हामी बालबालिकालाई ‘सिद्धार्थ गौतम’को जीवनी पढाउँछौं । उनीहरुले सरर बुद्धको जीवनकथा भन्न सक्छन् । त्यस पाठबाट सोधिएका प्रश्नको हुबहु जवाफ दिन सक्छन् । तर, यो पाठ छिचोलेका हाम्रा नानीबाबुहरुले आफुलाई बुझ्ने र संसारलाई हेर्ने दृष्टि बदल्छन् ?
गहन लाग्नसक्छ, तर यो प्रश्न हामीले आफैसँग सोध्नुपर्ने हुन्छ ।
हामीले उनीहरुलाई ‘बुद्ध’ पढायौं । तर बुद्धत्वको बाटोमा लाग्ने विधिहरु अभ्यास गराएनौं । त्यसैले उनीहरु पढे, पास भए, जागिर खाए, सम्पन्न भए । तर, के उनीहरु सन्तुष्ट छन् ? आनन्दित छन् ? सबैप्रति सद्भाव राख्छन् ? करुणा भाव जगाउँछन् ? विनयी छन् ?
आज मान्छे सफल छन् तर सन्तुष्ट छैनन् । सम्पन्न छन् तर आनन्दित छैनन् । किनभने उनीहरुले कसरी धन कमाउने भनेर त सिके तर, कस्तो जीवन बाँच्ने भनेर सिकेनन् । त्यसैले हिंसा, घृणा, इर्ष्या, लोभ, दूराचार जस्ता विकारले मान्छेलाई जीर्ण र खोक्रो बनायो ।
हाम्रा नानीबाबु कस्तो होउन् ?
के हामीले हाम्रा नानीबाबुहरु यसरी नै विकारग्रस्त होस् भन्ने चाहेका छौं । पक्कै छैनौं । हामी त चाहन्छौं, उनीहरु सधै सुख र आनन्दको जीवन बाँचोस् । आदर, श्रद्धा, प्रेमले सुशोभित होउन् । मीठो बोली, नम्र व्यवहार, सत्य दृष्टि, सकारत्मक चिन्तन जस्ता सद्गुणहरुको विकास गरुन् । सन्तुलित आहार-विहारले आफुलाई स्वस्थ, तन्दुरुस्त र ताजा राखुन् ।
तर, कसरी हाम्रा नानीबाबुहरु यस्ता गुणहरुले युक्त हुन सक्छन् ?
यसका लागि हामीले नानीबाबुलाई ‘बुद्ध कहाँ जन्मेको ?’ भन्ने प्रश्नको उत्तर घोकाएर मात्र पुग्दैन । उनले प्रतिपादन गरेको ध्यान र ज्ञानलाई जीवनमा उपयोग गर्न अभ्यास गराउनुपर्छ । त्यसलाई जीवन पद्धतीकै रुपमा विकास गराउनुपर्छ । तब, हाम्रा नानीबाबुहरु सही अर्थमा बुद्धभूमीका सन्तती कहलिन्छन् ।
के हो आध्यात्मिक शिक्षा ?
अहिले हाम्रो जुन शिक्षा प्रणाली छ, त्यसले बालबालिकालाई सफल बन्नुपर्छ भन्छ । आध्यात्मिक शिक्षाले असल बन्न प्रेरित गर्छ । जीवनको मूल्य बुझाउँछ । र, जगतलाई सही ढंगले हेर्न सिकाउँछ ।
विद्यमान शिक्षाले भन्छ, ‘मान्छेलाई कुट्नु हुँदैन । प्रहरीले समाउँछ ।’
आध्यात्मिक शिक्षाले भन्छ, ‘मान्छेलाई कुट्नु हुँदैन । उसलाई दुख्छ, पीडा हुन्छ ।’
आध्यात्मिक शिक्षाले मान्छेलाई अनुशासित होइन, आत्म-अनुशासित बनाउँछ । कर्म र कर्तव्य बोध गराउँछ । सही र गलत छुट्याउने चेतना दिन्छ । सबैप्रति हार्दिकता र प्रेमले बाँच्न सिकाउँछ ।
कुलत, कुसंगत, कुकर्म, कुदृष्टि जस्ता विकारबाट अलग गराउँछ । विनयी, विनम्रता, सद्भाव, सत्य जस्ता गुणहरुको विकास गरिदिन्छ । जसले गर्दा हाम्रा नानीबाबुहरु वास्तवमै सुन्दर जीवन बाँच्न सक्षम हुन्छन् ।
कसरी दिने आध्यात्मिक शिक्षा ?
योग, ध्यान, प्राणायाम, प्रार्थना, सत्संग आदिले आध्यात्मिक चेतनाको विकास गराउँछ । हाम्रा नानीबाबुलाई सानै उमेरदेखि ध्यान गर्न सिकाउने, प्राणायामको विधि अभ्यास गराउने, सत्संग सुनाउने गर्न सकिन्छ ।
अहिलेका बालबालिकाले कुनैपनि कुरालाई विज्ञानको तराजुमा जोख्ने गर्छन् । यो सही पनि हो । अध्यात्म आफैमा विज्ञान हो । उनीहरुलाई कुनैपनि आध्यात्मिक ज्ञान दिँदा त्यसको विज्ञान पनि बताइदिनुपर्छ ।
जस्तो हामी उनीहरुलाई भन्छौं, ‘बिहान उठ्नसाथ पूजापाठ वा प्रार्थना गर्नुपर्छ ।’ यसको अर्थ के हो त ?
