Looking For Anything Specific?

Header Ads

नेपाली संगीतमा झुम्यो बार्सिलोना 

झमझम दर्कियो पानी जोगायो छाताले छेकेर

रोदीमा आइपुग्यो झिल्के सबभन्दा मै राम्री देखेर ।

लोक तथा दोहोरी गायिका रमिला न्यौपानेले आइतबार बार्सिलोनामा आफ्नो लोकप्रिय यो गीत गाउँदा स्पेनवासी नेपालीहरूले कम्मर मर्काउँदै नाचे । गायिका न्यौपाने स्टेजमा आफू मात्रै नाचिनन् उपस्थित दर्शकलाई पनि कम्मर मर्काउन बाध्य पारिन् ।

नेपाली जनसम्पर्क समिति स्पेनले नेपाली नयाँ वर्षको अवसरमा आयोजना गरेको विशेष साँस्कृतिक कार्यक्रममा गायिका न्यौपानेसँगै नेपालदेखि आएका कलाकारहरू सन्दीप न्यौपाने र साइमा श्रेष्ठले पनि प्रस्तुति राखेका थिए।

गायक न्यौपानेले ‘लालुमै’ बोलको आफ्नो चर्चित गीत सुनाए । गायिका श्रेष्ठले पनि केही आफ्ना त केही दर्शकका रोजाइका गीत सुनाइन् ।  त्यसो त यी कलाकारहरूले दर्जनभन्दा बढी गीत सुनाएर दर्शकलाई मनोरञ्जन प्रदान गरेका थिए ।

स्पेन निवासी चर्चित स्टोरी टेलर हुन् साइग्रेस पोखरेल । देश विदेशमा चर्चा कमाएका उनले आफ्नो कर्मथलो स्पेनबाट शब्दयात्राको सुरुआत गरेका छन् । यसअघि नेपालका विभिन्न सहरहरूमा सफल कार्यक्रम गरिरहेका उनले बार्सिलोनाबाट प्रवासी नेपालीमाझ पनि प्रस्तुति राख्न सुरु गरेका हुन् । उनले स्पेनपछि युरोपका विभिन्न देशहरूलगायत अमेरिका,अष्ट्रेलियामा पनि प्रस्तुति राख्दैछन्।

दुई बर्षदेखि कोरानाको कारण घरभित्रै बस्न बाध्य बनेका नेपाली बालबालिकाहरुले पनि कार्यक्रममा खुलेर प्रस्तुति राखेका थिए। नेपाली पाठशाला बार्सिलोनामार्फत बालबालिकाहरुले आफ्नो प्रतिभा देखाएका हुन् । साथै स्थानीय कलाकारहरुले समेत गीत,नृत्य तथा नाटक प्रस्तुत गरेका थिए।

नेपाली जनसम्पर्क समिति स्पेनका अध्यक्ष सन्तोष श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नि:शुल्क प्रवेशको व्यवस्था गरिएको थियो। एनआरएनए आईसीसी सदस्य प्रकाश तिमिल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अर्का आईसीसी सदस्य दिनेश गिरीलगायत स्पेनस्थित संघ संस्थाका प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कोरोनाको कहरपछिको नयाँ वर्ष विशेष नेपाली कार्यक्रम भएकाले झन्डै २५० भन्दा बढी दर्शकहरुको उपस्थिति रहेको आयोजकको दाबी छ ।



source https://www.onlinekhabar.com/2022/05/1122278

Post a Comment

0 Comments