Looking For Anything Specific?

Header Ads

महिला मात्रै किन दोषी ?

धेरै दिनदेखि, साउथ अफ्रिकाका प्रथम निर्वाचित राष्ट्रपति तथा काला जातिका तर्फबाट पहिलो राष्ट्रप्रमुख नेल्सन मण्डेलाको बारेमा केही लेख्न मन लागिरहेको थियो। पहिलो कारण, सन् २०२३ डिसेम्बर ३ तारिखको दिन मण्डेलाको निधन भएको १० वर्ष पुगेको छ; तापनि आजको दिनमा समेत मण्डेलाको राजनैतिक जीवन अनुकरणीय छ।

दोस्रो कारण, मण्डेलाले उनकी दोस्री श्रीमतीलाई पनि उनको पार्टीको नेताहरूले विभिन्न आरोप लगाए भनेर उनीसँग सम्बन्धविच्छेद गरे। यसको मतलब, राजनीति गर्ने व्यक्तिहरूले आफ्नी श्रीमतीलाई आरोप लाग्ने बित्तिकै छोडपत्र गरिहाल्नुपर्छ भन्ने आशय होइन। कुरोको चुरो यो हो कि श्रीमती, छोरी लगायतका महिला नातेदारलाई अगाडि सारेर आफ्नो स्वार्थपूर्ति गर्ने नेताहरूले आफू कहिलेसम्म चोखो भएर बस्ने ?

मण्डेला जति राजनैतिक रूपमा परिपक्व थिए, त्योभन्दा दोब्बर बढी पारिवारिक जीवनमा अन्यायी देखिन्छन् भन्दा अत्युक्ति नहोला। यो कुरा मनगढन्ते ढंगले लेखिएको होइन। मण्डेलाद्वारा लिखित, उनको आत्मकथा ‘लङ वाक टु फ्रिडम’ पढेर निकालेको निष्कर्ष हो।

दुई जनाको कुरा नमिलेर सम्बन्धविच्छेद गर्नु कुनै ठूलो कुरो होइन, तर उक्त पुस्तकमा व्यक्त गरिएका अभिव्यक्ति पढ्दा उनले अफ्रिकन नेशनल कंग्रेस र उनका अनुयायीहरूको आलोचना खप्न नसकेर विनी मण्डेलासँग छुट्टिएको हो कि जस्तो भान हुन्छ। होइन भने राजनीतिमा लागेपछि महिला या पुरुष सबैलाई अनेक लाञ्छना लागेकै हुन्छ।

नेल्सन मण्डेलालाई पनि हिंसात्मक आन्दोलन गरेको, हतियार भित्र्याएको आदि आरोप लागेकै हो र स्पष्ट रूपमा उनी आफैंले उक्त पुस्तकमा लेखेका छन् कि आफू संलग्न पार्टीको अनुमति विना नै उनले छुट्टै निकाय खडा गरेर चे–ग्वेभारा र माओको गुरिल्ला युद्धको अनुकरण गर्न खोजेको र त्यसका लागि हतियार पनि भित्र्याएको कुरो आफैंले लेखेका छन्। तर, विनीलाई २४ अप्रिल २००३ मा हतियार भित्र्याएको लगायत ४३५ वटा फ्रड गरेको र २५ वटा चोरीको मुद्दा लगाइयो।

हुनत, विनी पनि विवादास्पद कुरा गर्नमा अछुतो त थिइनन्। उनले सन् १९८६ अप्रिल १३ मा म्युन्सभिलमा दिएको भाषणमा ‘नेकल्यासिंग’ (रबर टायरमा पेट्रोल भरेर मानिसलाई जलाउने) लाई सपोर्ट गरेको कुरालाई लिएर ठूलो विवाद भएको थियो। पछि, सत्य निरुपण आयोगले पनि उनलाई सन् १९८० को पछिल्ला वर्षहरूमा मानिसहरूको अपहरण र हत्या गरेको आरोप लगाएको थियो। यसमा उनका बडीगार्ड जेरी म्युसिभि रिचार्डसन पनि मुछिएका थिए।

जे होस्, नेल्सन मण्डेलाको राजनैतिक जीवनलाई चारचाँद लगाउनमा विनी मण्डेलाको ठूलो हात छ भन्ने कुरा मण्डेलाकै लेखाइबाट पनि थाहा हुन्छ। मण्डेलाले आफ्नो आत्मकथामा लेखेका छन्– ‘मैले रबिन आइल्यान्डमा बिताएको दुई दशकको अवधिमा उनी (विनी मण्डेला) मलाई व्यक्तिगत रूपमा साथ तथा ‘कम्फर्ट’ दिने व्यक्ति थिइन्। … कम्रेड नोमाजामोले (विनी मण्डेला) हाम्रा सन्तानहरूलाई हुर्काउने ठूलो दायित्व आफैँले सम्हालिन्। … उनले तत्कालीन सरकारले उनीमाथि लादेको अनेक आरोपलाई पनि झेल्दै गइन्। तर, त्यसबाट उनी आफ्नो स्वतन्त्र संघर्षबाट कत्ति पनि विचलित भइनन्। उनको त्यो गुणबाट प्रभावित भएको कारणले मलाई उनीप्रति मेरो आदर, प्रेम र स्नेह रहिरहनेछ।’

