Looking For Anything Specific?

Header Ads

मनुस्मृति, शूद्र (दलित) र समाधान

इतिहास

कथित उच्च जातका व्यक्तिहरू (सबैले होइन) ले २१ औं शताब्दीमा पनि दलितहरूलाई किन पशुलाई भन्दा तुच्छ व्यवहार गरिरहेका छन् ? संविधान र कानुनले बर्जित गरे पनि किन छुवाछूत र भेदभाव गरिरहेका छन् ? मानव हत्यासम्मको अपराध किन गरिरहेका छन् ? वास्तवमा यसको जरो खोज्दै जाँदा हामी हिन्दू धर्मशास्त्र वेद, पुराण, मनुस्मृतिसम्म पुग्नुपर्ने हुन्छ ।

“दक्षिण एशियाली उपमहाद्वीपमा करिब ३५०० वर्षदेखि नै हिन्दू वर्णव्यवस्था लागू हुँदै आएको छ । यही हिन्दू वर्णव्यवस्थालाई व्यवस्थित गर्न इ.पू. ६०० भन्दा अगाडिसम्म नै छुवाछूत प्रथा लागू गरियो” (आहुति) ।

नेपालमा सन् २०० मा भारतको वैशालीबाट आएका लिच्छविहरूले शासन चलाउने क्रममा काठमाण्डौं उपत्यकामा ‘चार वर्ण अठार जात’ को वर्णव्यवस्था सुरु गर्दै सन् ६०० सम्ममा छुवाछूत समेत लागू गरेको देखिन्छ । लिच्छवि शासनपछि मल्ल शासनकालमा जयस्थिति मल्ल (सन् १३६०-१३९५) ले काठमाडौको समाजलाई ‘चार वर्ण चौसट्ठी जात’ को व्यवस्था गरी छुवाछूतलाई थप मजबुत बनाउने काम गरे (आहुति) । त्यसैगरी गोरखाका राजा राम शाह (सन् १६०५-१६६०) ले ‘चार जात छत्तीस वर्ण’ को छुवाछूतसहितको व्यवस्था लागू गरे ।

राम शाहका सन्तान पृथ्वीनारायण शाहले नेपाललाई ‘असिल हिदूस्थान’ बनाउने योजनासहित गोरखा राज्य विस्तार थाले । त्यसै क्रममा १८२५ सालमा काठमाडौ विजय गरिसकेपछि शाहले राज्यसत्ता टिकाउन छुवाछूतसहितको संस्कृति नेपाली समाजमा व्यवस्थित पार्दै लगे । यसरी धार्मिक आडमा गरिँदै आएको छुवाछूत-भेदभावलाई १९१० सालमा लागू गरिएको ऐनले कानुनी रुपमै मजबुत पार्ने काम गर्‍यो भने दलित समुदायभित्र पनि ठुलो-सानो जातीय बिभाजन गरी छुवाछूत-भेदभावलाई थप सशक्त र व्यापक बनायो (किसान २०५८ र आहुति २०६२) । जातिपातीको बिषयमा जङ्गबहादुरले बनाएको ऐनले कट्टरपन्थी धार्मिक विचारलाई झन कट्टरतापूर्वक समाजमा कायम गरायो (राजेन्द्र महर्जन/डा. यामबहादुर किसान) ।”

संविधान र वर्तमान

नेपालको संविधान २०७२ ले ‘मनुस्मृति’को त कुरै छाडौं, जयस्थिति मल्लको ‘चार वर्ण चौसट्ठी जात,’ राम शाहको ‘चार जात छत्तीस वर्ण’ र जङ्गबहादुरको मुलुकी ऐन कसैलाई पनि चिन्दैन । जातपातजन्य भेदभाव र छुवाछूतलाई ‘गम्भीर सामाजिक अपराधको रूपमा कानुन बमोजिम दण्डनीय’ मान्छ हाम्रो संविधानले । तर विडम्बना ! नेपाली समाजका कथित उच्च जातका व्यक्ति (सबै होइन) हरू आज पनि ‘मनुस्मृति’ लाई नै देशको संविधान र कानुन मानेर हिँड्न खोजेको देखिन्छ ।

