Looking For Anything Specific?

Header Ads

केपी ओली र देउवालाई नख्खु पुर्‍याउँछौं : रवीन्द्र मिश्र

११ फागुन, काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेसका सभापति शेरबहादुर देउवालाई नख्खु जेलमा कोच्ने चेतावनी दिएका छन् ।

काठमाडौं आयोजित संसद विघटनविरुद्धको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष मिश्रले आफ्नो पार्टी सरकारमा पुग्ने बित्तिकै ओली र देउवालाई अख्तियार र सर्वोच्च अदालतमा पुर्‍याउने बताएका हुन् ।

‘बालुवाटारबाट बालकोट जाने नेतालाई हामी सबभन्दा पहिला अख्तियार र सर्वोच्चमा उपचार गर्छौँ, त्यसपछि आराम गर्न उहाँलाई नख्खु जेलको चौरमा पुर्‍याउँछौँ,’ उनले भने, ‘नख्खु जेलको चौरमा जिन्दगीभर उहाँहरूले आराम गरेर बिताउनु हुनेछ ।’

आफ्नो पार्टी देशभक्तिको धरातलमा उभिएकाले संख्यामा सानो भए पनि एजेन्डामा अग्रणी रहेको भन्दै आफूहरू ठूला कुरा गर्न नहिचकिचाउने उनले बताए ।

दलहरूले न्यायालयमा समेत भागबन्डा गरेकाले सर्वोच्चमा पार्टीका कार्यकर्ता पुग्ने गरेको भन्दै अध्यक्ष मिश्रले न्यायालयमाथि नै कालो पोतिएको बताए ।

राज्यका हरेक निकायहरू पार्टीका भागबन्डा मै गाँजिएकाले देशले दु:ख पाएको बताउँदै उनले समतामुलक समृद्धिको लागि नागरिकले पनि मन र मत परिवर्तन गर्नुपर्नेमा जोड लिए ।

 



source https://www.onlinekhabar.com/2021/02/933024

Post a Comment

0 Comments