हालै ललितपुर महानगरको १०५औं स्थापना दिवस कार्यक्रममा माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली युवा उर्वर जमिन बाँझो राखी विदेश पलायन भए भनी युवाहरूप्रति कटाक्ष प्रकट गरे ।
उता त्यही दिन २०८० मंसिर २ गते बिहानै वैदेशिक रोजगार विभागको ईपीएस शाखाले दक्षिणकोरिया जान चाहने श्रमिकका लागि आवेदन खुला गरिसकेको थियो । ५ दिनका लागि खुला गरेको उक्त आवेदनमा लगभग १६ हजार श्रमिक माग भएकोमा १ लाख ४३ हजार युवाले आवेदन दिए ।
देशको कार्यकारी प्रमुखले युवामा देशभक्तिको भावना भएन भनेर असन्तुष्टि प्रकट गर्दै गर्दा त्यसको पाँच दिनपछिसम्ममा करिब डेढ लाख युवाले देश छाड्ने इच्छा प्रकट गरे । त्यस्तै गत साउन अन्त्यतिर अर्थमन्त्री डा. प्रकाश शरण महतले एक अन्तरक्रिया कार्यक्रममा बोल्दै देशमा अथाह अवसर रहेको जिकिर गर्दै युवा पलायनको मुख्य कारण विदेश जानैपर्छ भन्ने युवाको मानसिकतालाई दोष दिए ।
तर दैनिक २ हजार देश छाड्ने युवाहरूको लगभग सबैको एउटै आवाज छ देशमा गरिखाने वातावरण छैन । युवा पलायनमा सरकार युवाको भावना र सोचलाई अनि पलायन हुने युवा चाहिं सरकारले निर्माण गर्न नसकेको वातावरणलाई दोष दिइरहेका छन् । त्यसोभए जिम्मेवार को होला त ? दोषी को होला त ?
सबैभन्दा पहिला हामी आफैंलाई प्रश्न गरौं, के हामीलाई हाम्रो परिवार र जन्मभूमिको माया लाग्दैन होला ? के हामीलाई हाम्रो माया गर्ने परिवारसँग सधैं सँगै बस्ने इच्छा हुँदैन होला ? प्रष्ट उत्तर हो- हुन्छ, छ । यो मानवीय गुण हो ।
सबैलाई आफ्नाको माया लाग्छ । आफ्नासँग सधैं बस्न मन लाग्छ । मानिसको मात्रै होइन पशुमा पनि यो गुण हुन्छ । त्यसोभए प्रचण्डको युवामा देशभक्तिको भावना मर्दै गएको भन्ने अभिव्यक्तिमा कुनै तुक छैन । यो विदेश पलायन हुने युवा रोक्ने कुनै ठोस कार्यक्रम ल्याउन नसकेपछिको दोषारोपण हो भन्ने कुरा पुष्टि हुन्छ ।
दोस्रो कुरा सोच र मानसिकता कहाँबाट आउँछ भन्ने कुरा पनि लगभग प्रष्टै छ । वातावरण र परिस्थितिले नै बन्ने हो । लहर पनि वातावरण र परिस्थितिकै उपज हो । फेरि सोचौं, हाम्रो देशमा गरिखाने वातावरण र परिस्थिति छ कि छैन ?
