरो विश्वास लाग्न थालेको छ कि मानिसले गरेको कर्मको फल उसले यही जन्ममा पाउँछ । यिनीहरूले सुख पाउने छैनन् ।
समयले सबैकुरा खोस्यो । जब संकटले सताउँछ, सहाराको खोजी हुँदो रहेछ । बाल्यकालमा मेरो हात समातेर ‘डाक्टर साब’ भन्दै स्कूल पुर्याउने तपाईंको असाध्यै याद आउँछ । कुनै साथीले कपाल ताने तपाईंलाई गुहार्थें । भोक-तिर्खा लागे तपाईंलाई बोलाउँथे । जिब्रोले चक्लेटको स्वाद खोजे तपाईंलाई सम्झन्थेँ । तर आज जीवनमा धान्नै नसक्ने बज्रपात परिरहँदा पनि तपाईंलाई सम्झने सुविधा पनि दिइएको छैन ।
तपाईंलाई खोज्नुपर्ने सरकार नै बेपत्ता छ । बेपत्ता छानबिन आयोग आफैं बेपत्ता छ । समयले तपाईंलाई खोजी हिंड्ने ऊर्जा पनि खोसिसकेको छ । बा, अब त विस्तारै तपाईं फर्कनुहुन्छ भन्ने आशा अलप हुन थालेका छन् ।
बा तपाईंले हात समाउन नपाउनु भएकी नातिनीलाई बढाउनु छ । अभावले लखेटिरहेको जिन्दगी छ । म मुटुलाई ढुंगा बनाएर एउटा कठोर निर्णय गर्दैछु । माफ गर्नुस् बा ! म तपाईंको मृत्युदर्ता गर्न चाहन्छु । ताकि आमाले एकल महिला भत्ता पाउनुहुन्छ र त्यही रकममा थपथाप गरेर म तपाईंकी नातिनीलाई पढाउन चाहन्छु ।
म चाहन्छु- मेरो छोरीले धेरै पढोस् । शिक्षितसँगै सचेत पनि होस् । ऊ यस्तो सक्षम र नैतिक नेता बन्न सकोस् कि अक्षम र अनैतिकहरूबाट मेरो देशका नागरिकले शासित हुनु नपरोस् ।
तर के थाहा बा, सरकारले बेपत्ता पारिनुभएको तपाईंको मृत्युदर्ता गर्न मान्छ कि मान्दैन ?
म ढुंगो बनेर तपाईंलाई प्रश्न सोध्न चाहन्छु- बा तपाईं किन शहीद बन्नुभएन ?
समयलाई र सबैलाई सोध्न चाहन्छु- मेरा बा किन शहीद बनेनन् ?
समयले ढुंगाजस्तो निर्मम बनाएको उही तपाईंकी फूलजस्ती छोरी-
लक्ष्मी ।
source https://www.onlinekhabar.com/2022/02/1085575
0 Comments