गंगा मानव

जसको पछिल्लो उदाहरण रूकुम पश्चिमको चौरजहारीमा नवराज बिकलगायत ६ जना युवाहरूको ज्यान जाने गरी भएको घटनालाई लिन सकिन्छ । विवाह गर्ने उद्देश्यले प्रेमिकालाई लिन जाँदा कथित उच्च जातको अहंकारले अन्धो बनेका प्रेमिकाको घरपरिवार, समाज, जनप्रतिनिधिसम्मको मिलेमतोमा दलित भएकै कारण नवराज र उनका साथीहरू कुटिएर मारिनुपर्‍यो । यस्ता घटनाहरू समाजमा बारम्बार दोहोरिरहेका छन् । दलितहरूले कथित उच्च जातबाट कहिले मन्दिर पसेको नाममा, कहिले चियाको जूठो गिलास नमाझेको नाममा, कहिले समयमा ॠण नतिरेको अभियोगमा, कहिले ‘ठूलाबडा’ लाई धनुषटंकार नमस्कार नगरेको नाममा अपमानित मात्रै होइन, शारीरिक यातनासमेत ब्यहोरिरहेका छन् । मारिइरहेका छन् ।

छुवाछूत-भेदभावविरुद्ध नेपालमा दलित समुदायले पटकपटक संघर्ष गर्दै आएका छन् । गैरदलित समुदायले दलित समुदायले उठाएका मागलाई समर्थन गर्दै संघर्षमा सहभागी पनि बनेका छन् । कतिपय बेलामा गैरदलित समुदायले छुवाछूत-भेदभावका विरुद्ध आवाज उठाउँदै आएका पनि छन् । यी सबै संघर्षगाथाको व्यवस्थित अभिलेखिकरण राजेन्द्र महर्जन र डा. यामबहादुर किसानले सम्पादन गरेका ‘दलनविरुद्ध प्रतिरोध‘ ग्रन्थमा पढ्न पाइन्छ । यस आलेखमा त्यसबारेमा उल्लेख गरिने छैन । यहाँ  दक्षिण एशियाली उपमहाद्वीपमा ‘मनुस्मृति’ नामक संहिता लेखेर मनुले कसरी छुवाछूत-भेदभावलाई व्यवस्थित गरे ? त्यस बिषयमा केन्द्रित हुनेछ ।

मनुस्मृति र शूद्र

शूद्रबारे विभिन्न हिन्दु धर्मशास्त्रहरूमा मूलतः नकारात्मक कुराहरू नै लेखिएका छन् । सबैभन्दा व्यवस्थित र नीच ढंगले शूद्रको बारेमा लेखिएको धार्मिक ग्रन्थचाहिँ ‘मनुस्मृति’ हो । यस ग्रन्थले शूद्रको उत्पत्ति (जन्म), न्वारान, भाषा, शिक्षा, प्रेम, विवाह, यौन, कानुन, धर्म, सम्पत्ति, कर्म, मृत्युको बारेमा सबिस्तार लेखेको छ । ती बिषयहरूमा लेखिएका मुख्यमुख्य श्लोक र त्यसका नेपाली अर्थ यहाँ उल्लेख गरिएको छ ।

उत्पत्ति अर्थात् जन्म

लोकानां तु विद्धयर्थ मुखवाहूरूपादत :
ब्राह्मणं क्षत्रीयं वैश्य शूद्रं च निरवर्तयत ।। ३१ ।।
(अध्याय एक)

संसारका विकासका लागि मुख, बाहु, तिघ्रा र खुट्टाबाट क्रमैसँग ब्राह्मण, क्षत्रीय, वैश्य र शूद्रलाई उत्पन्न गरे ।

न्वारान

मङ्ग्ल्यं ब्राह्मणस्य स्यात्क्षत्रीयस्य बलान्वितम ।
वैस्यस्री धनसंयुक्तं शूद्रस्री तु जुगुप्सितम ।। ३१ ।।
(अध्याय दुई)

ब्राह्मणको नाम राख्दा मङ्गलवाचक, क्षत्रीयको नाम बलवाचक, वैश्यको नाम धनसूचक र शूद्रको नाम सेवासूचक राख्नुपर्दछ ।

भाषा

ब्राह्मणं कुशलं पृच्छेत्क्षत्रबन्धुमनामयम ।
वश्यं क्षेमं समागम्री शूद्रमारोग्यमेव च ।। १२७ ।।
(अध्याय दुई)

ब्राह्मणलाई कुशल, क्षत्रीयलाई निको, वैश्यलाई सन्चोसुविस्ता र शूद्रलाई निरोगी छौ भनेर सोध्नुपर्छ ।

शिक्षा

न शूद्राय मतिं दधान्नोच्छिष्टं न हविष्कृतम ।
न चास्योपदिशेद्धर्म न चास्य व्रत्तमादिशेत ।। ८० ।।
(अध्याय चार)

