Looking For Anything Specific?

Header Ads

छोरी, तिमीले सोचेजस्तो सत्य र सुमधुर छैन यो संसार

बार्बी भन्छिन्, ‘मलाई प्लाष्टिकको गुडिया होइन, मान्छे भएर बाँच्नुछ ।’

यतिबेला उनको अघिल्तिर रुथ ह्यान्डलर छिन् । रुथ उनै हुन्, जसले छ दशकअघि फेसन डल ‘बार्बी’ को अवधारणा बनाइन् । त्यसयता हरेकलाई आफ्नो बाल्यकालमा फर्काउने मायालु खेलौना बन्यो यो ।

गुडियाको बजारमा बार्बीको उदय त्यसबेला भयो, जतिबेला दुनियाँभरका लालाबाला ‘बेबी डल’ खेलाउँदै हुर्किरहेका थिए । त्यो बेबी डललाई उनीहरुले आफ्नो काखमा राख्थे, कोक्रोमा हल्लाउथे, लिटो खुवाउथे, थाङ्ना धोइदिन्थे, दूध चुसाउँथे । अर्थात हाम्रा कलिला छोरीहरू आमा वा गृहणी बनेर खेल्थे । किनभने खेल्नका लागि उनीहरुसँग त्यही ‘बेबी डल’ जो थियो ।

तर, बार्बी कुनै ‘बेबी’ (शिशु) थिइनन्, जसलाई खुब स्यहारसुसार गरेर हुर्काउन परोस् । उनी त हाम्रा सानी छोरीहरु भन्दा पनि ठूली थिइन् । हलक्क बढेकी । चिरिच्याट्ट परेकी । जवानीले मस्त खुलेकी । उनी मोडल थिइन् । किसान थिइन् । पाइलट थिइन् । नर्स थिइन् । कामदार थिइन् । मोटी, गोरी, काली, पातली । सबै थिइन् । सबैमा एक थिइन्, बार्बी ।

हाम्रा कलिला छोरीहरुका लागि उनी फगत खेलौना थिइनन्, रोल मोडल थिइन् ।

अब हाम्रा छोरीहरुको ‘रोल’ पनि फेरियो । कहिले आर्मी बनिन्, कहिले अन्तरिक्ष यात्री । कहिले ड्राइभर बनिन्, कहिले डकर्मी । कहिले गायक बनिन्, कहिले गाइनोकोलोजिस्ट ।

उनीहरुले बाँच्ने धर्ती फराकिलो भयो । उनीहरुले अग्लिने आकाश अनन्त भयो ।

हाम्री छोरीहरु गृहणी मात्र रहिनन् ।

जब गुडियाले दुःख मनाउ गरे 

अमेरिकी खेलौना उत्पादक कम्पनी म्याटेलले त्यही ‘बार्बी’लाई प्लाष्टिकको आवरणमा चिटिक्क पारेर बिक्री गरेको गर्‍यै छ, अर्बौंको अंकमा । खेलौनाको बजारमा बार्बी उत्कर्षमा छिन् । तर, यसका आविष्कारक रुथ ह्यान्डलरले यो संसारबाट बिदा लिइसकिन् ।

आत्माकै रुपमा सही, एकदिन आफ्नी जननी रुथसँग बार्बीको भेट हुन्छ । बार्बी अब खेलौना बनेर बेचिन तयार छैनन् । रुथ ह्यान्डलर सामुन्ने उनी बिलौना गर्छिन् ‘म मान्छे बन्न चाहन्छु ।’

तब बार्बीलाई सम्झाउने हेतुले रुथ भन्छिन्, ‘मान्छे भएपछि त मर्नुपर्छ । मान्छेहरु मर्छन् । तर, आइडिया (उसको सिर्जना) सधैंसधैंका लागि बाँचिरहन्छ ।’

बार्बी जवाफमा भन्छिन्, ‘मलाई मान्छे बन्नुछ । आइडिया होइन ।’

गुलाबी लोकका उन्मुक्त बार्बी

बार्बीलाई आफूसँग कुनै गुनासो थिएन, जतिबेला उनी गुलाबी लोकमा सुख-चैनको जीवन बिताइरहेकी थिइन् । त्यहाँ झेल थिएन, त्यहाँ छल-कपट थिएन, त्यहाँ प्रतिस्पर्धा थिएन, त्यहाँ हेलाहोचो थिएन, त्यहाँ स्वार्थ थिएन, त्यहाँ हिंसा थिएन, त्यहाँ लोभ थिएन ।

बार्बी हाँस्थिन्, खेल्थिन्, रमाउँथिन् । आफ्नो मर्जीको जीवन बाँच्थिन् । त्यहाँ उनको पुरुष मित्र केन थिए । केन एउटै खुसीमा बाँचेका थिए, बार्बीको प्रेमिल मुस्कान । वश, यति भए केनलाई केही चाहिएकै थिएन ।