प्रचण्डले भने झैं खेतबारी बाँझो नराखी कृषि व्यवसाय गर्ने सोच राख्ने हो भने पनि धेरै आधारको जरुरत पर्छ । मुख्यतः सिंचाइ, पूँजी, यातायात र बजार । गत वर्ष नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले प्रस्तुत गरेको तथ्याङ्क अनुसार नेपालमा ३० प्रतिशत खेतीयोग्य जमिनमा मात्रै सिंचाइ छ ।
सिञ्चित जमिन कम भएकोले खाद्यान्न उत्पादन असहज भएको नार्कको भनाइ थियो । पूँजीको अवस्था झन् गम्भीर छ । कुनै बैंकमा साना व्यावसायिक ऋण लिन आम युवाका लागि एकदम कठिन छ । कि कुनै पार्टीको कार्यकर्ता कि प्रशस्त अचल सम्पत्तिको धनीले मात्रै सस्तो ब्याजदरमा ऋण लिन सक्ने अवस्था छ । बाँकी युवाले सहकारी वा लघुवित्तमा चर्को ब्याजदरमा ऋण लिनुपर्छ ।
यातायातमा केही सहजता भए पनि बजारको अवस्था उस्तै भयावह छ । अहिले मधेशको उखु किसान सडकमा उत्रिनु परेको छ । तोकिसकेको अनुदान पनि नपाउनाले किसानलाई घर खर्च चलाउन पनि गाह्रो छ । उखुको न्यूनतम मूल्य तोक्न सरकारले तीन हप्ता लगायो ।
उखुको न्यूनतम मूल्य आइसक्दा उखु बारीमै सुकिसकेको हुन्छ । दूध बेच्ने किसानले भुक्तानी नपाएको महिनौं भइसक्यो । काउली र बन्दामा उचित बजार मूल्य नपाएको गुनासो किसानमा उत्तिकै छ । यावत् कुरा झेलेर भए पनि केही युवाले परदेशबाट र्फकेपछि आफ्नै देशमा केही कोसिस नगरेका होइनन् ।
तिनीमध्ये अधिकांश व्यवसाय चौपट भएर फेरि विदेश नै फर्किन बाध्य छन् । एक आम युवाले सबै वातावरण र परिस्थितिलाई बदलेर जिउन त सक्दैन नि ! आम युवा मात्र होइन त्रिविबाट भर्खरै दीक्षित गोल्ड मेडलिस्टहरूको पनि प्रायःको यही मानसिकता छ ।
आम युवा त परिस्थिति बदल्न नसकेर विदेश पलायन भए तर देशलाई बदल्छु भनेर पदमा पुग्नेहरूले त सोच्नुपर्यो नि ! साँच्चै भन्नुपर्दा उहाँहरूसँग आम युवालाई विदेश पलायन हुनबाट रोक्न ठोस कार्यक्रम ल्याउनका लागि सोच्ने फुर्सद नै छैन ।
देशको कार्यकारी प्रमुख जस्तो जिम्मेवार व्यक्ति एक हप्तासम्म देश बाहिरको एकै देशमा भ्रमण गर्नुहुन्छ । सर्वहारा वर्गको आवाज उठाएर पदमा पुगेर सर्वहारा वर्गकै पसिनाको पैसा र महत्वपूर्ण समय विदेशमा घुमेर खर्च गरिरहेका हुन्छन् ।
चीनका राष्ट्रपति सी जिनपिङ नेपाल आउँदा सात घण्टा पनि बसेनन् । प्रधानमन्त्री एक हप्ता चीनमा रहँदा देशका सम्पूर्ण शिक्षक आन्दोलनमा थिए । नेपालका अब्बल फुटबलरहरू राष्ट्रिय खेलबाट संन्यास लिए र विदेश पलायन हुने सोच बनाए । अर्थमन्त्री, राष्ट्रिय सभाध्यक्ष जस्ता जिम्मेवार व्यक्तिहरू पनि विदेश घुम्नमै मग्न छन् ।
राज्यका जिम्मेवार व्यक्तिहरूले समयको सदुपयोग गरी देशको युवा रोक्ने कार्यक्रम सोच्ने र कार्यान्वयन गर्ने कार्य गरेमा विदेश पलायन हुने युवा रोकिनेथियो । तर फगत गफदेखि गफ, कुशासन र बेथितिलाई मात्र मलजल गरिरहने हो भने प्रधानमन्त्रीको गुनासो सुन्ने कोही पनि युवा देशमा बाँकी रहने छैनन् ।
नागरिकलाई दुःख छ र ? नागरिकलाई असुविधा छ र ? गोकर्णमा नातिनीको बिहे पनि गर्न नसक्ने अवस्था छ र ? भने जस्ता प्रश्न गर्दै विदेशिने युवालाई कटाक्ष गर्नुभन्दा प्रधानमन्त्री लगायत हाम्रा नेतृत्वले एकपटक ऐना हेरून् ।
(लेखक रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसमा स्नातक तहमा अध्ययनरत छन् ।)
source https://www.onlinekhabar.com/2023/12/1410683
0 Comments