अहिले हाम्रो भान्सामा थरीथरीका व्यान्जन पाक्न थालेको छ । युट्युब लगायतका माध्याममा उपलब्ध हुने रेसेपी हेर्दै हामी नयाँ नयाँ परिकार बनाउने अभ्यास गरिरहेका छौं । हिन्दी धारावाहिक हेरेर गृहणीहरु त्यहाँ देखाइने खानपानको सिको गरिरको छन् । कार्टुनमा देखेका झै परिकारमा बालबालिका लोभिदैछन् । रेष्टुरेन्ट संस्कृति बढेसँगै किशोर पुस्ताको स्वाद पिज्जा, बर्गर, फ्रेन्च फ्राइ आदिमा भिज्दैछ ।
अर्कोतिर फ्रिज, ओभन, ननस्टिक भाँडावर्तन आदिले हाम्रो परम्परागत पाकशैली नै विस्थापित गर्दैछ । हाम्रो भान्सा आयतित परिकारको भण्डार बन्दैछ । आफ्नै रैथाने पाककला, परिकार र उत्पादन भने हराउँदैछ । यसरी हाम्रो स्वाद र खानपान शैली नै फेरिदैछ ।
त्यतीमात्र होइन, पकाउने, खाने प्रवृत्ति पनि बद्लिदैछ । कतिबेला पकाउने, कुन समयमा खाने भन्ने परम्परागत तालिका लथालिंग भएको छ । परिवारका सदस्यहरु एकै ठाउँ बसेर आनन्दपूर्वक खाने भन्दा पनि टेलिभिजनको अगाडि बसेर वा मोबाइल चलाउँदै फास्टफुड खाने चलन व्यापक बन्दैछ ।
नयाँ-नयाँ परिकार पकाउने अभ्यास गर्नु, स्वादमा विविधता खोज्नु नौलो कुरा भएन । बेलामौकामा हामीलाई स्वाद फेर्न मन लाग्छ । नयाँ नयाँ परिकार बनाउने जाँगर चल्छ । तर, यसबाट हाम्रो परम्परागत खानपान शैली प्रभावित हुनु सकारात्मक कुरा होइन ।
आज संसारमा जति पनि रोग र रोगी बढ्दैछन्, त्यसमा हाम्रो फेरिदो खानपान शैली मूख्य जिम्मेवार छ । स्वादको चक्करमा परेर हामीले जस्तो खानपान शैली अपनाएका छौं, अन्ततः त्यो रोगको स्रोत बनिरहेको छ । यस्तो अवस्थामा हामीले आफ्नै खानपान शैली अपनाउनु उचित हुनेछ, जो सदियौंदेखि हाम्रो भान्सामा पाक्दै आए ।
सम्पूर्ण आहार : दाल–भात
हाम्रो मूख्य खान्की दाल, भात, तरकारी, अचार । पोषणविद्हरुका अनुसार हाम्रो यही परम्परागत खानेकुरा आफैमा सम्पूर्ण पोषण हो । आफ्नै भान्सामा पाक्ने दाल–भात खाएपछि ‘फुड सप्लिमेन्ट’को जरुरत छैन । अझ आफ्नै खेतबारी वा आफ्नै क्षेत्रमा उत्पादित अन्न र सागपात भए सर्वोत्तम हुन्छ ।
हाम्रा पूर्खाहरुले कति खोज, अभ्यास गर्दै आजको थाली तयार गरेका हुन् । हाम्रै माटोमा उत्पादन हुने चामल, मकै, गहुँ, जौ जस्ता अन्न । आलु, फर्सी, सिमी, केरउ, पिँडालु, रायो, पालुङ्गो जस्ता साग–सब्जी । प्याज, लसुन, अदुवा, बेसार, दालचिनी जस्ता मर–मसला । धनिया, गोलभेडा, सिलाम, पुदिना जस्ता अचार । त्यसमाथि दही, घिउ, मोही । यही नै हाम्रा भान्सामा सदियौंदेखि पाक्दै आएको भोजन हो, जो आफैमा सम्पूर्ण आहार पनि ।
भरपुर पोषण र औषधिय गुण
हाम्रो परम्परागत थाली जसरी तयार गरिएको छ, पोषणको हिसाबले त्यो सन्तुलित भोजन पनि हो । शरीरलाई आवश्यक सम्पूर्ण पोषक तत्व त्यसैमा उपलब्ध छ । यी खानेकुरामा कार्बोहाइड्रेट, प्रोटिन, बोसो, भिटामिन, खनिज सबै समावेश छन् ।
त्यसैगरी हामीले सागसब्जी पकाउने क्रममा बेसार, अदुवा, लसुन, प्याज आदि प्रयोग गर्छौं । यी सबै औषधिय गुणले भरिपूर्ण छन् ।
परम्परागत पाक शैली
हाम्रो परम्परागत भान्सामा खाना पकाउने तरिका विशेष किसिमको छ । खासगरी आगोमा खाना पकाउने गरिन्छ । पकाउनका लागि फलाम, पित्तल लगायतका भाँडावर्तन प्रयोग गरिन्छ । काँसको थालमा खाने गरिन्छ । तामाको भाँडामा पानी राखेर पिउने गरिन्छ । अर्थात खाना पकाउने, खाने सबै विधी स्वस्थ्यबद्र्धक छन् ।
खाना खानुअघि कपडा परिवर्तन गर्ने । पलेँटी कसेर बस्ने । हातले खाना खाने । यी सबैको सम्बन्ध स्वस्थ्य खानपान शैलीसँग सम्बन्धित छ ।
रैथाने खानामा जोड
खासमा हाम्रो शरीरका लागि त्यही खानेकुरा सर्वोत्तम हुन्छ, जुन हामी जन्मी हुर्केको माटोमा उत्पादन हुन्छ । हामी जन्मी हुर्केको हावापानीमा उत्पादन हुन्छ । आफ्नै खेतबारी, गाउँ–ठाउँमा जे उत्पादन हुन्छ, त्यसलाई नै हामीले आफ्नो मूख्य खान्की बनाउनु उपयुक्त हुन्छ । साथै हाम्रो शरीरले मौसम अनुकुल खानेकुरा रुचाउँछ । त्यसैले मौसम अनुकुल उत्पादन हुने रैथाने खानेकुरा नै हाम्रो निम्ती सम्पूर्ण र मूख्य भोजन हुन् ।
source https://www.onlinekhabar.com/2020/07/878231
0 Comments