Looking For Anything Specific?

Header Ads

नक्कली जग्गा धितो प्रकरण : कुमारीले राष्ट्र बैंकलाई किन जानकारी गराएन ?

६ मंसिर, काठमाडौं । नक्कली जग्गा धितोमा कुमारी बैंकले १९ करोड रुपैयाँ लगानी गरेको पाइएपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो र केन्द्रीय बैंकले छुट्टाछुट्टै अनुसन्धान गरिरहेका छन् ।

प्रहरीले धितो मूल्यांकनकर्ता र बैंकका केही कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ भने राष्ट्र बैंकले बैंक सुपरीवेक्षण विभाग मातहत छानविन समिति बनाएर अनुसन्धान गरिरहेको छ ।

राष्ट्र बैंकका सहायक प्रवक्ता नारायण पोखरेलका अनुसार नक्कली धितोमा कर्जा प्रवाह भएको विषयमा बैंकले कुनै जानकारी गराएको छैन । ‘हामीले सञ्चारमाध्यममा आएपछि मात्रै जानकारी पाएका हौं, विषय बाहिर आएपछि अनुसन्धान भइरहेको छ,’ उनले भने ।

बैंक तथा वित्तीय संस्थाको नियमनकारी निकाय भएको यो विषय जानकारी पाएपछि कुमारी बैंकले केन्द्रीय बैंकलाई जानकारी गराउनु पर्ने थियो । बैंकले यो विषयमा राष्ट्र बैंकलाई जानकारी नगराएपछि कतै बैंकका उच्च पदस्थ अधिकारीकै संलग्नता छ की भन्ने आशंका उब्जिएको छ ।

तर बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमल्सिना जनताको पैसा डुब्नु हुँदैन भन्ने कुरामा बैंक सचेत रहेको बताउँछन् । सर्वसाधारणको रकमबाट बैंकहरु चल्ने हुन् । पैसा नडुबोस् भनेर बैंकहरुले कर्जा दिंदा धितो सुरक्षण गर्ने हुन् । कर्जा उठ्न नसक्ने अवस्थामा बैंकले धितो लिलाम गरेर कर्जा असुल उपर गर्ने हो । तर धितो नै नक्कली भएकाले कुमारी बैंकको १९ करोड रुपैयाँ डुब्ने जोखिम थियो । यद्यपि बैंकले आफ्नो १९ करोड भने उठाएको छ ।

बैंकका नायव सीईओ तिमल्सिना पहिले अरु भन्दा सर्वसाधारणको पैसा जोगाउने तर्फ बैंकले ध्यान दिएको सुनाउँछन् । ‘हामीले राष्ट्र बैंक वा सीईबीलाई जानकारी गराउनु पर्छ भनेर पहिले सोचेका थियौं, तर पहिले नै हल्ला हुँदा अर्को समस्या हुने थियो त्यसैले हामीले सतर्कता अपनायौं,’ उनले भने, ‘सबैभन्दा पहिले हामीले पैसा डुब्न दिएनौं त्यो हाम्रो कर्तव्य पनि हो, यहाँ गलत नियत भनेर शंका गर्ने ठाउँ नै छैन ।’

गायक योगेश्वर अमात्यको उजुरीको आधारमा छानविन थालेको सीआईबीले अहिले ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा बैंकको बारा शाखाका ऋण अधिकृत सोनु ठाकुर, मूल्यांकनकर्ता राजेश चौरसियासहित नक्कली जग्गा धनी बन्ने एसके महर्जन, मुक्तिलाल गौतम र विचौलिया कुसुम प्रधान छन् ।

बैंकले ढिलै भएपनि प्रहरीलाई यो विषयमा जानकारी भने गराइसकेको छ । यसबारे बैंकले राष्ट्र बैंकलाई पनि सत्यतथ्य बताइसकेको बताएको छ ।

सीईओको भूमिका के हो ?

कुमारी बैंकले राष्ट्र बैंकलाई जानकारी नगराएको कारण कार्यवाहक सीईओको जिम्बेवारीमा रहेका तिमल्सिनाप्रति नै राष्ट्र बैंकले शंका गरेको थियो । तर यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ ।

ऋण बैंकको न्यूरोड शाखाबाट प्रवाह भएको हो भने मूल्यांकनका लागि बाराको शाखाले काम गरेको थियो । सबै प्रक्रिया सकेर फाइल मात्रै केन्द्रीय कार्यालयमा पुग्ने भएकाले यहाँ शंका गर्ने ठाउँ नै नरहेको बैंक बताउँछ । ‘कागजातहरु सबै तयार भएर आएका थिए, मालपोतबाट रोक्का भएको कागज समेत पेश भएको थियो,’ सीईओ तिमल्सिना भन्छन्, ‘सबै तल गएर हेर्ने कुरा आउँदैन, यहाँ कागजातहरु सबै हेर्दा ठिक थियो तर सबै नक्कली बनाएर ल्याएको रहेछ ।’

दोषिलाई कारबाही हुनुपर्छ भन्ने पक्षमा अहिले बैंक पनि रहेको छ । तर कुर्सीमा बसेकै कारण कसैले गरेको बद्मासीको सजाय निर्दोष व्यक्ति वा संस्था हुन नहुने बैंकका अधिकारीहरु बताउँछन् ।



source https://www.onlinekhabar.com/2021/11/1042178

Post a Comment

0 Comments