Looking For Anything Specific?

Header Ads

कर्णालीका प्रमुख प्रतिपक्षी नेताले फिर्ता गरे गाडी

२३ जेठ, सुर्खेत । नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी फिर्ता गरेका छन् ।

महङ्गो गाडी चढ्ने हैसियत नभएको भन्दै नेता शाहीले बिहीबार प्रदेशसभामा उनले आफूले प्रयोग गर्दै आएको गाडी फिर्ता गरेको घोषणा गरेका थिए । उनले बिहीबार साँझ नै गाडी बुझाएको संसद सचिवालयले जनाएको छ ।

गरीब प्रदेशका मन्त्री, सांसदहरूले महङ्गा गाडी चढेको भनेर चौतर्फी आलोचना हुने र मुख्यमन्त्री, मन्त्री, सबैले गरीब प्रदेश भन्ने गरेपछि आफूले सुविधावापत पाएको गाडी फिर्ता गरेको उनको भनाइ छ ।  ‘गरीब प्रदेशका मन्त्री सांसदले महङ्गा गाडी चढ्ने भनेर आलोचना हुन थाल्यो । हामी आफैले गरीब प्रदेश भनिरहने महङ्गा गाडी पनि चढिरहने स्वभाविक लागेन,’ उनले भने, ‘त्यसैले मैले पाएको सुविधा फिर्ता गरेको हुँ ।’

संसदमा बोल्दै नेता शाहीले प्रदेशसभाका विभिन्न समितिका अध्यक्षलाई पनि गाडी दिने हैसियत प्रदेशको नभएको भन्दै सुविधा दिनै परेमा एक/एकवटा मोटरसाइकल दिनुपर्ने बताएका थिए । उनले कोरोना प्रकोपलाई मध्यनजर गर्दै सांसदले पाउँदै आएको निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि कटौती गर्न सरकारलाई प्रस्ताव गरे ।

सभामुखका लागि दुई करोडको गाडी किनेको र नागरिक गोठको क्वारेन्टिननमा बस्न बाध्य भएको भन्दै उनले मापदण्डविपरीत खरिद गरिएको भए सत्यतथ्य खोज्न सार्वजनिक लेखा समितिसँग आग्रहसमेत गरे ।



source https://www.onlinekhabar.com/2020/06/870493

Post a Comment

0 Comments