Looking For Anything Specific?

Header Ads

वाइसिएलको राष्ट्रिय भेला भर्चुअल विधिबाट, अध्यक्षमा दुई दाबेदार

१० भदौ, काठमाडौं । माओवादी केन्द्रको युवा संगठन वाइसिएल नेपालले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्दै छ । भदौ १२ र १३ गते हुने भेलाले वाइसिएलको नयाँ नेतृत्व चयन गर्ने छ ।

वाइसिएलका वर्तमान केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा (दीपशिखा) लाई पार्टीले वाइसिएलको र युवा विशेष जिल्ला समितिको इञ्चार्जको जिम्मेवारी दिएकाले उनीबाहेकले अब वाइसिएलको नेतृत्व गर्नेछन् ।

हालसम्म अध्यक्ष चार जना दाबेदार छन् । वाइसिएलका वर्तमान उपाध्यक्षहरु सुमन देवकोटा (अब्दुल), यशोदा न्यौपाने र सुरज सिंह तथा महासचिव सुवोध सेर्पाली अध्यक्षका दाबेदार हुन् । यी चारमध्ये पनि चितवनका सुमन र रुकुम पूर्वका सुवोध बलियो दाबेदारको रुपमा देखिएका छन् ।

वाइसिएलका अध्यक्ष दीपशिखाले सहमतिबाटै नयाँ नेतृत्व चयन हुने बताए ।

खर्चिलो प्रविधि

वाइसिएल नेपालका प्रवक्ता पुष्प ओलीले कोरोना संक्रमणको जोखिम भएकाले जिल्ला प्रशासनले भौतिक उपस्थितमा भेला वा सभा सम्मेलन गर्न रोक लगाएकाले भर्चुअल विधिबाट राष्ट्रिय भेला आयोजना गर्न लागिएको जानकारी दिए ।

वाइसिएल अध्यक्ष सापकोटाका अनुसार भेलामा केन्द्र र सात प्रदेश गरी आठ ठाउँबाट नेता तथा प्रतिनिधि गरी ६४७ जना सहभागी हुनेछन् ।

काठमाडौंमा भेला उदघाटन गर्ने हल टुंगो लाग्न भने बाँकी छ । तर मुख्य होस्ट काठमाडौंमा हुनेछ । काठमाडौंको एक हलमा प्रमुख अतिथि एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसहित बागमती प्रदेश, केन्द्रीय कार्यालयका प्रतिनिधि गरी करिब एक सय जना भौतिक रुपमा उपस्थित हुनेछन् । त्यहींबाट अध्यक्ष प्रचण्डले भेला उदघाटन गर्नेछन् । यो दृष्य सातवटै प्रदेशमा रहेका प्रतिनिधिहरुले प्रत्यक्ष हेर्न र आफ्ना धारणा राख्न पाउने छन् । सातवटै प्रदेशका गतिविधिहरु पनि काठमाडौंमा देखिन्छ ।

‘हाम्रा लागि यो एकदम हाइटेक हो,’ वाइसिएल अध्यक्ष सापकोटाले भने, ‘यस्तो प्रविधि प्रयोग गरेर राष्ट्रिय भेला आयोजना गर्ने वाइसिएल नेपाल नेपालको पहिलो राजनीतिक संगठन पनि हो ।’

भेलाका लागि काठमाडौंमा ठूलो एलइडी स्क्रिन राखिने छ । वाइसिएलले भेलाका लागि मेन होस्टिङमा एलइडी प्रयोग गरेर अन्त प्रोजेक्टर प्रयोग गर्ने छ । अध्यक्ष सापकोटाले भने, ‘यो त झण्डै–झण्डै टेलिभिजन स्टुडियोकै मेकानिजम हुने रहेछ । सात प्रदेशमा सातवटा मेकानिजम तयार गर्नुपर्यो । त्यसैले खर्चिलो हुनेभयो ।’ तर खर्चको लेखाजोखा भने अझै नगरेको उनले बताए ।

भेलाबारे जानकारी दिन बिहीबार दिउँसो एक बजे पेरिसडाँडास्थित कार्यालयमा पत्रकार सम्मेलन आयोजना गरिएको उनले बताए ।



source https://www.onlinekhabar.com/2021/08/1004220

Post a Comment

0 Comments