शूद्रलाई ज्ञान सिकाउन, जूठो हव्य खान, प्रत्यक्ष रूपमा धर्म र व्रतका कुराहरू सिकाउन हुँदैन ।

बिबाह

शूद्रैव भार्या शूद्रस्य सा च स्वा च विश: स्मृते ।
ते च स्वा चैव राजश्च ताश्च स्वा चाग्रजन्मन : ।। १३ ।। (अध्याय तीन)

शूद्रले शूद्र कन्यासँगै बिहा गर्नुपर्छ, वैश्यले वैश्य र शूद्रकन्यासँग, क्षत्रीयले क्षत्रीय, वैश्य र शूद्रकन्यासँग र ब्राह्मणले चारै वर्णका कन्यासँग बिबाह गर्नुहुन्छ ।

अब्राह्मण: संग्रहणे प्राणान्तं दण्डमर्हति ।
चतुर्णामपि वर्णानां दारा रक्ष्यतमा: सदा ।। ३५९ ।।
(अध्याय आठ)

शूद्रले अन्य जातिकी स्त्रीसँग संग्रहण गर्छ भने उसलाई प्राणदण्ड दिनुपर्छ । चारै वर्णले सबैभन्दा बढी आफ्ना स्त्रीहरूको रक्षा गर्नुपर्छ ।

शूद्रस्य तु सवर्णैव नान्या भार्या विधीयते ।
तस्यां जाता: समांशा: स्युर्यदि पुत्रशतं भवेत ।। १५७ ।।
(अध्याय नौ)

शूद्रले आफ्नै वर्णका स्त्रीलाई मात्रै पत्नी बनाउनुपर्छ । अर्का वर्णका स्त्री ल्याउने अधिकार उसलाई छैन । त्यसैले उसकी स्त्रीका सयवटा नै छोरा भए पनि बाबुको सम्पत्ति सबैलाई बराबर मिल्छ ।

यौन

शूद्रो गुप्तमगुप्तं वा द्वैजातं वर्णमावसन ।
अगुप्तमङ्गसर्वस्वैर्गुप्तं सर्वेण हीयते ।। ३७४ ।।
(अध्याय आठ)

पतिआदि आफन्तका संरक्षणमा नरहेकी द्विजातिकी कन्यासँग व्यभिचारी सम्पर्क गर्ने शूद्रको लिङ्ग काट्न लगाएर सर्वस्व हरण गर्नुपर्छ र संरक्षणमा रहेकीसँग व्यभिचारी गरेमा सर्वस्व हरणका साथ प्राणदण्ड दिनुपर्छ ।

न्याय, कानुन र दण्ड विधान

यस्य शूद्रस्तु कुरुते राग्यो धर्मविवेचनम ।
तस्य सीदति तद्राष्ट्रंपङ्के गौरिव पश्यत: ।। २१ ।। (अध्याय आठ)

जुन राजाका राज्यमा शूद्रलाई न्यायको अधिकारी बनाइएको हुन्छ त्यस राज्यले भासमा गाडिएको गाईझैँ दु:ख पाउँछ ।

एकजातिर्द्विजातींस्तु वाचा दारुणया क्षिपन ।
जिव्हाया: प्राप्नुयाच्छेदं जघन्यप्रभवो हि स: ।। २७०।। (अध्याय आठ)

शुद्रले ब्राह्मण, क्षत्रीय र वैश्यलाई पापी, अपराधीआदि क्रूर वचन बोल्योभने त उसको जिब्रो छिँड पार्ने दण्ड दिनुपर्छ । किनकि, उसको उत्पत्ति नै जघन्य स्थानबाट भएको हो ।

नामजातिग्रहं त्वेषामभिद्रोहेण कुर्वत: ।
निक्षेप्योयोमय: शङ्कुर्ज्वलन्नास्ये दशाङ्गुल: ।। २७१ ।।
(अध्याय आठ)

यदि शूद्रले रिस वा घमण्ड गरेर ब्राह्मणादी द्विजातिको नाम लिन्छ्भने दस अङ्गुल लामो पोलेर तातो पारेको फलामको सुइरो पुरै त्यसका मुखमा हालिदिनुपर्छ ।

धर्मोपदेशं दर्पेण विप्राणामस्य कुर्वत: ।
तप्तमासेचयेत्तैलं वक्रे श्रोत्रे च पार्थिव: ।। २७२ ।।
(अध्याय आठ)