किनकि, त्यो बार्बीको संसार थियो । बार्बी अर्थात गुडिया ।

एकदिन अचानक मृत्युको आभास भयो 

रुथ सही छिन्, ‘आइडिया सधै बाँचिरहन्छ ।’ तर, उनको आइडिया उर्फ बार्बीलाई एकदिन मृत्युको आभाष भयो ।

त्यस बिहान निद्राबाट ब्युँझदा उनको जीवन त्यस्तै थिएन, जस्तो हिजो–अस्ति थियो । उनी हावामा कपास झै उड्न सक्दैन थिइन् । आफ्नो नित्यकर्म ठीक–ठीक ढंगले गर्न असमर्थ थिइन् । हाइ हिल स्यान्डलमा अभ्यस्त उनको पैतला पूर्ववत् स्थितीको थिएन, स्यान्डल खोल्नसाथ उनको कुर्कुचा धर्तीमा टेक्न पुग्यो । बार्बीको स्वप्निल दुनियाँ अब गडबड हुँदै थियो । आखिर यस्तो किन भयो ?

एक विचित्र बार्बीले यसको भेद खोलिदिइन्, ‘वास्तविक दुनियाँमा एक बालिका छिन्, जो बार्बीको कारण दुःखी छिन् ।’

अन्ततः बार्बी उक्त बालिकाको दुखेसो सुन्नका लागि गुडियाको लोकबाट मान्छेको संसारमा जानुपर्ने भयो । जब बार्बी गुलाबी कारमा चढेर जादै थिइन्, उनको पछि लागे केन पनि ।

गुडियाको जस्तो स्वप्निल छैन सांसारिक जीवन

गुडियाको जस्तो चिटिक्क छैन, सांसरिक लोक । यो विकार र विसंगतीले थिलथिलो छ । मान्छे स्वाङ र ढोंगमा रमाइरहेका छन् । स्वार्थ र सुखको मोहमा हानथाप गरिरहेका छन् । यहाँ उल्कै विभेद छ । पितृसत्ताले सर्वत्र कब्जा जमाएको छ ।

बार्बीले देखिन्, उनको गुलाबी लोकमा जस्तो यहाँ सबै उन्मुक्त रमाइरहेका छैनन् । यहाँ उमंगको मेला छैन ।

बार्बी डल निर्माण गर्ने कम्पनीलाई थाहा हुन्छ, बार्बी वास्तविक संसारमा बरालिदैछिन् । तब उनीहरुले बार्बीलाई पक्राउ गर्छन् र आफ्नो शानदार कार्यलयमा पुर्‍याउँछन् । छोरीहरुको खेलौना बनाउने त्यो भव्य कम्पनीमा किन कुनै पनि महिला अधिकारी छैनन् ? बार्बी निरुत्तर छिन् ।

बार्बीले ती बालिकालाई पनि भेटेकी थिइन्, जो उनकै कारण दुःखी छिन् । ‘किन ?’ बार्बी सोध्छिन् । बालिका भन्छिन्, ‘तिम्रो रुपरंग वास्तविक छैन । तिमीलाई खेलाउने हरेक छोरी तिमीजस्तै हुन चाहन्छ, तर त्यो सम्भव छैन । किनकी मान्छे गुडिया जस्तो परिपूर्ण हुनै सक्दैन ।’

पितृसत्ताले निर्धारण गरिदिएको आफ्नो जिउडालले आखिरमा बार्बी स्वयम्लाई दुःखी तुल्याउँछ ।

जब केनमा पितृसत्ताको धङधङ्ती चढ्यो

पाइन्ट किन्दा बेल्ट सित्तैमा भनेजस्तै थियो, केन ।

रहरलाग्दो बार्बीको प्याकेज खरिद गर्दा सित्तैमा पाइन्थ्यो-पाइन्छ, केन । तर, जब बार्बीलाई पछ्याउँदै केन वास्तविक दुनियाँमा आइपुगे, उनलाई आफ्नो पुरुषत्वको ख्याल आयो । उनले देखे पनि, भोगे पनि । वास्तविक दुनियाँमा त पुरुषकै हालिमुहाली छ । अब बार्बीको गुलाबी दुनियाँमा आफ्नो हैकम चलाउने मनासय पलाउँछ, केनमा । उनी वास्तविक दुनियाँबाट टाप ठोक्छन् ।

