२३ कात्तिक, काठमाडौं । स्पानिस क्लब रियल मड्रिड र जर्मन क्लब बायर्न म्युनिख युरवपियन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेका छन् ।
बुधबार राति भएको खेलहरु पछि रियल र बार्यनसहित स्पेनकै रियल सोसिडाड र इटालियन क्लब इन्टर मिलालने प्रिक्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् ।
समूह सी अन्तर्गत खेलमा रियलले एससी ब्रागालाई ३-० ले पराजित गर्दै दुई खेल अगाव नकआउट चरणमा स्थान बनायो । रियलका लागि घरेलु मैदानमा ब्राहिम डियाजले २७औं, भिनिसियस जुनियरले ५८औं र रोड्रिगोले ६१औं मिनेटमा गोल गरे । भिनिसियस र रोड्रीगोले एक एक असिस्ट पनि गरे ।
शतप्रतिशत जितपछि रियल चार खेलबाट १२ अंकसहित समूहको शीर्ष स्थानमा छ ।
यसै समूहको अर्को खेलमा नापोली र युनियन बर्लिनले १-१ को बराबरी खेले । नापोली चार खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।
यस्तै ह्यारी केनको दुई गोल मदतमा समूह ए को खेलमा बायर्नले टर्किस क्लब गालातासारलाई २-१ ले हराएर प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो । केनले ८०औं र ८६औं मिनेटमा गोल गरे । गालातासारेका लागि इन्जुरी टाइममा सेड्रिक बाकाम्पुले एक गोल फर्काए ।
जितपछि बायर्न शतप्रतिशत नतिजासहित चार खेलबाट १२ अंक जोडेर समूह ए को शीर्ष स्थानमा छ ।
यस समूहको अर्को खेलमा म्यान्चेष्टर युनाइटेड डेनिस क्लब एफसी कोपनहेगनसँग ४-३ ले पराजित भएको छ ।
प्रतिस्पर्धातम्क खेलमा युनाइटेडले सुरुको आधा घण्टामै बनाएको दुई गोलको अग्रता जोगाउन सकेन । यस्तै मार्कुस रासफोर्डले पहिलो हाफको अन्त्यतिर रातो कार्ड पाएपछि युनाइटेडले दोस्रो हाफ दश खेलाडीमा रहेर खेलेको थियो ।
रासमस हालुन्डले तेस्रो र २८औं मिनेटमा गोल गर्दै युनाइटेडलाई २-० को अग्रता दिलाए पनि जोगाउन सकेन ।
४२औं मिनेटमा रासफोर्डले रातो कार्ड पाएपछि युनाइटेडलाई धक्का लाग्यो । त्यसैको फाइदा उठाउँदै कोपनहेगनका लागि ४५औं मिनेटमा मोहमेद एल्योउनोउसी र पहिलो हाफको इन्जुरी टाइममा डिएगो गोन्काल्भेसले पेनाल्टीमा गोल गरी खेल बराबरी गरे ।
एक खेलाडी कम भएपनि कप्तान ब्रुनो फर्नाडेजले ६९औं मिनेटमा पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई फेरी अग्रता दिलाएका थिए । तर अग्रता जोगाउन सकेन ।
लुकास लेरागेर ८३औं मिनेटमा गोल गर्दै कोपनहेगनलाई फेरि खेलमा फर्काए भने ८७औं मिनेटमा रुनी ब्राड्ज्घीले गोल गर्दै कोपनहेगनलाई जित दिलाए ।
जितपछि चार खेलबाट ४ अंक जोडेको कोपनहेगन दोस्रो स्थानमा उक्लेको छ । समान अंक भएपनि कोपनहेगनले गालातासारेलाई पछि पारेको छ । युनाइटेड चार खेलबाट ३ अंकसहित पुछारमा छ ।
इन्टर र सोसिडाडपनि नकआउट चरणमा
समूह डी बाट स्पानिस क्लब सोसिडाड र इटालियन क्लब इन्टर मिलालने पनि अन्तिम १६ मा स्थान पक्का गरे ।
सोसिडाडले पोर्चुगिज क्लब वेनफिकालाई ३-१ ले हरायो । सोसिडाडका लागि मिकेल मेरिनोले छैटौं, मिकेल ओयाजाबलले ११औं र एन्डर बारेनेजियाले २१औं मिनेटमा गोल गरे । वेनफिकाका लागि राफा शिल्भाले दोस्रो हाफमा एक गोल फर्काएका थिए ।
यस्तै इन्टरले एफसी साल्जवर्गलाई १-० ले हरायो । इन्टरका लागि लाउटारो मार्टिनजेले ८५औं मिनेटमा पेनाल्टीबाट गोल गरे ।
जितपछि सोसिडाड र इन्टरको समान १० अंक भएको छ । गोलअन्तरमा सोसिडाड अघि छ ।
चार खेलपछि ३ अंक रहेको साल्जवर्ग र अंकविहिन वेनफिका भने समूह चरणबाटै बाहिरिएको छ ।
आर्सनल विजयी
समूह बी को खेलमका इंग्लिस क्लब आर्नसलले स्पानिस क्लब सेभियालाई २-० ले हरायो । आर्सनलका लागि घरेलु मैदानमा लियोन्ड्रफ ट्रोसार्डले २९औं र ६४औं मिनेटमा बुकायो साकाले गोल गरे ।
जितपछि आर्सनल चार खेलबाट ९ अंकसहित शीर्ष स्थानमा छ । सेभिया दुई अंकसहित पूछारमा छ ।
यसै समूहको अर्को खेलमा पिएसभी आइन्डहोभनले लेन्सलाई १-० ले हरायो । आइन्डहोभनका लागि लुक डे जोङले १२औं मिनेटमा गोल गरे । जितपछि आइन्ड होभन लेन्सलाई पछि पार्दै दोस्रो स्थानको उक्लेको छ । दुवैको समान ५ अंक छ ।
source https://www.onlinekhabar.com/2023/11/1390793
0 Comments