Looking For Anything Specific?

Header Ads

ट्रम्पसँग किन असन्तुष्ट छन् एप्पल, गुगल, अमेजन र टेस्ला ?

यो हप्ताको सुरुतिर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशीहरुका लागि अमेरिकाको वर्किङ भिसा निलम्बन गर्ने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरे ।

उक्त आदेशसँगै L-1 भिसा र H-1B भिसामा रोक लागेको छ । एल वान भिसा अन्तर्गत अमेरिकी बहुराष्ट्रिय कम्पनीहरुले अन्य देशका शाखामा कार्यरत कर्मचारीहरुलाई अमेरिका सरुवा गरी ल्याउन सक्दथे । त्यस्तै एच वान बी भिसाबाट अमेरिकी कम्पनीहरुले नयाँ विदेशी कामदार नै भर्ना गरेर ल्याउन पाउँथे । तर ट्रम्पको आदेशपछि अब अमेरिकी कम्पनीहरुले अमेरिका बाहिरका कम्पनीका शाखाहरुमा कार्यरत आफ्ना गैर अमेरिकी कर्मचारीहरुलाई अमेरिका सरुवा गर्न मात्र होइन नयाँ विदेशी कर्मचारी भर्ना गरेर अमेरिका ल्याउन समेत पाउने छैनन् ।

ट्रम्पले लागू गरेको यो नयाँ प्रावधानले सिलिकन भ्यालीका ठूला कम्पनीहरुलाई असर पर्ने देखिएको छ र उनीहरु राष्ट्रपतिको उक्त आदेशबाट सन्तुष्ट छैनन् ।

एप्पल सिइओ टिम कुकले ट्रम्पको उक्त घोषणाबाट आफु गम्भीर रुपमा निरास बनेको प्रतिक्रिया दिएका छन् । एक ट्वीट गर्दै कुकले भनेका छन्, ‘एप्पल जस्तै आप्रवासीहरुको यस मुलुकमा हाम्रो विविधता र आशा अमेरिकी सपना पूरा गर्ने एउटा शक्तिको रुपमा रहेको छ । यी दुबैको अभावमा कुनै नयाँ समृद्धि आउनेवाला छैन । यो घोषणाबाट गम्भीर रुपमा निरास भएको छु ।’

त्यस्तै गुगल तथा त्यसको छाता कम्पनी अल्फाबेटका सिइओ सुन्दर पिचाईले पनि विदेशी कामदार भिसामा रोक लगाउने ट्रम्पको कार्यकारी आदेशप्रति असन्तुष्टि जनाएका छन् ।

पिचाइले ट्वीटमा भनेका छन्, ‘आप्रवासनले अमेरिकाको आर्थिक सफलतामा ठूलो योगदान गरेको छ र सोही कारण अमेरिका प्रविधिको क्षेत्रमा विश्वको अगुवा बन्न सफल भएको छ । गुगल आज कम्पनीको रुपमा जहाँ छ, त्यसका लागि समेत आप्रवासनको देन रहेको छ । आजको यस घोषणाले निरास बनाएको छ । हामी सदैव आप्रवासीहरुको पक्षमा रहनेछौँ र सबैका लागि अवसरको विस्तार गर्न काम गरिरहने छौँँ ।’

त्यस्तै अमेरिकी कम्पनी टेस्लाका सिइओ इलोन मस्कले भिसाको पुनर्संरचना आवश्यक रहेको भएपनि पछिल्लो आदेशबाट गरिएको व्यापक रोकप्रति आफ्नो असहमति रहेको जनाएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘यस कार्यप्रति म अत्यधिक असहमत छु । मेरो अनुभवमा दक्ष आप्रवासीहरु आफैमा रोजगार सर्जकहरु हुन् । भिसाको पुनर्संरचना आवश्यक रहेको भएपनि अहिले गरिएको अति नै भयो ।’

त्यस्तै अमेजन कम्पनीले ट्रम्पको पछिल्लो आदेशलाई अदूरदर्शी भएको टिप्पणी गरेको छ । एक विज्ञप्ती जारी गर्दै अमेजनले उच्च सीपयुक्त विदेशीहरुलाई अमेरिका छिर्न तथा अमेरिकी अर्थतन्त्रको ‘रिकभरी’ मा योगदान दिनबाट बञ्चित गर्दा यसले अमेरिकाको विश्वव्यापी प्रतिस्पर्धितालाई संकटमा पार्दछ ।’

स्मरण रहोस् सन् २०१९ मा अमेजनले अहिलेसम्मकै धेरै एच वान बी भिसा प्राप्त गरेको थियो ।

पछिल्लो समय ट्रम्पका गलत टिप्पणीहरुप्रति कठोर बन्न नसकेको भन्दै आलोचित बनिरहेको फेसबुकले समेत नयाँ वर्किङ भिसामा विदेशीहरुलाई रोक लगाउने ट्रम्पको पछिल्लो आदेशको आलोचना गरेको छ ।

ट्रम्पले आप्रवासनलाई सिमित पार्नका लागि कोभिड–१९ महामारीलाई मौकाको रुपमा प्रयोग गरेको फेसबुकका प्रवक्ताले आरोप लगाएका छन् ।

उच्च सीप तथा क्षमतायुक्त विश्व जनशक्तिलाई अमेरिका बाहिरै राख्नुले वास्तवमा अमेरिकाको रिकभरीलाई झनै कठीन बनाउने उनको ठहर छ । उच्च दक्षतायुक्त विदेशी कामदारहरुले फेसबुक कम्पनीमा मात्र नभई अमेरिकाका अन्य कम्पनीहरुमा समेत नवप्रवर्तनका लागि महत्वपूर्ण भूमिका खेलेको भन्दै उनीहरुलाई बन्देज लगाउनुको साटो अमेरिका आउनका लागि झनै उत्प्रेरित गर्नुपर्ने बताएका छन् । एजेन्सी



source https://www.onlinekhabar.com/2020/06/876124

Post a Comment

0 Comments