Looking For Anything Specific?

Header Ads

सर्वोच्चको फैसला स्वीकार्य : ईश्वर पोखरेल

११ फागुन, चितवन । उपप्रधानमन्त्री ईश्वर पोखरेलले संसद विघटनको सम्बन्धमा सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई स्वीकार गर्ने बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले संसद विघटन सदर नगरे आन्दोलन गर्ने अभिव्यक्ति दिएको भनेर समाचार सार्वजनिक भइरहेका बेला ओली निकट पोखरेलले भने सर्वोच्चको फैसला नमान्ने कुरा अलोकतान्त्रिक हुने बताए ।

ओली समूह निकट प्रेस संगठन चितवनले आज आयोजना गरेको पत्रकार भेटघाटमा पोखरेलले भने, ‘सर्वोच्च अदालतले जे फैसला गर्छ त्यसलाई नमान्ने भन्ने कुरा लोकतन्त्रमा हुँदैन ।’

सरकारविरोधी दलहरुले निर्वाचनमा जाने कुरालाई अलोकतान्त्रिक र प्रतिगमनको संज्ञा दिएको चर्चा गर्दै उनले जनतामा जाने कुरा कहिले पनि अलोकतान्त्रिक नहुने बताए । निर्वाचनबाट ताजा जनादेश प्राप्त हुने उनको भनाइ छ ।

उनले नेकपाको पहिलो अध्यक्ष केपी शर्मा ओली भएकाले निर्वाचन आयोगले सूर्य चुनाव चिह्न आफूहरुलाई नै दिने उनले विश्वास व्यक्त गरे ।

ढाडमा टेकेर टाउकोमा हान्ने प्रचण्ड पक्षको प्रवृत्ति र व्यक्तिगत कुण्ठाका कारण पार्टी फुटेको बताउँदै पोखरेलले यसलाई समयमा उपचार गर्न नसक्दा कार्यकर्ता दुःखी भएकोसमेत बताए । ‘यो दुःखद छ । नेपाली जनतालाई, कम्युनिस्ट आन्दोलनका कार्यकर्तालाई दुःखी बनाउने, पीडा दिने घटना घटेको छ, हामी सबै दुःखी छौं,’ उनले भने ।



source https://www.onlinekhabar.com/2021/02/933038

Post a Comment

0 Comments