Looking For Anything Specific?

Header Ads

महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग खेल्दै

६ मंसिर, काठमाडौं । यूएईमा सुरु हुने आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा नेपालले आज हङकङसँग पहिलो खेल खेल्दैछ ।

ग्लोबल छनोटमा पुग्ने लक्ष्यसहित यूएई पुगेको नेपालले पहिलो खेल जित्दै सुखद सुरुआत गर्ने योजनामा छ । खेल नेपाली समय अनुसार बिहान ११ : १५ बजे दुबईस्थित आईसीसी एकेडेमी मैदानमा हुनेछ ।

सन् २०२३ मा दक्षिण अफ्रिकामा हुने टी-२० विश्वकपको रोडम्यापको रुपमा रहेको एसिया क्षेत्रको छनोटमा कुल ६ टिमले प्रतिस्पर्धा गर्दैछन् । सिंगल राउण्ड रोविन खेलपछि शीर्ष स्थानमा रहने टिम सिधै ग्लोबल क्वालिफायरमा पुग्नेछ । छनोटमा नेपाल र हङकङसहित यूएई, मलेसिया, भुटान र कुवेतले प्रतिस्पर्धा गर्नेछन् ।

नेपालले दोस्रो खेल मंसिर ७ गते भुटानसँग खेल्नेछ भने मंसिर ९ गते कुवेत, मंसिर १० गते मलेसिया र मंसिर १२ गते युएईसँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले सन् २०१९ मा टी-२० विश्वकपकै लागि एसिया छनोटमा हङकङसँग खेलेको थियो । उक्त खेल नेपालले ४ विकेटले जितेको थियो । यसपटक पनि नेपाली सोही लयलाई कायम राख्दै जित हात पार्ने योजनामा रहनेछ ।

छनोटको तयारी स्वरुप नेपालले बंगलादेशमा एक साता भ्रमण गरेको थियो । जहाँ नेपालले त्यहाँको स्थानीय टोली बिकेएसपीसँग तीन अभ्यास खेल खेलेको थियो । उक्त मैत्रीपूर्ण सिरिज नेपालले २-१ ले जितेको थियो ।

यस्तै यूएई जानुअघि नेपालले कतारसँग पहिलोपटक टी-२० अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो । तीन खेलको उक्त सिरिज नेपालले क्लिन स्वीप गरेको थियो । जहाँ कप्तान रुबिना क्षेत्री, सीता राना मगर र इन्दु बर्माले उक्तृष्ट प्रदर्शन गरे । तीनै खेलाडीले अर्धशतक प्रहार गरेका थिए ।

नेपाली टिम

रुबिना क्षेत्री (कप्तान), सीता रानामगर, डली भट्ट, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर, ज्योती पाण्डे, सरस्वती चौधरी, काजल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी, रोमा थापा र संगीता राई ।



source https://www.onlinekhabar.com/2021/11/1042137

Post a Comment

0 Comments