Looking For Anything Specific?

Header Ads

अनि ‘भूपि’ विदेश उड्यो

अन्ततः एउटा गह्रौं दिन जीवनको सन्मुख भयो । त्यो ‘भूपि’ले सबथोक सम्झ्यो– देश, बाआमा, साथीभाइ, वनजंगल, खोलानाला, सेकुवा–तोङ्बा, आफ्नो बनाउन नसकेको सोल्टिनी, जीवनका सारा सपना… ।’

‘शिवजीको प्रसाद’लाई सहर्ष स्वीकार गर्ने केटाहरूको हुलमा एक विचित्रको गौप्राणी थिएँ । यसैकारण साथीहरू मलाई अनौठो प्राणी मान्थे ।

म साहित्य पढ्थें र अलिअलि लेख्थें पनि । चियापसल लगायत आफ्नो अड्डा र जक्सनहरूमा जब साथीहरूसँग भेट हुन्थ्यो मलाई हार्दिकतापूर्वक गजल वाचन गर्न आग्रह गरिन्थ्यो । जब म आफ्नै सुरमा वाचन सक्थें तब साथीहरू तालीको गड्गडाहटले प्रेम बर्साउँथे । पछि मैले कविता पनि सुनाउन थालें । यत्तिकैमा साथीहरूले मलाई ‘भूपि’ नामको ट्याग भिराइदिए । (भूपि यसकारण कि ती मित्रलाई भूपि शेरचनबाहेक अन्य कविको नाम सायद थाहा थिएन!)

सुनेर म कसैले थाहा नपाउने गरी मनमनै ङिच्च हाँस्थे, जमिनबाट कहीँ माथि पुगेर ओर्लन्थे । (सोच्थें– भूपि पनि त सेतो चिम्सा आँखा भएका मजस्तै थिए । मेरा साना नाकको प्वाल पनि थाम्नै नसकिने गरी फुल्दै–सुक्दै, फुल्दै–सुक्दै गथ्र्यो । ती उत्ताउला साथीहरूको अतिरञ्जित र झुठो तारिफको प्रलोभनले मलाई अक्षर र शब्दको नयाँ–नयाँ पहाड हिँडिरहन उत्तोलन गर्यो । आज दशकांैपछि यो संस्मरण लेखिरहँदा त्यो तारिफको भोकको केही पनि शेष मभित्र जीवित नरहेको होस् । यद्यपि, त्यहीँबाट उद्घाटित अक्षर र शब्दहरुको नागबेली यात्रामा अहिले पनि म छु निरन्तर ।

****

त्यसबेला यो ‘भूपि’ साहित्यको आधारभूत अध्ययनमा थियो । सक्कली भूपि गजल होइन कविता लेख्थे । उनी कुन स्तरका कवि थिए भन्ने ज्ञात भइसकेको थियो । बेरोजÞगार भएकोले प्रायः साहित्यिक कार्यक्रमहरू नछुटाउनु उसको मुख्य कर्म बनेको थियो त्यसबेला । त्यस समयको संघारमा घरका मान्छे खुशी देखिए । किनकि, ‘भूपि’को हेयर स्टाइल परिवर्तन भएर साधारण छड्के बन्यो, ग्रन्ज प्यान्ट बदलिएर साधारण जिन्स बन्यो ।

मोबाइलमा ‘हेभि मेटल’ हटेर नारायणगोपाल हार्मोनियमसँग सुर अलाप्न थाले । गँजडिया साथीसँगको हिमचिम कम भयो । बोल्दा पनि अकस्मात सुन्दर शब्दहरूको संयोजन हुन थाल्यो । पत्रपत्रिका र किताबमा निवेश बढ्न थाल्यो । हुँदाहुँदा, केटो वनजंगल, नदी किनार र एकान्ततिर गुप्तवास बसेर साधुसन्तको तबरमा कुरा गर्न लाग्यो । आमाले राखेको रक्सी चोरेर पिउँदै रातभर कविता लेख्ने र ठुलोठूलो स्वरमा पढेर हल्ला गर्ने भयो । अनि दिउँसो व्यवहारिक विषय सम्झाउँदा उल्टै महान् आदर्श, दर्शन र विचारको परिभाषा छाँटेर हैरान बनाउन लाग्यो । परिणाम्, घरका मान्छेको खुसी लामो समय टिक्न सकेन ।

****

तिनताक लेखेको कविता कसैलाई सुनाउन नपाए उकुसमुकुस र छटपटीले आधा परान त्यसै जान्थ्यो उसको । साथीहरूको त्यो ‘भूपि’ले कहिलेकाहीँ घर नजिकको जंगलमा सेकुवा र तोङ्बाको बल्सीमा आठ–दश जना कविता नबुझ्ने साथीहरू जुटाएर कविता सुनाउँथ्यो (कविता नबुझे पनि, मन नपरे पनि तिनीहरू ताली बजाउँथे) । र, बिहान वन्यजन्तुजस्तै भएर बडो सन्तोषका साथ घर फर्कन्थ्यो ।