यो मन र शरीर शुद्धि गर्ने विधि हो । जब हामी पूजापाठ वा प्रार्थना गर्छाैं, मनमा सकारात्मक भाव पैदा हुन्छ । त्यसले बेग्लै किसिमको सुखानुभूत गराउँछ । मानसिक तन्दुरुस्तीको यो एउटा राम्रो विधि हो ।
मानौं हाम्रो पूजास्थलमा गणेश भगवानको प्रतिमा वा चित्र छ । त्यसको सांकेतिक अर्थ निकै उपयोगी छ, जुन नानीबाबुलाई बुझाउन सकिन्छ । गणेशको ठूलो कान छ, त्यसको अर्थ हामीसँग धेरै कुरा सुन्ने क्षमता हुनुपर्छ । टाउकोको ठाउँमा हात्तिको सुँड छ । त्यसको अर्थ, हामीले खानेकुराको स्वच्छता जाँच्न सक्नुपर्छ । सही र गलत खानेकुरा छुट्याउन सक्नुपर्छ । आँखा सानो छ, त्यसको अर्थ कुनैपनि कुरालाई अति सुक्ष्म दृष्टिले वा महत्वका साथ हेर्नुपर्छ । गणेशजीको अगाडि लड्डु छ । त्यसको अर्थ जीवन मीठास एवं मधुर हुनुपर्छ ।
आध्यात्मिक चेतले जीवन र जगतलाई हेर्ने सही दृष्टिकोण दिन्छ । दुःख, निरासा, उदासी जस्ता मनोरोगबाट अलग राख्छ ।
गीता, चाणक्य नीति किन नपढाउने ?
दुःखसाथ भन्नुपर्छ हाम्रो विद्यालयको कोर्समा आध्यात्मिक शिक्षाको पाठ्यक्रम छैन । विद्यालयको पात्रोमा आध्यात्मिक कार्यक्रम छैन ।
हामीले नेपाली पढायौं, विज्ञान पढयौं, गणित पढायौं, अंग्रेजी पढायौं । शिक्षाले उनीहरुको पाँचै इन्द्रिय जागृत हुनुपर्ने हो । तर, उनीहरुको त इन्द्रिय अरु निस्क्रिय र सिथिल हुँदै गएको छ । मर्ने पलसम्म हामीलाई जे चाहिने हो, त्यो कुरा पढाइरहेका छैनौं ।
उनीहरुलाई गीता पढाएनौं । चाणक्य नीति पढाएनौं । गीता कुनै धर्मशास्त्र होइन । खासमा यो जीवनशास्त्र हो । जीवन र जगतलाई बुझ्ने सर्वोत्तम ग्रन्थ हो ।
हाम्रा पूर्वजहरुले जीवन र जगतलाई बुझाउनका लागि कति महत्वपूर्ण खोजहरु गरे । अनि त्यसलाई उनीहरुले आफ्नो जीवन पद्दती बनाए । तर, हामीले आफ्ना नानीबाबुलाई यी कुराबाट विमुख गरायौं ।
अहिले विश्वमा मानसिक स्वास्थ्य सबैभन्दा डरलाग्दो समस्या बन्दैछ । मान्छेहरु डिप्रेसन, एन्जाइटीले ग्रस्त हुँदैछन् । मान्छेसँग भौतिक सुख सुविधा जति पनि छ । तर, मनमा आनन्द छैन । मुलायम ओछ्यान छ तर निद्रा छैन । चौरासी व्याञ्जन छ, तर भोक छैन । किन ?
किनभने मान्छे मनरोगी बन्दैछ । कारण उही हो, आध्यात्मिक ज्ञानको अभाव ।
हामीले अब विद्यालय तहबाटै आध्यात्मिक शिक्षा समावेश गर्नुपर्छ । कक्षा एकबाट नै नानीबाबुलाई योग, ध्यानको अभ्यास गराउनुपर्छ । सात्विक खानपान गराउनुपर्छ । कक्षा १० सम्म पुग्दा यो नै उनीहरुको जीवन पद्दती बन्न पुग्छ ।
धेरैले भन्छन्, अध्यात्म भनेको धर्म हो । धर्म भनेको आण्डम्बर हो । तर, यो सत्य होइन ।
अध्यात्म विज्ञान हो । यसले आफ्नो अस्तित्वको बोध गराउँछ । म को हुँ ? भन्ने प्रश्नको उत्तर खोज्छ । आफुभित्रको चेतन तत्वलाई बुझ्ने कला हो यो । हाम्रो पूर्विय दर्शनले यसलाई महाविद्या भनेको छ ।
झट्ट सुन्दा गहन र भारी लाग्नसक्छ । यद्यपि धैर्यपूर्वक मनन गर्ने हो भने यो हाम्रो जीवनकै एउटा अंश हो ।
जब हाम्रा नानीबाबुहरुमा आध्यात्मिक चेतनाको विकास हुन्छ, उनीहरुमा आडम्बर, अहंकार, अंसहिष्णुता, अराजकताको कुनै अवशेष हुनेछैन । घृणा, इष्र्या, बदलाको भाव रहनेछैन । उनीहरु वास्तवमै जीवन र जगतप्रति आभारी रहनेछन् । सबैप्रति कृतज्ञ रहनेछन् । शान्त, सौम्य र सुन्दर जीवन बाँच्नेछन् ।
भट्टराई अक्षरा स्कुलकी कार्यकारी निर्देशक हुन्
source https://www.onlinekhabar.com/2023/08/1344772
0 Comments