१३ फागुन, काठमाडौं । ‘सबको फोन…’ गत दुई वर्षदेखि बाक्लै सुन्न थालिएको एउटा कम्पनीको नाम हो, यो । ‘सबको फोन’ले बिग्रेको मोबाइल सेटलाई ‘रिफरविस्ट’ गर्छ ।
‘हामी पुरानो मोबाइलको बिग्रेको पार्टपुर्जा बनाएर, त्यसले पूर्णरुपमा काम गरेको प्रमाणित गरेर नयाँ प्याकेजिङमा ग्राहकलाई फर्काउँछौं’, कम्पनीका संस्थापकमध्येका एक उत्तम काफ्ले भन्छन् ।
सबको फोनमा ब्रान्डेड कम्पनीका पछिल्ला मोबाइल बजारमूल्यको आधामा पाइन्छ। घरघरमा पुराना मोबाइल थुपारेर राख्नुभन्दा ती फोन मर्मत गरेर नयाँजस्तै काम गर्ने बनाएर बेच्दा कमजोर आयस्रोत भएकाले पनि महँगो फोन चलाउने अवसर पाउने उनको भनाइ छ .
चलिरहकै पुरानो मोडलको वा केही खराबी आएको मोबाइल फाल्न मन नलागेर राखेको भए सबको फोनलाई बेच्न सकिन्छ । ‘कसैलाई पुरानो लागेको फोन अरू कसैलाई नयाँ हुनसक्ने हुनाले फाल्न भन्दा हामीलाई बेच्नुहोला’, संस्थापक काफ्ले भन्छन्, ‘हामी तपाईंको मोबाइलको आयु लम्ब्याउँछौं, नयाँ मोबाइल किन्दा लाग्ने खर्च जोगाइदिन्छौं ।’
सबको फोनबाट मोबाइल किन्दा ग्राहकलाई नयाँ फोन किने बराबरको सन्तुष्टि दिने प्रयास भइरहेको उनी बताउँछन् । उनका अनुसार, सबको फोनले पुरानो मोबाइल मर्मतपछि चार्जर, इयरफोनका साथै ३ देखि ६ महिनासम्मको वारेन्टी कार्ड (सिसा फुट्ने बाहेक सबैको) सहित कम्पनीकै लोगो अंकित नयाँ प्याकमा उपलब्ध गराउँछ ।
सबको फोनमा बिग्रेको मोबाइल बनाएर आफैं चलाउन पनि सकिन्छ । मोबाइल फोन बनाउन छोड्दा पार्टपुर्जा साटिदिने डर पनि रहेको पाइयो’, काफ्ले भन्छन्, ‘त्यसमा ग्राहकलाई विश्वास दिलाउन हामीले ‘प्राइभेसी पोलिसी’ नै बनाएका छौं ।’
उनका अनुसार, बनाउन दिएको मोबाइल नबनुन्जेल काम चलाउन कम्पनीले ग्राहकलाई अर्को मोबाइलसमेत दिने गरेको छ । सेवाग्राहीले ढुक्कसँग पुरानो फोन छाडेर जाउन्, ग्राहकको मोबाइलबाट हुने काममा अवरोध नहोस् भनेर यस्तो व्यवस्था गरेको उनी बताउँछन् ।
सबको फोनले बन्दै नबन्ने मोबाइल पनि किनेर त्यसको काम लाग्ने सामान अर्को मोबाइलमा प्रयोग गर्छ । कम्पनीले टुटेफुटेका, पानीमा डुबेका फोनहरू पनि किन्ने गरेको छ ।
विदेशबाट ल्याइएका तर विभिन्न कारणले ‘लक’ गरिएका आइफोन भने सबको फोनले लिँदैन । अन्य फोन पनि बेच्नेको परिचयपत्रको फोटोकपी र मोबाइलको आईएमई कोड लिएर मात्र किन्छ ।
फोहोरलाई मोहर बनाउने काइदा
अन्तर्राष्ट्रिय कानुन पढेकी शुभेक्षा तिवारी र दिगो विकासको अवधारणामा काम गरिरहेका उत्तम काफ्लेलाई वातावरण संरक्षणप्रतिको रुचिले ‘सबको फोन’को संस्थापक बनाएको हो । विश्वमा बढ्दो विद्युत्तीय फोहोरले वातावरण प्रदूषण र प्राणीहरूको स्वास्थ्यमा पारिरहेको असरको तथ्यांकले आफूहरूलाई नराम्ररी झस्काएको काफ्ले बताउँछन् ।
वातावरण विभागको तथ्यांक अनुसार नेपालमा अहिले वार्षिक १८ हजारदेखि २० हजार मेट्रिक टन विद्युत्तीय फोहोर निस्किन थालेको छ । आफूले गरेको अध्ययनमा एउटा गाडी एक महिना चलाउँदा निस्कने कार्बन बराबर २३ वटा पुरानो मोबाइलले वातावरण बिगार गर्ने पाइएको काफ्ले बताउँछन् ।
राजस्व विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिकमा मात्र नेपालमा २१ लाख थान मोबाइल फोन भित्रिएको छ । यही हिसाबले हेर्दा चालु आवको अन्त्यसम्ममा ६३ लाख थान फोन भित्रिने देखिन्छ । अन्य विद्युत्तीय सामान योभन्दा भन्दा धेरै भित्रिन्छ ।