सम्झँदा पनि मन रुने घटना विद्यादेवी भण्डारी जानकी मन्दिर पस्दा ‘विधवाले मन्दिर पसेर अलच्छिन लगाइदिएको’ भनेर जानकी मन्दिर चोख्याएको देखि लिएर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हिसिला यमीलाई एशियाकै भ्रष्ट महिला भनेर विवादमा ल्याएकोसम्म उदाहरण दिन सकिन्छ

नेल्सन मण्डेलाको उक्त भनाइको भावार्थ उनले १३ अप्रिल १९९२ मा साउथ अफ्रिकाको जोहन्सवर्गमा तत्कालीन पत्नी विनी मण्डेलासँग छुट्टिने निर्णय गरे पश्चात् प्रेस कन्फरेन्समा पढेर सुनाएका थिए। यी कुराहरू पनि सोही आत्मकथाबाट उद्धृत गरिएको हो।

विनीलाई पनि मण्डेला जेलबाट नछुटुन्जेल पार्टी समर्थकहरूले समर्थन नै गरेको देखिन्छ। आफ्नो जीवनको २७ वर्ष जेलमा बसेर पनि घरव्यवहार र पार्टीमा समेत सक्रिय रहेर आफ्नो श्रीमानको राजनैतिक जीवनलाई हरतरहले टेवा पुर्‍याएकी विनीको जीवन मण्डेला जेलबाट छुटेपछि त्यति सुखदायक देखिन्न।

सायद, संसारको जुनसुकै कुनामा पनि महिलाको त्याग र तपस्याको मूल्याङ्कन विरलै गरिन्छ र सबैतिर स्त्रीद्वेषी भीड महिलालाई दोष लगाउन तयार भएर बसेको हुन्छ। यसको उदाहरण नेपालमा पनि जताततै पाइन्छ। सम्झँदा पनि मन रुने घटना विद्यादेवी भण्डारी जानकी मन्दिर पस्दा ‘विधवाले मन्दिर पसेर अलच्छिन लगाइदिएको’ भनेर जानकी मन्दिर चोख्याएको देखि लिएर बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा हिसिला यमीलाई एशियाकै भ्रष्ट महिला भनेर विवादमा ल्याएकोसम्म उदाहरण दिन सकिन्छ।

पुरुषहरू त जतिसुकै ठूलो अपराध गरे पनि केही समयपछि नै चोखा भएर समाजमा स्थापित भइहाल्ने; महिलाहरूलाई भने, त्यही पुरुष संलग्न भएको अपराधमा खाए/नखाएको विषमा रुमल्लिरहनुपर्ने ? यस्तो पक्षपात कहिलेसम्म रहिरहने ?

नेल्सन मण्डेलाकै कुरा गर्दा, पारिवारिक जीवन एक हिसाबले असफल नै थियो भन्दा पनि हुन्छ। यसको खुलासा उनी आफैँ गर्दछन्, ’स्वतन्त्रता सेनानीहरूको पारिवारिक जीवन अस्थिर हुन्छ।’ उनले उक्त कुरा आफ्नी छोरी जिन्जीको विवाहमा भनेको भनेर आत्मवृत्तान्तमा लेखेका छन्।

उनी अगाडि लेख्छन्— ’हामी हाम्रा बच्चाहरूलाई हाम्रो सहयोग विना नै हुर्किएका देख्छौं। जब हामी आयौं, मेरा बच्चाहरूले भने, ‘हामीले सोचेका थियौं, हाम्रा एक बाबु छन् र उनी एक दिन फर्किएर आउनेछन्, तर उनी आएर पनि हामीलाई एक्लै छाडेर हिंडे। किनकि, अहिले उनी देशका पिता बनिसकेका छन्। देशको पिता हुन पाउनु ठूलो गर्वको कुरा हो तर परिवारको बाबु बन्न पाउनु भनेको खुसीको कुरो हो। तर त्यो खुसी पाउनु मेरो लागि टाढाको कुरो भइसकेको थियो।’