उसलाई आँखाले देख्ने सम्पूर्ण दृश्यभरि, कानले सुन्ने सम्पूर्ण ध्वनीभरि, स्पर्श हुन आएका हरेक चिजमा, बाँचेका प्रत्येक पलमा कविता नै कविताको अनुभूतिले सुम्सुमाउन थाल्यो । भोजन, स्नान, मल विसर्जनको समयदेखि ननिदाइन्जेलसम्म र सपनामा पनि कविताबारे सोचिरहने घातक आदतको सिकार बन्न पुग्यो । भूपि अत्यन्तै गैह्रजिम्मेवार, अव्यवहारिक र असामाजिक बन्न पुग्यो । भूपिको जिन्दगी केवल अक्षर र शब्दहरूको अरण्यमा दिशाहीन भड्किएर गुज्रन थाल्यो । अन्ततः भूपिजस्तै राम्रो कवि बन्ने काँचो सपना मात्र रह्यो त्यो भूपिसँग ।

****

समयक्रममा जिन्दगीको किताबमा वैंशालु पन्ना पल्टियो– एउटी सोल्टिनीको यादले अचाक्ली पिरोल्न थाल्यो । गुलुपजस्तो उनको चम्किलो अनुहार सम्झँदा आलस–तालस भएर सासै चुँडिएलाजस्तो हुन्थ्यो । त्यही मखमली चेहरा हेर्न र मौका मिले बोल्न पाउने प्रेमिल उत्कन्ठामा उनको घर अगाडिको चिया पसल भूपिको नयाँ अड्डा बन्यो । बिहानदेखि बेलुकासम्म कति चिया पिइन्थ्यो, त्यस्को लेखाजोखा छैन । ती पसलेले चाहिँ हेर्दाहेर्दै घर बनाएर होटल सारे ।

****

एकदिन एक जना नजिकको (एजेन्ट) साथीले गार्मेन्ट विजनेसमा लगानी गरे ‘दिन दुई गुना, रात चौगुना’ फाइदा हुने आइसक्रिमजस्तै मिठो सपना देखायो । सम्पूर्ण मन्त्र र कला प्रयोग गर्दै छरछिमेक, नातागोता, आफन्तबाट चार लाख कर्जा संकलन गरेर गार्मेन्ट विजनेसमा लगानी गर्यो उसले ।

समय बित्दै गयो । साथीले देखाएको सपना आइसक्रिम जस्तै पग्लेर गयो । ‘दिन चौगुना, रात चौगुना’ पैसा घट्दै–घट्दै शून्यमा पुगेर गार्मेन्ट कम्पनी बन्द भयो । यो आर्थिक खाडल पूर्ति गर्ने ध्याउन्नमा सोल्टिनीको उचित हेरचाह र गोडमेल गर्न सकिएन । उनको बिहे भएको बासी समाचार पाएपछि कति वियोगान्त कविता लेखिए– ‘भूपि’ कोठालाई थाहा छ, भित्तालाई थाहा छ, डस्टबिनलाई थाहा छ ।

कालक्रममा जीवन अर्को अध्यायमा प्रवेश गर्यो । थप एक लाख ऋणमा मेरो एउटा संग्रहले महंगो जन्म लियो । देशका केही प्रतिष्ठित कवि, नेता, सञ्चारकर्मी र संगीतकर्मीसँग पनि त्यसले निकट सम्बन्ध जोड्यो । आर्थिक प्वाल टाल्न भने अलिकति पनि सहयोग गरेन । उमेरको कुर्कुरे गल्ली कटिसकेको हुनाले परिवारको जिम्मेवारीप्रति उस्तै गैर–जिम्मेवार रहिरहन नैतिकताले असमर्थन जनायो ।

छोरो कवितामा लागेर निकम्मा भयो भन्ने बा–आमाको चिन्ताप्रति सजग रहन थालें । अनेकौं व्यवधान, कठिनाइका बाबजुद आफ्नो सुनौलो उमेर लगानीमा तय गरिसकेको अक्षर यात्रा यति चाँडै विसर्जन गर्ने भित्री चाहना हुने कुरै थिएन । यहाँनेर आएर दोधारको सिमसारमा नमज्जाले भासिए । पाएको जागिरले आवश्यकता थेग्न सकेन । त्योभन्दा राम्रो जागिरको लागि योग्यतापत्रको औकात पुगेन । लाहुरे हुन उमेरको काँडेतार लागिसकेको थियो ।

अन्ततः एउटा गह्रौं दिन जीवनको सामुन्ने आयो । उमेरको सिंढी उक्लने बेला त्यो ‘भूपि’ले सबैथोक सम्झ्यो– देश, बा–आमा, अल्लारे साथीभाइ, सपना, वनजंगल, खोलानाला, चिया, सेकुवा–तोङ्बा, आफ्नो बनाउन नसकिएको सोल्टिनी… ।’

भावुकताको तलाउमा पौडिएर एकाएक फर्केर जाऊँ जस्तो लाग्यो उही कविताको ममतामयी काखमा । आफ्नै माटोको अंगालोमा । फेरि सम्मुखमा देखिए दुःखका अजंग पहाडहरू । एकदिन हरियो पासपोर्टसहित ऊ हवाईअड्डा पुग्यो । त्यहाँ आफूजस्तै सुटकेस बोकेर पंक्तिबद्ध भई उभिएका सयौं देवकोटा र भानुभक्त भेट्यो । अनि, उनीहरूकै कÞदम पछ्याउँदै देश छोड्नुको पीडाबोधमा आँशु चुहाउँदै विमानतर्फ लाग्यो ।



source https://www.onlinekhabar.com/2020/07/878789

Post a Comment

0 Comments