घुम्दै–फिर्दै बार्बी भने उनैसँग ठोक्किन आइपुगेकी छिन्, जसले गुडिया उत्पदक कम्पनीमा बार्बीको ड्रेस डिजाइन गर्छिन् । संयोग कस्तो भने, बार्बीको कारण जुन बालिका दुःखी थिइन् उनी सोही डिजाइनरकी छोरी रहिछन् । अब यी तीनै जना बार्बी लोकका लागि प्रस्थान गर्छन् ।

बार्बी एकदमै उत्साहित थिइन् आफ्नो सौम्य संसार देखाउनका लागि । तर, त्यस्तो भएन । जसै उनीहरु बार्बीको गुलाबी लोकमा पुगे, त्यहाँ पुरुषहरुको रजाइँ सुरु भइसकेको थियो । र, यसको केन्द्रमा उही थिए, केन ।

आफ्नो गुलाबी लोकमा अचानक पुरुषहरुले तान्डव देखाउन थालेपछि बार्बी को हालत के हुन्छ ?

जसोतसो बार्बीले आफूलाई सम्हाल्छिन् । र, पूर्ववत् संसार विर्निमाण गर्ने यत्नमा लाग्छिन् । तर, के उनका लागि यो काम सजिलो छ ?

छोरी संसार त्यस्तो छैन, जस्तो तिमी ठान्छौ

त्यसबेला उनको आँखा आँसुले डम्म भरियो, जब हामीले केही सत्य उद्घाटन गरिदियौं । हामीले जिस्काउँदै भनेका थियौं, ‘छोरीले त हामीलाई छाडेर जान्छे ।’

आँखाको चालमा उनको अवोध प्रश्न थियो, ‘किन ?’

हामीले ठट्टामै भनिदिएका थियौं, ‘किनभने तिम्रो बिहे हुन्छ । बिहे भएपछि बुढाको घर जानुपर्छ ।’

अब उनी भक्कानिएकी थिइन्, बिहे गर्दिन भन्दै । ‘म कतै जाँदिन’ यसो भन्दै उनी रोएकी थिइन् । तर, सत्य कति कठोर छ । एकदिन त उनले आमाको काख र बुवाको काँध त्याग्नैपर्छ । अनि कुनै विरानो परिवेशमा फेरि आफ्नो जीवनको अर्को अध्याय सुरु गर्नुपर्नेछ ।

छोरी स्कुलबाट फर्कंदा आँखाभरी आँसु थियो । ‘के भयो ?’ हामीले सोध्यौं । कतै बाटोमा एउटी सुत्केरी कुकुरलाई तातो पानी खन्याएर घाइते बनाइदिएछ । त्यो सुत्केरी कुकुरलाई कति पोल्यो होला ? आखिर त्यो अवोध प्राणीले मान्छेको के बिगारिदिएको थियो ? स‍म्भवत: यस्तै भावनाले छोरीको मन रोयो ।

एकदिन छोरीले जिद्दी गरिन्, ‘अब म स्कुल जान्न ।’ हामीले कारण खोज्यौं । ‘टिफिन टाइम’मा उनलाई सञ्चो भएन । साथीहरुसँग खेल्ने जाँगर थिएन । आफ्नै कपीमा चित्र कोर्दै बसिन् । चित्र बनाउँदै, मेट्दै गर्दा कपी च्यातियो । म्याम आइपुगिन् । उनले हिटलर शैलीमा गाली गर्दै भनिन्, ‘कपी किन च्यातेकी ?’

छोरीले यर्थाथ बताइन् । म्यामसँग त्यो कुरा सुन्ने धैर्यता थिएन । उनले सबैको सामुन्ने सजाय दिइन् । ती अबोध छोरीसँँग यतिबेला आफ्नो दुःख विसाउने एउटै साथी थियो, आँसु ।

छोरीलाई हामीले सधैं सुखमा राख्न चाह्यौं । घरभित्र उनको आफ्नै संसार थियो । त्यहाँ उनको मर्जी चल्थ्यो । हामीले भूल गर्‍र्यौं, उनलाई रुन नसिकाएर । हामीले भूल गर्‍यौं, उनलाई दुःख नदिएर । किनकी घरबाहिरको संसार उनले खेल्ने गुडियाको जस्तो प्रेमिल थिएन । मधुर थिएन ।

हामीले भन्नुपर्थ्यो , ‘छोरी वास्तविक संसारमा तिमीले रुनु पर्छ । किनकि त्यहाँ तिमीलाई धेरैले धेरै पटक रुवाउनेछ । त्यहाँ सत्य मात्र छैन । जालझेल, छलकपट, प्रतिस्पर्धा सबै छ । त्यहाँ तिमीले जुध्नुपर्छ । तिमीले कल्पना गरेजस्तो गुलाबी छैन यो संसार ।’



source https://www.onlinekhabar.com/2023/08/1345354

Post a Comment

0 Comments