यसरी बाबुको भूमिकामा असफल देखिएका मण्डेलाको जीवन नैया त विनीले नै पार लगाइदिएकी थिइन्। मण्डेलाको आत्मकथामा ती सबै तथ्यहरू पढिसकेपछि यो मस्तिष्कमा ठूलो घनले ठोके झैं भयो।

कारण, ती कुराहरूले हिन्दु मिथकको ‘रामराज्य’को राजा रामको झझल्को दिलायो। जसरी राजा रामले आफ्नो राजनैतिक छविलाई टल्किएको ऐना झैं सफा राख्नका लागि गर्भवती सीतालाई त्यागेर वनमा पठाएका थिए, त्यसैगरी नेल्सन मण्डेलाले पनि जीवनभरि उनको लडाईंलाई साथ दिएकी विनी मण्डेलालाई त्यागिदिए र ‘भगवान्’ बने।

मण्डेलाकै बारेमा अरू एकाध फरक प्रसंग, मण्डेलाले ‘लङ्ग वाक टु फ्रिडम’मा लेखेका छन्— एउटा नेताको हैसियतले मैले सधैं सिद्धान्तलाई पछ्याएँ। पहिले मैले (त्यो कुरा) ‘ग्रेट प्लेस’मा ’रिजेन्ट’ले लागु गरेको देखें। मैले हरेक व्यक्तिले छलफलमा के के भन्छन् भनेर सुन्ने र त्यसपछि मात्रै आफ्नो विचार राख्ने गरें।

कतिपय समयमा मेरो विचारले ती सबैको भनाइहरूलाई प्रतिनिधित्व गर्दथ्यो। मैले सधैं ‘रिजेन्ट’को पथलाई सम्झें, उनको भनाइमा एउटा नेता भनेको भेडा गोठालो जस्तै हो। जो जहिले पनि बथानको पछाडि बस्दछ, सबैभन्दा उपयुक्तहरूलाई अगाडि पठाएर अन्य उनीहरूको पछि लाग्छन्। उसले त्यतिबेला यो पनि महसुस गर्दैन कि, उनीहरू पछाडिबाट निर्देशित भैरहेका छन्।

राजनैतिक इतिहासमा मण्डेलाका अनुयायीहरूको बिगबिगी होस्, यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। उनमा मानवीय गुण र अवगुण दुवैको मिश्रण भरपुर थियो। आजका पुस्ताले उनीबाट सिक्न सक्ने थुप्रै पाटा छन्

शब्द–शब्दको अर्थ नलागे पनि नेल्सन मण्डेलाले आफ्नो आत्मकथामा लेखेको वाक्यको भावार्थ यस्तै हुन आउँछ। उपरोक्त भनाइले उनको नेतृत्व गर्ने शैली कति सशक्त थियो भन्ने अनुमान लगाउन सकिन्छ। उनले त्यहाँ उल्लेख गरेको ‘रिजेन्ट’ भनेको उनको ‘कबिला’ थियो र ‘ग्रेट प्यालेस’ कबिलाको राजा बस्ने घर।

नेपालको सन्दर्भमा हेर्ने हो भने ‘भेडा’लाई राजनैतिक वृत्तमा नकारात्मक बिम्बको रूपमा उभ्याइन्छ र यहाँका नेताहरूले, आफ्ना ‘किचेन क्याबिनेट’ बाहेक अरूको कुरा सुन्छन् जस्तो पनि लाग्दैन।

मण्डेलालाई उनको बालककालमै अप्रत्यक्ष रूपमा राजनैतिक प्रशिक्षण प्राप्त भएको थियो। कारण, उनको जन्म ‘थेम्बु’ कबिलाको राजघरानामा भएको थियो र उनले नजिकैबाट नेतृत्व गर्ने कलालाई बालककालदेखि नै नजिकैबाट नियाल्ने मौका पाएका थिए।

उनको जीवनी पढ्दा लाग्छ, यदि उनको विवाह उनको परिवारले एउटी आकर्षण गर्न नसक्ने युवती (उनले यही शब्द प्रयोग गरेका छन) जो, कबिलाको सरकार सम्हाल्ने कुरामा चाख राख्दथिन्, उनीसँग तय नगरिदिएको भए उनी त्यहाँबाट भागेर हिंड्थे्/हिंड्दैनथे। यदि हिंड्दैनथे भने राजनीतिमा लाग्थे लाग्दैनथे! यो सम्भावनालाई ‘अनुमान’को बिल्ला मात्रै भिराउन सकिन्छ।