काफ्लेका अनुसार, जुनसुकै पुराना फोन मर्मत गर्दा प्लास्टिक, धातु, सिसा, लिड लगायत फोहर निस्किन्छ । तीमध्ये कतिपयलाई प्रशोधन गरेर पुनः प्रयोगमा ल्याउन मिल्छ, तर नेपालमा प्रशोधन सुविधा नभएकाले संकलन गरेर राख्न परेको उनी बताउँछन् । उनी भन्छन्, ‘विद्युत्तीय फोहर व्यवस्थापनमा भएको लगानीले मुनाफा पनि दिन्छ ।’
काफ्लेका अनुसार अन्तर्राष्ट्रिय नीतिहरुमा विद्युत्तीय समान उत्पादक देश वा कम्पनीले यसको व्यवस्थापनको लागि पनि योगदान गर्नुपर्ने व्यवस्थाहरु गरिएका छन् । नेपालमा पनि विद्युत्तीय फोहोर व्यवस्थापनका लागि नीति-नियम आवश्यक भइसकेको उनी देख्छन् ।
अध्ययन गर्दै जाँदा पुराना मोबाइल फोनहरु पनि विद्युत्तीय फोहोरको एउटा स्रोत भएको पाएपछि यसैमा काम गर्ने सल्लाह भएको संस्थापक काफ्ले बताउँछन् । कम्पनीमा उनीहरूले २५ लाख लगानी गरेका छन् ।
‘नेपालमा विद्युत्तीय फोहोरले वातावरण र मानव स्वास्थ्यमा पारिरहेको असर न्यून गर्न सरकारको तर्फबाट के भइरहेको भनेर हेर्दा यसबारे नीति र कानुन नभएको पाइयो’, उनी भन्छन्, ‘पुरानो र बिग्रेको मोबाइललाई नयाँजस्तै बनाएर वारेन्टीका साथ बेच्दा पनि वातावरण संरक्षणमा थोरै भए पनि सहयोग पुग्ने देखेर कम्पनी खोलेका हौं ।’
विद्युत्तीय फोहोर व्यवस्थापनसँगै व्यवसाय
यो अवधारणा बुझाउन सुरुमा निकै गाह्रो भएको काफ्ले बताउँछन् । उनका अनुसार, उचित दाम दिएर पुरानो फोन संकलन गर्न सजिलै भए पनि बनाएपछि बेच्न निकै गाह्रो भएको उनले बताए । ‘मर्मत गरेको मोबाइल टिकाउ हुँदैन वा सेकेन्ड ह्याण्ड भन्नेवित्तिकै नराम्रो हुन्छ भन्ने मान्यता छ’, उनी भन्छन्, ‘मोबाइल भनेपछि नयाँ नै चलाउनु राम्रो हो भन्ने मानसिकताका कारण पनि गाह्रो भयो ।’
र पनि, विद्युत्तीय प्रदूषण कम गर्नमा हामीले योगदान गरिरहेका छौं भन्ने भावनाले टिकेको र अब त व्यवसायको अप्ठ्यारो अवधि पनि पार गरेको काफ्लेले बताए ।
केही वर्ष अघिसम्म नेपालबाट विद्युत्तीय फोहर पनि अन्य कवाडीसँगै भारत जान्थ्यो । तर, भारतले छिमेकी देशहरुबाट विद्युत्तीय फोहोरहरु नलिने नीति गत वर्ष बनायो । नीति बनाएर तत्कालै कार्यान्वयनमा नल्याएर नेपालमा विद्युत्तीय फोहोर व्यवस्थापन ठूलो चुनौती बन्ने काफ्ले बताउँछन् ।
उनी भन्छन् ‘अहिले हामीले फोनमा काम थालेका छौं । यसरी नै अरुले फ्रिज, ओभन लगायतको काम गर्न सक्छन् । यसलाई नियममा बाँध्न त सरकार नै अगाडि सर्नुपर्छ, त्यो पनि तत्कालै ।’
कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गरेको लकडाउन खुलेसँगै ग्राहक बढाउन थालेको सबको फोनमा पनि जति काम भयो उती विद्युत्तीय फोहोर संकलन बढ्दैछ । यसका संचालकहरू व्यावसायीक सफलताको सम्भावनासँगै फोहोर व्यवस्थापनको चिन्तामा छन् ।
‘इन्टरनेटको माध्यमबाट समेत गरी धेरै ग्राहक जोडिँदै जाँदा हामीले विद्युतीय फोहोरको कुरा पनि सोच्न परेको छ’, काफ्ले भन्छन्, ‘यसलाई सरकारका सम्बन्धित निकायहरूले पनि गम्भीरतापूर्वक लिन पर्यो ।’
तस्वीरः आर्यन धिमाल/अनलाइनखबर
source https://www.onlinekhabar.com/2021/02/933616
0 Comments