यदि शूद्रले अहंकारवश कुनै ब्राह्मणलाई धर्मको उपदेश दिन्छ भने राजाले उसको मुख र कानमा उम्लँदै गरेको तेल हाल्न लगाउनुपर्छ ।

अवनिष्ठीवतो दर्पादद्वावोष्ठौ छेदयेनृप: ।
अवमूत्रयतो मेढ्मवशर्धयतो गुदम ।। २८२ ।।
(अध्याय आठ)

राजा र ब्राह्मणमाथि  घमण्ड गरेर थुक्ने शूद्रका दुबै ओठ, लिङ्ग र मलद्वार काट्न लगाउनुपर्छ ।

केशेषु गृह्णतो हस्तौ छेदयेदविचारयन ।
पादयोर्दाढिकायां च ग्रीवायं वृषणेषु च ।। २८३ ।।
(अध्याय आठ)

शूद्रले रिसाएर ब्राह्मणको केश, गोडा, दाह्री, गर्धन या अण्डकोश समात्यो भने राजाले केही नसोचिकन त्यसका दुबै हात काट्न लगाउनुपर्छ ।

शूद्रं तु कारयेद्दास्यं क्रीतमक्रीतमेव वा ।
दास्यायैव हि सृष्टोसौ ब्राह्मणस्य स्वयंभुवा ।। ४१३ ।।
(अध्याय आठ)

किनेको होस् वा नहोस् शूद्रबाट नोकरको काम गराउनुपर्छ, किनभने ब्रह्माले ब्राह्मणको सेवाका लागि नै उसलाई बनाएका हुन् ।

ब्राह्मणान्वाधमानं तु कामादवरवर्णजम ।
हन्याच्चित्रैर्वधोपायैरुद्वेजनकरैर्नृप: ।। २४८ ।।
(अध्याय आठ)

शूद्रले जानिबुझिकन ब्राह्मणलाई दु:ख दिन्छ भने राजाले शूद्रलाई अनेक प्रकारका दु:खदायी उपायले मार्नुपर्छ ।

मार्जारनकुलौ हत्वा चाषं मण्डूकमेव छ ।
श्वागोधोलुककाकांश्च शुद्रहत्याव्रतं चरेत ।। १३१ ।।
(अध्याय एघार)

बिरालो, न्याउरी, चास अर्थात् नीलकण्ठ नामको चरो, भ्यागुता, कुकुर, गोहोरो, लाटोकोसेरो र कागमध्ये कुनैलाई मार्दा शूद्रको हत्यामा गरिएको प्रायश्चित गर्नुपर्छ ।

आर्थिक अधिकार

उच्छिष्टमन्नं दातव्यं जीर्णानि वसनानि च ।
पुलाकश्चैव धान्यानां जीर्णाश्चैव परिच्छद: ।। १२५ ।।
(अध्याय दस)

शूद्रलाई जूठो अन्न, च्यातिएका पुराना लुगा, गुदीबिनाको अन्न र थोत्रामोत्रा ओढ्नेओछ्याउने दिनुपर्छ ।

शक्तेनापि हि शूद्रेण न कार्यो धनसंचय: ।
शूद्रो हि धनमासाद्य ब्राह्मणानेव बाधते ।। १२९ ।।
(अध्याय दस)

धन कमाउन सक्ने भए पनि शूद्रले धन जम्मा गर्नुहुँदैन, किनभने धन कमाइसकेपछि शूद्रले ब्राह्मणलाई नै बाधा पार्छ ।

मृत्यु कर्म

दक्षिणेन मृतं शूद्रं पुरद्वारेण निर्हरेत ।
पश्चिमोत्तरपूर्वैस्तु यथायोगं द्विजन्मन: ।। ९२ ।।
(अध्याय पाँच)

मृतक शूद्रलाई दक्षिण, वैश्यलाई पश्चिम, क्षत्रीयलाई उत्तर र ब्राह्मणलाई पूर्व द्वारबाट श्मसानमा लैजानुपर्छ ।

(तिलकप्रसाद लुइँटेलले गरेको ‘मनुस्मृति’ को नेपाली अनुवादबाट माथिका उद्धरणहरू लिइएका हुन् ।)

महिमा मण्डन

करिब १५०० वि.सं पूर्वमा मनुद्वारा रचना गरिएको ‘मनुस्मृति’ लाई हिन्दु मान्यता अनुसार भगवान ब्रम्हाको वाणी मानिन्छ । जसको कारण हिन्दू समाजमा यस ग्रन्थ आजसम्म पनि पूज्य छ । वास्तवमा ‘मनुस्मृति’ त्यसबेलाको समाज संचालनका लागि लेखिएको संविधान हो ।