उनी कानुनको विद्यार्थी हुँदा तत्कालीन स्वतन्त्रता आन्दोलनमा संलग्न ओलिभर ताम्बुको निकट बन्न पुगे र त्यहींबाट उनको राजनैतिक भविष्यको खाका कोरियो। उनलाई राज्यले कम्युनिष्ट भएर सत्ता फाल्न खोजेको आरोप लगायो, र ऐतिहासिक ‘रिभोनिया ट्रायल′ मार्फत सन् १९६३ मा उनी समेत अफ्रिकन नेसनल कंग्रेसका आठ जनालाई दोषी ठहर्‍याएर जेल हाल्यो। उक्त मुद्दामा मण्डेलाले आफ्नो बहस आफैँ गरेका थिए। उनले त्यहाँ भनेका कुराहरू इतिहासमा स्वर्ण अक्षरले लेखिएको छ।

त्यसको एक टुक्रा यस्तो थियो, ’मैले गोरा जातिले जमाएको प्रभुत्वसँग लडें र काला जातिको प्रभुत्व विरुद्ध पनि लडें। …. मैले सधैं प्रजातान्त्रिक र खुला समाजको इच्छा राखें, जुन समाजमा सबै जना सँगसँगै समानता तथा खुशीका साथ बस्न सकुन्। …यसका लागि म मर्न परे पनि तयार छु।’ त्योभन्दा पहिले पनि राज्यले उनलाई पटक–पटक मुद्दा लगाएको थियो।

त्यस बीचमा उनलाई सिध्याउन राज्यले अनेकौं षडयन्त्र रच्यो। उनकी तत्कालीन पत्नीमाथि अनेक अत्याचार गरियो। उनको आमाको देहान्त हुँदा होस् वा परिवारका अन्य दुःखद् घटना आइपर्दा वा खुशीका क्षणहरूमा उनी कहिल्यै परिवारको साथमा हुन पाएनन्। तर उनी हारेनन्, संघर्ष गर्दैरहे।

जेलभित्रै बसेर कानुनका किताबहरू पढिरहे। जेलरले थाहा नपाउने गरी अन्य कैदीहरूलाई कानुनी सल्लाह प्रदान गर्दै रहे।

जेलबाट छुट्नुभन्दा अगाडि तत्कालीन गोरा सरकारसँग गर्न लागिएको ‘नेगोसिएसन’ पनि सुरुमा उनको एक्लो निर्णय थियो। त्यसको खाका कोरिसकेपछि मात्रै उनले आफ्ना अन्य साथीहरूलाई जानकारी गराएका थिए र अन्त्यमा, उनी २७ वर्षको बन्दी जीवनबाट रिहा गरिए।

मण्डेलासँग लिनुपर्ने अर्को महत्वपूर्ण पाठ शान्ति कायम गर्न शत्रुसँग पनि सहकार्य गर्न पछि हट्नुहुँदैन। उनले रङ्गभेदको पक्षधर साउथ–अफ्रिकाका सातौं तथा अन्तिम राष्ट्रपति एफ डब्ल्यु डी क्लर्क, जसको विरुद्धमा उनी स्वतन्त्रताको लडाईं लडिरहेका थिए, उनलाई र आफूलाई सन् १९९३ को शान्तिका लागि नोबेल पुरस्कार दिएपछिको आफ्नो मनमा उठेको तर्कनालाई दुनियाँ सामु यसरी राखेका छन्, ’मलाई अक्सर मानिसहरू सोध्छन्, मैले कसरी मिस्टर क्लर्कसँग संयुक्त रूपमा पुरस्कार लिन राजी भएँ, जबकि, मैले उनको बारेमा धेरै नकारात्मक टिप्पणी गरेको थिएँ भनेर। हुनत म अहिले पनि ती टिप्पणीहरूलाई कायमै राख्दछु, तापनि म भन्न सक्छु, उनले शान्ति प्रक्रियामा गम्भीर भूमिका निभाएका थिए। … यदि शान्तिको कामना गर्ने हो भने, शत्रुसँग पनि मिलेर काम गर्नुपर्छ।’

यी त भए विश्वकै ‘राजनेता’को रूपमा स्थापित व्यक्तिको राजनैतिक सुझबुझको एउटा सानो झलक। उनको राजनैतिक जीवनको बारेमा हामी जस्ता आला–काँचाले बोल्नु वा मूल्यांकन गर्नु भनेको सूर्यलाई दियोको उज्यालो देखाउनु जस्तै हो। उनले देशका लागि गरेको त्यागले उनलाई विश्वकै धरोहरको रूपमा परिचित गरायो।

राजनैतिक इतिहासमा मण्डेलाका अनुयायीहरूको बिगबिगी होस्, यही नै उनीप्रतिको सच्चा श्रद्धाञ्जली हुनेछ। उनमा मानवीय गुण र अवगुण दुवैको मिश्रण भरपुर थियो। आजका पुस्ताले उनीबाट सिक्न सक्ने थुप्रै पाटा छन्।



source https://www.onlinekhabar.com/2023/12/1412666

Post a Comment

0 Comments