२२ भदौ, काठमाडौं । टी-२० एसिया कप सुपर फोरमा श्रीलंकाले भारतलाई पराजित गरेको छ ।
यूएईमा मंगलबार राति भएको खेलमा श्रीलंकाले भारतलाई ६ विकेटको रोमाञ्चक जित निकालेको हो ।
लगातार दुई जितसँगै श्रीलंका फाइनल नजिक पुगेको छ ।सुपर फोरमा यसअघि श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेको थियो । भारतलाई भने यो हारले फाइनल यात्रा कठिन बनेको छ ।
श्रीलंकालाई जितका लागि भारतले १७४ रनको लक्ष्य दिएको थियो । उक्त लक्ष्य श्रीलंकाले १९.५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।
अन्तिम १२ बलमा २१ रन चाहिएको अवस्थामा पनि श्रीलंकाले जित निकाल्न सफल भयो । अन्तिम ६ बलमा श्रीलंकालाई ७ रन आवश्यक थियो भने तीन बलमा तीन रन नै चाहिएको थियो । यो अवस्थामा चौथो बलमा श्रीलंकाले एक रन लियो । अब २ बलमा २ रन आवश्यक रह्यो । पाँचौ बलमा श्रीलंकाले २ रन लियो र एक बल बाँकी हुँदै रोमाञ्जित जित निकाल्यो ।
श्रीलंकाको जितका लागि कुशल मेन्डिसले ५७ र पाथुम निसंका ५२ रनको अर्धसतकीय पारि खेलेका थिए । यस्तै, दासुन शनका ३३, भानुका राजपक्ष २५ रनको योगदान गरे ।
बलिङतर्फ भारतका युजभेन्द्र चहलले ३ विकेट र रविचन्द्रन आश्विनले एक विकेट लिए ।
पहिले ब्याटिङ गरेको भारतले ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । कप्तान रोहित शर्माले ७२ र सूर्यकुमार यादव ३४ रन बनाए । अन्य खेलाडीको ब्याट भने खासै चल्न सकेन ।
श्रीलंकाका दिलशान मदुशनकाले ३, चामिका करुणारत्ने र दासुन शनकाले २/२ विकेट लिए । महेश थिक्सनाले १ विकेट लिए।
source https://www.onlinekhabar.com/2022/09/1186931
0 Comments