‘मनुस्मृति’ लाई महिमामण्डन गर्नेहरूको तर्क छ- ‘कर्तव्यशास्त्रको अर्को नाम मनुस्मृति हो । यहाँ जातभातको कुरा छैन । यहाँ केवल मानवताको कुरा छ, मानवीय कर्तव्यको कुरा छ । मनुस्मृति न दलित विरोधी छ, न ब्रम्हाणवादको पक्षमा छ । मनुले कसैलाई दलित मान्दैन । चार वर्ण जाति नभएर मनुष्यको चार श्रेणी हो, जो पूर्ण रुपमा योग्यतामा आधारित छ । प्रथम ब्राम्हण, दोस्रो क्षत्रिय, तेस्रो वैश्य र चौथो शूद्र ।’

‘मनुस्मृति’मा केवल मानवता र मानवीय कर्तव्यको कुरामात्र छ भन्नेहरूका लागि माथि उल्लेख गरिएका बीसवटा श्लोकले राम्रो जवाफ दिएको छ । यो कृषियुगमा रचना गरिएको ग्रन्थ हो । अनुमानित वि.सं. ६००–६५० (ओलिवेली र डेरेटका अनुसार) तिर बनाइएको कानुन आजको समाजमा काम लाग्दैन । यो ग्रन्थ मानव सभ्यताको एउटा ऐतिहासिक दस्तावेज हो । यसमा लेखिएका राम्रा कुराहरू विनापूर्वाग्रह हामीले अपनाउनु पर्छभने नराम्रा कुराहरू छाड्ने आँट गर्नुपर्छ ।

समाधान

जातपातजन्य भेदभाव र छुवाछूतको समस्या दक्षिण एशियाली उपमहाद्वीपको विशिष्ट समस्या हो । यो मानव सभ्यता कै कलंक हो । धर्म, संस्कृति र परम्पराको नाममा अन्धविश्वास, अन्याय, अत्याचार, भेदभाव, शोषण, दमन सहन गर्न सकिन्न । ‘मनुस्मृति’ मा जन्मदेखि मृत्युसम्म शूद्र (हालको दलित) का लागि लेखिएका क्षुद्र कुराहरू विरुद्ध अझै निर्मम ढंगले लड्न जरुरी छ । जुन धर्म, संस्कृति र परम्पराले आफूहरूलाई मृत्यु दिइरहेको छ, त्यसको विरुद्ध बिद्रोह नगरी जीवन पाउन असंभव छ ।

जातपातको नाममा छुवाछूत कायम रहेसम्म श्रमको सम्मान हुँदैन । श्रमको सम्मान नभएसम्म समृद्धि संभव छैन । जातपात प्रथा समृद्धिको ठूलो वाधक बनिरहेको छ । श्रम, स्वाभिमान र समृद्धिलाई अलग्याएर हेर्न मिल्दैन । समृद्धिको लागि पनि जतिसक्दो चाँडो जातपातको नाममा गरिने भेदभाव र छुवाछूत अन्त्य गर्नुपर्छ ।

जातपातजन्य भेदभाव र छुवाछूत अन्त्यका लागि :

१) आफूभित्र रहेको मनुवादी सोचविरुद्ध बिद्रोह गरौं ।
२) जात जनाउने थर नलेखौं ।
३) मन्दिरमा सकेसम्म दलित पुजारी राखौं ।
४) आरक्षण होइन, राज्यको हरेक तहमा अनिवार्य  समानुपातिक प्रतिनिधित्व गर्ने व्यवस्था गरौं ।
५) बजेटमा दलित सशक्तीकरणको प्रभावकारी कार्यक्रम राखौं ।
६) जातपातजन्य भेदभाव र छुवाछूतविरुद्ध संविधानमा लेखिएको कुरा अक्षरश परिपालना गरौं, गराऔं ।
७) अपराधीहरूलाई राज्यले कडाइपूर्वक कानुनी कारबाही गरोस् ।
८) दलितको समस्या सबैको साझा समस्या बनाऔं ।

अन्त्यमा, आजकै मितिदेखि जात जनाउने थर `श्रेष्ठ´ हटाई नामको पछाडि मानवजातिलाई चिनाउने शब्द ‘मानव’ लेख्ने प्रतिबद्धता गर्दछु ।

(लेखक गंगा श्रेष्ठ समाजवादी जनता दलका नेता हुन् ।)



source https://www.onlinekhabar.com/2020/06/869591

Post a Comment

0 Comments